• Menu

वीरगन्ज भन्सार कार्यालयमा सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिने

नेपाल प्रफिट

२०८२ जेठ २३, शुक्रबार १०:४३

वीरगन्ज भन्सार कार्यालयमा सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिने

पर्सा । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगन्ज भन्सार कार्यालयमा गाभिने भएको छ ।

हाल वीरगन्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालय छ । संघीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन् ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगञ्ज भन्सारमा गाभिने जानकारी दिए । ’चालु आर्थिक वर्षको असार मसान्तसम्म दुवै कार्यालयको छुट्टै राजस्वको लक्ष्य र छुट्टै खालको बजेट रहेकाले पनि असार मसान्तपछि मात्रै गाभिनेछ,’ उनले भने, ’संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) र पददर्ता समेत भइसकेकाले साउन १ गतेदेखि गाभिनेमा हामी आशावादी छौँ ।’

सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ । विश्व बैंकसँग ८२ करोड ऋण लिएर यो बन्दरगाह निर्माण गरिएको हो । भारतले २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरेको छ । यहाँ रेलबाट सोझै आयातित सामान ल्याइन्छ ।

सुक्खा बन्दरगाहको व्यवस्थापन इन्टरमोडल यातायात विकास समितिले गरेको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षको लागि ३ अर्ब ३३ करोडमा व्यवस्थापन ठेक्का सम्झौता भएको छ । यो सम्झौता आगामी असार मसान्तमा समाप्त हुँदैछ ।

यसैबीच, सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आवको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व संकलन गरेको जनाएको छ ।

वीरगन्ज भन्सार कार्यालय मातहतको सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । यो जाँचचौकी ११५ बिघामा फैलिएको छ ।

पाँच वर्षका लागि टिआरएस हिमालयन लोजी पार्क प्रालिले सञ्चालन तथा व्यवस्थापन गरेबापत समितिलाई पाँच वर्षको एक अर्ब ८० करोड ९० लाख एक हजार २०० पट्टाबहाल बुझाउने सम्झौता छ ।

प्रतिक्रिया दिनुहोस्