काठमाडौं । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझालाई अनुभवको प्रमाणपत्र दिने निजी क्षेत्रका संघसंस्थाहरुले कागजातमा कुनै समस्या नभएको प्रस्टीकरण दिएका छन् । ओझाको अनुभवसम्बन्धी कागजात शंकास्पद देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि प्रमाणपत्र दिने संस्थाहरुले कागजातमा कुनै त्रुटी नरहेको प्रस्ट पारेका हुन् ।
ओझाको नियुक्ति गैरकानुनी भएको भन्दै चैत १८ मा सर्वोच्च अदालतमा रिट दायर भएको थियो । चैत २० मा न्यायाधीश नहकुल सुवेदीको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै दुवै पक्षलाई छलफलका लागि बोलायो । त्यस्तै २०८२ जेठ ५ मा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले ओझालाई अध्यक्षमा नियुक्ति गर्नुका आधारसम्बन्धी कागजात पेस गर्न सरकारका नाममा आदेश दियो ।
त्यस्तै अध्यक्ष बन्न ओझाले बुझाएका अनुभवसम्बन्धी कागजात शंकास्पद रहेको भन्दै अख्तियारमा पनि उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियारले छानबिन अघि बढाएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र विज्ञका रूपमा ज्योतिचन्द्र ओझा सम्मिलित तीन सदस्यीय समितिको सिफारिसमा सरकारले २०८१ फागुन १२ मा ओझालाई सरकारले चार वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।
ओझालाई नियुक्ति गर्दाका कागजात अनुसन्धानका लागि पेस गर्न अख्तियारबाट ताकेता भएपछि अर्थ मन्त्रालयले विवरण पठाइसकेको छ । अर्थले उनले पेस गरेका कागजात, विभिन्न संस्थाहरूबाट प्राप्त सिफारिस पत्रसहितका विवरण अख्तियारमा बुझाएको हो ।
अख्तियारले अर्थ मन्त्रालयका साथै अनुभवको प्रमाणपत्र दिने अन्य निजी क्षेत्रका संस्थाहरुसँग पनि आधिकारिकता माग गरेको छ । कतिपयले बुझाइसकेका छन् भने कतिपयले बुझाउन बाँकी रहेको बुझिएको छ । केही संस्थालाई अख्तियारले सम्पर्क गर्न बाँकी रहेको पाइएको छ ।
रचित अग्रवाल, कार्यकारी अध्यक्ष, ट्रिनिटी एक्जिम प्रालि
उहाँले कोभिड सुरु हुनुभन्दा अगाडिदेखि काम गर्नुभएको हो । करिब २ वर्ष काम गर्नुभएको जस्तो लाग्छ । तारिख त ठ्याक्कै याद भएन । उहाँले स्ट्राटेजी म्यानेजमेन्ट, कर्पोरेट गभर्नेन्स, कानुनी परामर्श, मार्केटिङलगायतका सबै काम गर्नुभएको हो । हाम्रो संस्था ‘ट्रेडिङ फर्म’ हो । व्यापारसम्बन्धी कानुनी, प्रशासनिक र राजस्वसम्बन्धी परामर्श तथा सहजीकरण पनि गरिदिनुभएको हो ।
विभिन्न कम्पनीसँग अन्तर्क्रिया पनि गरिदिने र बिजनेसमा पनि सहयोग गरिदिने गर्नुभएको हो । हामी आयात व्यापार गर्ने भएका कारण भन्सार र जाँचपाससम्बन्धी कानुनी सहायता पनि उहाँले गर्नुभएको थियो । कोभिडको समयमा हामी सबैले कार्यालय बन्द गरेर घरबाटै काम गरेका थियौँ । उहाँलाई हामीले ‘सिनियर म्यानेजरियल’ तहमा नियुक्त गरेका थियौँ । उहाँले हाम्रो अफिसमा कर्मचारीलाई सिकाइदिने, मार्गदर्शन गर्ने जस्ता भूमिकामा रहेर काम गर्नुभएको थियो ।
केपी पन्त, संस्थापक तथा प्रिन्सिपल, राजधानी कलेज
हाम्रो कलेजमा उहाँ धेरै पुरानो फ्याकल्टी हो । उहाँले सन् २०१८ देखि बिमा प्राधिकरणमा नियुक्त हुँदाको दिनसम्म नै पढाउनुभएको हो । उहाँ नियुक्त हुँदा हामीले हाम्रो कलेजको अफिसियल फेसबुक पेजबाट ‘हाम्रो फ्याकल्टी मेम्बर अध्यक्ष नियुक्त भएकोमा’ भनेर बधाई पनि दिएका छौँ ।
अहिले उहाँको अनुभवको सवालमा आएका खबरहरु दु:खद् कुरा हुन् । जहाँ-जहाँ उहाँ संलग्न हुनुभएको भनिएको छ, त्यसमध्ये अधिकांश ठाउँमा काम गरेको त मलाई नै थाहा छ । उहाँले प्रस्तुत गर्नुभएको कागजात एकदम जेन्युन हो । उहाँले हाम्रोजस्तो बिनजेस कलेजहरु पाँच-सात वटामै पढाएको हामीलाई राम्रोसँग थाहा छ । उहाँले वर्षौंदेखि पढाउनुभयो र आफ्नो विषयको निकै राम्रो ‘फ्याकल्टी’ (अध्यापक) हो । उहाँले हाम्रो कलेजमा स्नातक तहमा ‘बिजनेस इन्भायरोमेन्ट इन नेपाल’ भन्ने कोर्स पढाउनुभएको हो । अर्को चाहिँ ‘सोसाइटी इन पोलिटिक्स’ भन्ने छ । व्यवस्थापन शंकायका यी विषयहरु उहाँले पढाउनुभएको हो ।
पुष्प दुलाल, अध्यक्ष तथा कार्यकारी सम्पादक, चाणक्य मिडिया प्रालि
उनले हाम्रो संस्थामा वरिष्ठ प्रबन्धक तथा विशेष संवाददाताको भूमिकामा रहेर काम गरेका हुन् । उनको आफ्नै बाइलाइन चाहिँ मानिसहरुले देखे । तर, कार्यालयभित्रको व्यवस्थापकीय भूमिकाबारे बाहिरका मान्छेहरुलाई जानकारी हुँदैन । उनले सम्पादकीय परामर्शदाताको भूमिकामा पनि काम गरेका थिए । उनी स्वयंको बाइलाइनमा प्रकाशन हुनेबाहेक पनि हाम्रो अनलाइनमा प्रकाशित हुने अरु ४० प्रतिशतभन्दा बढी ‘रिपोर्टिङ’हरुको विषयवस्तु पहिचान गर्ने, त्यसको अंग पुगे-नपुगेको हेर्ने र कन्टेन्टको फिनिसिङमा उनले काम गरेका हुन् । हामी राज्यको कुनै पनि निकायलाई यस बारेमा थप प्रस्ट पार्नुपर्दा सदैव तयार छौँ ।
शुभम पौडेल, बीटीटीएम प्रोग्राम कोअर्डिनेटर, नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (नाथम)
उहाँ हाम्रो ‘रिसोर्स फ्याकल्टी’ हो । त्यो भनेको पार्ट-टाइम पढाउन आउने हो । हामीले हरेक ६ महिनाको करार गरेका हुन्छौँ । उहाँले हाम्रो कलेजमा सन् २०१७ देखि भर्खरैसम्म पढाइरहनुभएको थियो । वैशाखको २-३ गतेसम्म परीक्षा चलिरहेको थियो । त्यो ‘सेसन’का विद्यार्थीलाई पनि उहाँले पढाउनुभएको हो ।
स्नातक तहमा ‘ब्याचलर्स अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम)’ कोर्स छ । म यो कार्यक्रमको कोअर्डिनेटर हो । अझ भन्नुपर्दा शरद ओझाको शिक्षक पनि हो म । मैले पढाएको पनि हो । उहाँ एपेक्स कलेजमा पढ्नुहुन्थ्यो । मैले कुनै समय उहाँलाई पढाएको पनि हो । निकै राम्रो ट्यालेन्टेड, क्वालिफाइड मान्छे भएका कारण मैले ‘फ्याकल्टी मेम्बर’ बनाउनका लागि नाथममा आग्रह गरेँ । उहाँले पनि आएर काम गरिदिनुभयो । अहिलेसम्म हाम्रो राम्रै सहकार्य भएको थियो । नाथममा उहाँले ‘टुरिजम प्लानिङ पोलिसी’ भन्ने विषय, बीटीटीएमको छैटौं सेमेस्टरमा पर्छ, त्यहाँ पढाउनुभएको हो । पहिलेदेखि नै यही विषय पढाइरहनुभएको हो ।
खगेन्द्र जोशी, ब्याचलर प्रोग्राम कोअर्डिनेटर (प्रोग्राम एसोसिएट), सायम कलेज
हाम्रो कलेजमा उहाँले ‘आन्टरप्रेनरसिप’ र ‘इन्टरनेसनल बिजनेस’ दुईवटा विषय पढाउनुभएको हो । उहाँले सन् २०२२ देखि २०२४ सम्म पढाउनुभयो । अहिले समाचारमा जुन-जुन कलेजमा पढाएको भन्ने समाचार आएको छ, उल्लेख भएअनुसार ती सबै कलेजमा पढाउनुभएको हो ।
कलेजहरुको हकमा जति पनि मेन्सन भएको छ, राजधानी, एपेक्स, इम्पेरियल, नाथमलगायतका सबै कलेजमा पढाउनुभएको हामीलाई थाहा छ । हामीले शिक्षक नियुक्त गर्दा इन्डस्ट्रीका सबैबाट रिफ्रेन्स लिएका हुन्छौँ । हाम्रोमा त उहाँले दुई वर्षमात्रै पढाउनुभएको हो । चार इन्टेक पढाउनुभयो, त्यो भनेको दुई वर्ष हुन आउँछ ।
एकै समयमा धेरै कलेजमा पढाउन सकिन्छ । हाम्रो कलेजमा उहाँको क्लास हप्तामा तीन दिन हुन्थ्यो । बिहान १० बजेसम्म पढाउँदा पनि हप्तामा ६ क्लास पढाउन पाइन्छ । हाम्रोमा एउटा क्लास, अर्कोमा दुईटा क्लास गरेर पढाइएको हुन्छ । अहिले पनि हामीसँग त्यस्तो थुप्रै सरहरु हुनुहुन्छ, जसले पढाइरहनुभएको छ ।
योगेन्द्र अधिकारी, बीबीए प्रोग्राम हेड, एपेक्स कलेज
यसको विस्तृत विवरण त कलेजको प्रशासनबाट आधिकारिक रुपमा लिनुभयो भने राम्रो हुन्छ । तर, हामीसँगै उहाँले लामो समय काम गरेको हो । त्यसमा आशंका गर्नु पर्दैन । ठ्याक्कै मलाई मिति याद छैन । तर, उहाँले निकै लामो समय पढाउनुभएको हो । उहाँ हाम्रो विद्यार्थी पनि हो । एपेक्सकै ग्राजुएट हो । राम्रो ग्राजुएटमध्येकै हो । यहाँ म्यानेजमेन्ट फ्याकल्टीअन्तर्गत ‘स्ट्राटेजिक म्यानेजमेन्ट’, ‘बिजनेस इन्भायरोमेन्ट’, ‘इन्टरनेसनल बिजनेस’ जस्ता विषयहरु पढाउनुभएको हो ।
अहिले झन्डै एक वर्ष अघिमात्रै उहाँले पढाउन छाड्नुभएको थियो । उहाँलाई हामीले ‘भिजिटिङ फ्याकल्टी’को रुपमा ल्याएका थियौँ । ‘भिजिटिङ फ्याकल्टी’लाई हामीले हप्तामा दुईवटा क्लास दिएका हुन्छौँ । उहाँले पनि त्यसरी नै पढाउनुभएको हो ।
जीवन गोले, प्रमुख कार्यकारी अधिकृत, इम्पेरियल कलेज
हामीलाई अख्तियारबाट यस विषयमा प्रमाणीकरणका लागि भनेर इमेल आइसकेको छ । त्यसै अनुसार हामीले प्रमाणीकरण गरेर डकुमेन्ट बुझाइसकेका छौँ । उहाँले हाम्रो कलेजमा कोभिडभन्दा अगाडिदेखि नै पढाउनुभएको हो । उहाँ वाणिज्य शास्त्रअन्तर्गत जनरल म्यानेजमेन्ट, मार्केटिङलगायतका विषय पढाउने टिचर हो । ‘आन्टरप्रेनरसिप’, जनरल म्यानेजमेन्टका विषयहरु, ओबी (अर्गनाइजेसनल बिहेभियर), बिजनेस इन्भारोमेन्टलगायतका कोर्स बीबीएलाई पढाएको हो । उहाँ पहिले एपेक्समा पढाउनुहुन्थ्यो । पछि एपेक्समा पनि, हाम्रोमा पनि पढाउनुभयो । अरु पनि तीन-चार वटा कलेजमा पढाउनुहुन्थ्यो ।
लोकहरि पौडेल, अध्यक्ष, प्रशासनिक मिडिया प्रालि
हामीले त्यसबेला प्रशासनिक म्यागेजिन प्रकाशन गरिरहेका थियौँ । म्यागेजिनको बजार व्यवस्थापनदेखि कार्यालय व्यवस्थापनसम्म सबै पाटो उहाँले नै हेर्नुहुन्थ्यो । भर्खरै ग्राजुएसन गरेको भए पनि उहाँको तीक्ष्ण बुद्धि र वाणिज्यसम्बन्धी निकै राम्रो अन्डरस्ट्यन्डिङ भएका कारण हामीले समग्र व्यवस्थापकीय नेतृत्व उहाँलाई दिएका थियौँ । त्यसका अलावा उहाँले बेलाबखत लेख तथा अन्तर्वार्ताहरु गर्न पनि सघाउनुहुन्थ्यो । पछि उहाँले अन्यत्र जागिर खान जानु भयो । हामीले पनि कोभिडपछि पत्रिका सञ्चालन गर्न सकेनौँ । यो पत्रिका अहिले प्रकाशनमा छैन ।
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal