काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । प्रधानमन्त्री पदमा रहेका वा रहिसकेका व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर भएको देशमा बहुदल आएपछिको यो पहिलो पटक हो ।
यसअघि पञ्चायतकालीन प्रधानमन्त्री तुलसी गिरीले गलैंचा निर्यात काण्डमा व्यापारीलाई छुट दिँदा भ्रष्टाचार गरेको अभियोग खेपेका थिए । मन्त्रिपरिषद्को निर्णयमाथि नै भ्रष्टाचारसम्बन्धी मुद्दा चलेको पनि यो पहिलो उदाहरण हो ।
पतञ्जलीको जग्गा कानुनविपरीत बिक्री गरेको भन्दै परेको उजुरीमा लामो समयको अनुसन्धानपछि अख्तियारले मुद्दा दर्ता गरेको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद पनि निलम्बनमा परेको छ । पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।