• Menu

विद्युतीय गाडीको युरोपेली बजार : नर्वेमा टेस्लाप्रति आकर्षण, डेनमार्कमा मे महिनामा ६१ प्रतिशत ईभी बिक्री

नेपाल प्रफिट

२०८२ जेठ २०, ११:२३

विद्युतीय गाडीको युरोपेली बजार : नर्वेमा टेस्लाप्रति आकर्षण, डेनमार्कमा मे महिनामा ६१ प्रतिशत ईभी बिक्री

एजेन्सी । युरोपका अधिकांश देशमा टेस्ला गाडीको बिक्रीमा गिरावट देखिएका बेला नर्वेमा भने माग बढेको छ । सोमबार सार्वजनिक भएको उद्योगसम्बन्धी तथ्यांकअनुसार नर्वेली उपभोक्ता टेस्लाप्रति पुनः आकर्षित भएका हुन् ।

आकर्षणको मुख्य कारण कम्पनीले शून्य ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउनु र नयाँ मोडेल ‘वाई’ बजारमा ल्याउनु रहेको बताइएको छ । यो मोडेल पछिल्ला तीन महिनादेखि नर्वेमा सबैभन्दा धेरै बिक्री भएको गाडी बनेको छ ।

नर्वे विद्युतीय सवारी साधनको प्रयोगमा विश्वमै अगाडि रहेको देश हो । नर्वेली सडक महासंघ (ओएफभी) का अनुसार मे महिनामा नर्वेमा दर्ता भएका नयाँ गाडीमध्ये ९३.९ प्रतिशत विद्युतीय छन् । यस वर्षको पहिलो पाँच महिनामा यो अनुपात ९२.७ प्रतिशत छ ।

मे मा टेस्ला नर्वेमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी बनेको छ । मे महिनामा टेस्लाको बिक्री तीन गुणाले बढेर कुल नयाँ गाडीको १८.२ प्रतिशत पुगेको हो ।

यद्यपि, वर्षको पहिलो पाँच महिनामा टेस्लाको कुल बिक्री ८.३ प्रतिशत मात्र बढेको छ, जुन समग्र गाडी बजारको ३०.६ प्रतिशत वृद्धिको तुलनामा कम हो । यो अवधिमा टेस्लाको बजार हिस्सा १२.९ प्रतिशत छ, जुन जर्मन कम्पनी भोल्क्सवागनपछि दोस्रो हो ।

युरोपेली संघभित्र भने अप्रिलमा टेस्लाको बिक्री आधा घटेको थियो । त्यहाँ टेस्लाको बजार हिस्सा घटेर १.१ प्रतिशतमा झरेको छ । यसको कारण ‘चिनियाँ गाडी कम्पनीको तीव्र प्रतिस्पर्धा र केही उपभोक्ताले कम्पनीका मालिक इलन मस्कको राजनीतिक विचार तथा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धप्रति असन्तुष्टि देखाउनु हो’ भनिएको छ ।

ओएफभीका निर्देशक ओइभिन्ड सोलबर्ग थोर्सेनले नर्वेमा टेस्लाको बिक्री अवस्थाले अन्य युरोपेली मुलुकको तुलनामा फरक र विशेष स्थिति देखाउने बताए । रिकन्डिसन विश्लेषक जोनाथन पारले टेलिभिजन च्यानल दुईसँग नर्वेलीहरूले इलन मस्कलाई मन नपराए पनि टेस्ला चढ्न कुनै हिचकिचाहट नमाने धारणा राखे ।

केही नर्वेली सञ्चारमाध्यमले भने पछिल्ला महिनाहरूमा कतिपय टेस्ला प्रयोगकर्ताले गाडी बेच्न थालेको र भविष्यमा टेस्ला नकिन्ने निर्णय लिएको समाचार प्रकाशित गरेका छन् ।

डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतीय

डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतीय छन् । यो तथ्यांकले हरित यातायातप्रतिको जनचासो बलियो रहेको देखाएको छ । यद्यपि, आगामी कर प्रणालीबारे भने अनिश्चितता रहेको जनाइएको छ।

‘मोबिलिटी डेनमार्क’ नामक यातायातसम्बन्धी संस्थाले आइतबार सार्वजनिक गरेको विवरणअनुसार मे मा डेनमार्कमा १७ हजार ९५३ वटा नयाँ यात्रुबाहक सवारी साधन दर्ता गरिए, जुन गत वर्षको मे को तुलनामा २३.३ प्रतिशतले बढी हो । तीमध्ये ६१ प्रतिशत विद्युतीय सवारी साधन छन् । निजी खरिदकर्ताहरूमा विद्युत सवारीको अनुपात अझै उच्च रहेको बताइएको छ।

संस्थाका प्रमुख म्याड्स रोर्विगले मानिसमा नयाँ प्रविधिप्रतिको रुचि, विशेषगरी हरित प्रविधिप्रति आकर्षण देखिएको बताए । ‘तर आगामी समयको कर व्यवस्था कस्तो हुने भन्ने स्पष्ट नभएकाले ग्राहकहरू निर्णय लिन हिच्किचाइरहेका छन्,’ उनले भने ।

हालको बिक्री वृद्धि मुख्यतया अघिल्ला महिनाहरूमा गरिएको अर्डरको परिणाम रहेको जनाइएको छ । अहिले करसम्बन्धी अन्योलले ग्राहकलाई सवारी खरिदमा रोकिरहेको बताइएको छ।

यसैबीच, डेनमार्कको कर मन्त्रालयले सन् २०२५ को अन्त्यसम्म सवारी कर नबढाउने र त्यसपछि राजनीतिक दलहरूसँग छलफल गर्ने जनाएको छ । यस घोषणाले बजारमा केही स्थिरता ल्याउने अपेक्षा गरिएको छ ।

मे महिनामा सबैभन्दा धेरै स्कोडा एलरोक एक हजार ४५७ वटा बिक्री भएका थिए । अन्य लोकप्रिय मोडेलहरूमा भोल्क्सवागन आईडी. ४, टेस्ला मोडल वाइ र भोल्क्सवागन टी-रोक रहेका छन् ।

डेनमार्कको अहिलेको सवारी कर प्रणालीले शून्य प्रदूषण गर्ने सवारीलाई विशेष छुट दिएको छ । यस्तो सवारी सन् २०२५ भित्र दर्ता गरिएमा निर्धारण गरिएको करमध्ये ४० प्रतिशत मात्र तिर्नुपर्ने व्यवस्था छ । यो छुट क्रमशः घट्दै सन् २०३५ मा पूरै कर लाग्ने व्यवस्था गरिएको छ । त्यस्तै, शून्य प्रदूषण गर्ने सवारीमा कर गणनाका क्रममा १ लाख ६५ हजार डेनिस मुद्राबराबरको छुट पनि दिइन्छ ।

विशेषज्ञहरूका अनुसार डेनमार्कको कर नीतिले पछिल्ला वर्षहरूमा विद्युत सवारीप्रति आम नागरिकलाई आकर्षित गराउन ठूलो भूमिका खेलेको छ । तसर्थ, आगामी कर नीतिमा गरिने परिवर्तनले आम उपभोक्ता र सवारी उत्पादक दुवैका लागि गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्