काठमाडौं । एनसेल फाउन्डेसनले ‘सीप मेला २०८२’का लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरेको छ । सीप विकासअन्तर्गत काठमाडौं महानगरपालिकाले आयोजना गरेको यो सबैभन्दा ठूलो सीप विकास कार्यक्रम हो ।
काठमाडौं महानगरपालिकाका तर्फबाट सीप मेला कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशील अभियान नेपालका अध्यक्ष रामजीप्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् भने एनसेलका तर्फबाट एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखालक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाइरेक्टर डिल्लीराम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस कार्यक्रमअन्तर्गत व्यावहारिक र रोजगारीमुखी तालिम दिइने लक्ष्य लिइएको छ, जसले सहभागीहरुको रोजगारीको सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुऱ्याउने विश्वास लिइएको छ ।
‘एनसेल फाउन्डेसनमा हामी सीप अभिवृद्धि नै रोजगारीको सम्भावना बढाउने र दिगो जीविकोपार्जनको आधार निर्माण गर्ने प्रमुख उपाय हो भन्ने विश्वास गर्छौं,’ एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर खड्काले भनिन्, ‘सीप मेलामा काठमाडौं महानगरपालिकासँगको सहकार्यबाट युवालाई व्यावहारिक सीपहरू प्रदान गरी आजको परिवर्तनशील रोजगारी बजारमा सफल हुन सघाउने विश्वास लिएका छौं ।’
जेठ ७ देखि सुरु भएको सीप मेलामा हाल १० क्षेत्रमा आधारित ३७ पेसाका २ हजार ४२४ जनाले सीपमूलक तालिम लिइरहेका छन् । यसमा आईसीटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, कृतिम बौद्धिकता (एआई) र यसको प्रयोग (एआई एन्ड इट्स एप्लिकेसन) गरी १२ पेसा छन् । ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृत्रिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन र कपाल काट्ने (बार्बर) पेसा छन् ।
विशेष क्षमता सहयोगी तालिम (स्पेसल एबिलिटी सपोर्ट स्किल) यस वर्ष थपिएको क्षेत्र हो । यसअन्तर्गत हाउस किपिङ र केयर सर्भिस गरी दुईवटा पेसाका तालिम चलिरहेका छन् । हाउस किपिङ बहिरा अपांगता भएका र केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरुको सहजकर्ताका लागि हो ।
इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एन्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चारवटा पेसाका तालिम सञ्चालित छन् ।
गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुईवटा पेसाका तालिम छन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच पेसाका तालिम छन् । हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी चार पेसाका तालिम छन् ।
त्यस्तै अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (ईभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीनवटा पेसाका तालिम सञ्चालित छन् । आर्ट एन्ड स्कप्चरमा थाङ्का र सेरामिक्स (टेराकोटा) गरी दुई वटा पेसाका तालिम चलिरहेका छन् । यसै विधामा ज्योतिषी र पुरोहितको पनि तालिम चलिरहेको छ ।
कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम चलेका छन् । यस्तै स्टक मार्केटसम्बन्धी तालिम पनि चलिरहेको छ ।
एनसेल फाउन्डेसन र काठमाडौं महानगरपालिकाबीचको यो सहकार्यले युवाका लागि समावेशी अवसरहरू सिर्जना गर्ने तथा रोजगारीयोग्य सीप विकासमार्फत दिगो विकासमा योगदान दिने फाउन्डेसनको विश्वास छ ।
एनसेल फाउन्डेसन समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको छ । समुदायमा अर्थपूर्ण परियोजनाहरूमार्फत दिगो प्रभाव पार्ने मूल मन्त्रमा आधारित फाउन्डेसन, एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलमात्र नभई देशभरका समुदायलाई सशक्त र समावेशी बनाउनका लागि योगदान पुर्याउन प्रतिबद्ध छ ।
काठमाडौं उपत्यकाजस्ता सहरी क्षेत्रदेखि पहाड र तराईका दूरदराजका गाउँसम्म फाउन्डेसनले डिजिटल डिभाइड घटाउने, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने र समावेशितालाई प्रवर्धन गर्ने जस्ता कार्यमार्फत विकास र परिर्वतनका लागि कार्य गर्दै आएको छ । आम जनमानस सँगमात्र नभई सामाजिक हितका उद्देश्य, संस्कृति र विकाससँग पनि गहिरो रूपमा जोडिन फान्डेसन प्रतिबद्ध रहेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म दुई अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एक करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा विभिन्न सामाजिक पहलमार्फत सकारात्मक प्रभाव पारेको छ ।