• Menu

फोटोफिचर

ग्रामीण पर्यटनको एउटा नमुना : नगरकोट सामुदायिक होमस्टे

नेपाल प्रफिट

२०८२ जेठ १८, ०८:५४

ग्रामीण पर्यटनको एउटा नमुना : नगरकोट सामुदायिक होमस्टे

काठमाडौंको रिङरोडबाट करिब १०-१५ किलोमिटर यात्रा गर्ने हो भने धुलोधुँवा र कोलाहलबाट सहजै मुक्त हुन सकिन्छ । उपत्यकाको अव्यवस्थित सहरीकरणका कारण रिङरोड र केही आसपासमात्र थुप्रिएका घरहरुले राजधानी कंक्रिटको फोहोरमा परिणत भइरहँदा छोटो यात्राबाटै यो लाभ भने राजधानीबासीले लिन पाइरहेका छन् ।

उपत्यका आसपासका पहाड, जंगल, देउराली र भन्ज्याङहरुसँगको साक्षात्कार हाम्रा लागि पक्कै अझै केही वर्ष दुर्लभ बन्ने छैन । नजिकका पहाडी बस्तीहरुमा पुग्दा आनन्दको स्वास मात्र लिन पाँइदैन, त्यहाँको हरियालीमा रमाउँदै उपत्यकाभित्रको अवलोकन पनि गर्न पाइन्छ ।

उपत्यकाको बिहान, दिउँसो र रातिको फरक-फरक प्रवृत्तिलाई आँखामा सजाउँदै शीतल र सुगन्धित हावाका झोक्काहरुसँग सुसेली खेल्न सकिन्छ । उपत्यका आसपास यस्ता धेरै ठाउँ छन् । ती गाउँहरुले अहिले घुम्ने र रमाउने मात्र होइन, भोक लाग्दा आफ्नै परिवारका लागि पकाएको खानेकुरा खुवाएर स्वागत र सत्कार पनि गर्ने गरेका छन् । खानेकुरा र बसोबासको राम्रो व्यवस्था मिलाएका छन् ।

त्यसमध्येको एउटा बस्ती हो– बास्तोला गाउँ । भक्तपुरको सल्लाघारीबाट जम्मा १३ किलोमिटरको दूरीमा छ यो गाउँ । बास्तोला गाउँका १७ मध्ये १३ घरले होमस्टे सञ्चालन गरेर काठमाडौंको व्यस्त दिनचर्याबाट एक दिन भए पनि आराम लिन चाहनेहरुका लागि सहजता प्रदान गरेका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं. ६ मा पर्ने बास्तोला गाउँ (नगरकोट रोड) का यी घरपरिवारले नगरकोट सामुदायिक होमस्टे दर्ता गरेको १३ वर्ष बितिसकेको छ । उनीहरुले महिलाका नाममा होमस्टे दर्ता गरेर ग्रामीण पर्यटन प्रवर्धनमा योगदान पुर्‍याइरहेका छन् ।

पार्वती होमस्टे, लक्ष्मी होमस्टे, विमला होमस्टे, इन्दिरा होमस्टे, सम्झना होमस्टे, रमा होमस्टे जस्ता नामबाट होमस्टे खोलिएको छ । यी होमस्टेले ग्रामीण पर्यटनमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई गाउँलेको भान्सामै राखी स्थानीय खानपान, रहनसहन, कला, संस्कृति एवं पर्यावरणमा आधारित भएर पर्यटकीय स्तरको सेवा सुविधा दिँदै आएका छन् ।

नगरकोट सामुदायिक होमस्टेमा विभिन्न कार्यक्रमका लागि सामुदायिक सभाहल, संग्रहालय, ग्रिफ्ट सप र योगा सेन्टर पनि सञ्चालन गरेको छ । यहाँबाट प्रसिद्ध पर्यटकीय स्थल नगरकोट सात किलोमिटर दूरीमा पर्छ ।

त्यही नगरकोटतिरका अग्ला डाँडा छिचोलेर निस्किने घामको झुल्कोभन्दा पहिला आफ्ना नियमित काम सकेर यहाँका बासिन्दाले पर्यटकका लागि खानाखाजाको व्यवस्था मिलाइसकेका हुन्छन् । अपराह्न पुग्ने पर्यटकका लागि फूल र खादाले स्वागत सत्कार गर्छन् । स्थानीय उत्पादनका खाजा खुवाउँछन् । केहीबेर मनोरञ्जनात्मक कार्यक्रममा सरिक गराउँछन् ।

नजिकका पर्यटकीय क्षेत्रहरुको अवलोकन भ्रमण गराउँछन् । बेलुका आफ्नै भान्सामा पाकेको खाना खुवाउँछन् । आफन्तलाई जस्तै गरी नजिकका कोठाचोटामा सुत्ने व्यवस्था मिलाउँछन् । भोलिपल्ट बिहानको खाजापछि फर्किने चाहनेलाई अतिथि देवो भव: को मूल मर्मलाई आत्मसात गर्दै आदरभावका साथ बिदा गर्छन् ।

प्रतिक्रिया दिनुहोस्