काठमाडौं । नबिल बैंक एसिया-प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’बाट सम्मानित भएको छ । नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा नबिल बैंकलाई अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित यो पुरस्कार प्रदान गरिएको हो ।
विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्यांकनका आधारमा प्रदान गरिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले जानकारी दिए ।
‘यो अवार्डले बैंकको सेवालाई अझ प्रविधिमैत्री र ग्राहकमैत्री बनाउन प्रोत्साहन मिलेको छ,‘ उनले भने, ‘नबिल बैंकले स्थापनाकालदेखि नै प्रविधिलाई प्राथमिकतामा राखेको छ भने सेवाग्राहीलाई सहज सेवा प्रदान गर्दै आएको छ ।‘
बैंकले डिजिटल सेवालाई प्राथमिकतामा राख्दै दिगोपनामा पनि जोड दिएको उनले बताए । ‘प्रविधिलाई नवप्रवर्तनको शक्ति मानेर हामीले रूपान्तरणमा केन्द्रित रणनीति अपनाएका छौं, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा एनालिटिक्स र एनबैंक एपमार्फत ग्राहकअनुकूल सेवा प्रवाहमा सुधार गरिरहेका छौं,‘ ज्ञवालीले भने ।
सन् १९८४ मा स्थापना भएदेखि नै नबिल बैंकले नेपालमा बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगको थालनी गरेको हो । नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएर नबिलले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको बीउ रोपेको थियो । त्यसयता, नेपालकै पहिलो ओपन बैंकिङ इनिसिएटिभदेखि लिएर आजसम्म नबिल बैंकले प्रविधि र नवप्रवर्तनलाई आफ्नो परिचायक बनाउँदै आएको छ ।
नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरका २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।