काठमाडौं । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक एपीआई बैंकिङ प्लेटफर्म र्यापिड सञ्चालनमा ल्याएको छ । व्यावसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन बैंकले गोकियो ल्याब्स प्रालिसँगको सहकार्यमा र्यापिड एपीआई बैंकिङ प्रणाली सञ्चालनमा ल्याएको हो ।
पहिलो चरणमा, यस सेवाअन्तर्गत व्यावसायिक ग्राहकको सहमतिमा र्यापिडले ग्राहकको ईआरपी प्रणालीलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले ईआरपी भित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ ।
दोस्रो चरणमा, र्यापिड विश्वव्यापी मापदण्ड आईएसओ २००२२ तथा एमएफए र अथ२ जस्ता प्रविधि प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपीआई उपलब्ध गराउनेछ, जसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु-हस्ताक्षर) परिभाषित गर्न सकिने, क्यूआर कोड र कार्डमार्फत गरिएका कारोबारको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने, कर्मचारीको तलब भुक्तानीलाई छिटो, प्रभावकारी र स्वचालित बनाउन सकिने तथा एउटा खाताबाट अर्को खातामा रकमान्तर र अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिने जस्ता सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।
र्यापिडले व्यावसायिक प्रयोगकर्तालाई अथ२ मार्फत सुरक्षित डिजिटल सहमतिद्वारा पूर्ण नियन्त्रण दिन्छ र प्रत्येक महत्त्वपूर्ण कार्यका लागि एक पटक प्रयोग हुने पासकोड (टीओटीपी) को माध्यमबाट थप सुरक्षा प्रदान गर्ने जनाइएको छ । सम्पूर्ण डेटा आधुनिक पीकेआई प्रविधिको प्रयोगद्वारा पूर्ण रूपमा इन्क्रिप्ट गरिएको हुन्छ ।
र्यापिडले विश्वव्यापी आईएसओ २००२२ मापदण्डहरू पालना गर्छ, जसले वित्तीय डेटा स्पष्ट, स्थिर, र विश्वासिलो ढाँचामा प्रस्तुत गर्न सुनिश्चित गर्छ, जसले गर्दा व्यावसायिक ग्राहकले छिटो, सही र पूर्ण आत्मविश्वासका साथ वित्तीय कार्य गर्न सक्छन्। । यो सेवाले व्यावसायिक ग्राहकको बैंकिङ कारोबारलाई धेरै नै सहज बनाउने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंकले अहिले डिजिटल बैंकिङ र डिजिटाइजेसन एडप्टेसनमा लिड स्ट्राटेजीसहित काम गरिरहेको जनाएको छ ।
सिटिजन्स बैंक हालैमात्र विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । बैंकले देशका ६१ जिल्लामा फैलिएका २ सय शाखा, १६८ एटीएम काउन्टर, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।