• Menu

११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा ढकालको सम्बोधन

‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालको उल्लेख्य सुधार’

नेपाल प्रफिट

२०८२ जेठ २६, १५:४९

‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालको उल्लेख्य सुधार’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् । स्विट्जरल्यान्डको जेनेभामा आयोजित ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा उनले नेपालले गरेको पछिल्ला सुधारहरुबारे प्रस्तुत गरेका हुन् ।

रोजगारदाताहरुका तर्फबाट सोमबार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरबारे विश्व समुदायलाई जानकारी गराए । सम्मेलनमा विश्वका करिब १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधि सहभागी छन् ।

नेपालमा रोजगारदाताको संस्थाको रुपमा रहेको महासंघका अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराए । महासंघको आग्रहमा करिब ३० वटा लगानी सम्बद्ध कानुनमा परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउँदै अध्यक्ष ढकालले नेपालमा अवसर खोज्न सहभागीहरुमा आग्रह गरे ।

‘नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ,’ उनले भने, ‘तर पनि भारत र चीनलगायतका मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा उत्तिकै अवसर रहनेछ ।’ उनले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसरहरु रहेको बताए ।

यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे । औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोचसहित काम गरेकोमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले नेपाल, जिम्बाब्बे, कोट डे भाँ, युरुग्वे र नामिबियाको प्रशंसा गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपालको अर्थतन्त्रको औचारिकीकरणका लागि महासंघ, ट्रेड युनियन र सरकारले समिति बनाएर काम गरिरहेको अध्यक्ष ढकालले बताए । यस्तै उनले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तर्राष्ट्रिय सहभागिताका लागि आग्रह पनि गरे ।

कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि नेपालका हिमाल पग्लिँदै गएको तथा हिमाल संरक्षणमा नेपालले खेलेको भूमिकाको बारेमा उनले विश्व समुदायको ध्यानाकर्षण गराए । उनले पहाडी र टापु राष्ट्रहरूका लागि बजार पहुँच, वित्तीय सहायता र विकास सहयोगमा विशेष समर्थनको आवश्यकतामा जोड दिए ।

सम्मेलनमा अध्यक्ष ढकालले महासंघ सम्मानजनक रोजगारी सिर्जना र आर्थिक वृद्धिप्रति प्रतिबद्ध रहेको उल्लेख गरे । उनले लगानीकर्तालाई सहयोग गर्न महासंघले एफडीआई सहायता डेस्क स्थापना गरेको समेत जानकारी गराए । यस्तै उनले कामदारहरूसँग द्विपक्षीय सहकार्यलाई सुदृढ गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको उल्लेख गरे । अध्यक्ष ढकालले महासंघ नेपाल र विश्वका लागि राम्रो आर्थिक भविष्य निर्माण गर्न विश्वव्यापी साझेदारहरूसँग काम गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्