• Menu

बजेटप्रति अटो व्यवसायी श्रेष्ठको टिप्पणी- नीतिगत स्थायित्व, रणनीतिक प्राथमिकता र दिगो विकासप्रति प्रतिबद्ध

नेपाल प्रफिट

२०८२ जेठ १६, शुक्रबार २१:०१

बजेटप्रति अटो व्यवसायी श्रेष्ठको टिप्पणी- नीतिगत स्थायित्व, रणनीतिक प्राथमिकता र दिगो विकासप्रति प्रतिबद्ध

काठमाडौं । विद्युतीय सवारी साधन आयात तथा बिक्रीका लागि नेपालकै लिडिङ अटो कम्पनी साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को बजेटको मुक्तकण्ठले स्वागत गरेकी छन् । चिनियाँ अटो उत्पादन कम्पनी बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्सकी प्रबन्ध निर्देशक श्रेष्ठले आगामी आवको बजेट ठोस र यथार्थपरक दृष्टिकोणसहित आएको बताएकी हुन् ।

बजेटमा समावेश गरिएका धेरै महत्वपूर्ण पक्षहरू विशेष गरी युवा, प्रविधि, पूर्वाधार र वातावरणप्रतिको प्रतिबद्धतालाई उनले सबैभन्दा सकारात्मक भएको उल्लेख गरेकी छन् । इलेक्ट्रिक सवारी साधनमा नीतिगत निरन्तरता, युवापुस्ता र स्टार्टअपको प्रवर्धन, डेटा सेन्टर र डिजिटल पूर्वाधार एवं खेलकुद र युवा सशक्तीकरणमा बजेटले विशेष जोड दिएको उनको विश्लेषण छ ।

इलेक्ट्रिक सवारी साधनमा नीति निरन्तरता

बजेटले इलेक्ट्रिक सवारी साधनहरूलाई यथावत कर संरचनामा राखेर स्थायित्वको सन्देश दिएको छ। सस्टेनेबल मोबिलिटी, ऊर्जा सुरक्षाको दीर्घकालीन दृष्टिकोण र प्रदूषण न्यूनीकरणतर्फ सरकारको प्रतिबद्धता देखिन्छ । यस्तो नीतिगत निरन्तरताले ईभी उद्योगमा लगानी, रोजगारी र नवप्रवर्तनको ढोका खोल्नेछ ।

युवा पुस्ता र स्टार्टअपहरूको प्रवर्धन

बजेटले जेन-जी र उद्यमशील युवा वर्गलाई ध्यानमा राख्दै स्टार्टअपमा लगानी, नवप्रवर्तन र सीप विकासका कार्यक्रम घोषणा गरेको छ । यस्तो पहलले देशभित्रै रोजगारी सिर्जना, आत्मनिर्भरता र उद्यमशीलतालाई बल पुर्‍याउनेछ।

डेटा सेन्टर र डिजिटल पूर्वाधार

नेपाल जस्तो देशमा डेटा सेन्टरको नीतिगत स्पष्टता अत्यन्त स्वागतयोग्य छ । डिजिटल अर्थतन्त्रको मेरुदण्डका रूपमा डाटा सेन्टरहरू आवश्यक छन् र बजेटमा यसतर्फको ध्यानले डिजिटल नेपाल अभियानलाई गति दिनेछ ।

खेलकुद र युवा सशक्तीकरण

खेलकुदलाई राष्ट्रिय पहिचानको माध्यम बनाउने उद्देश्यसहित खेल पूर्वाधार र खेलाडीहरूको विकासमा बजेट छुट्याइएको छ । यसले युवा प्रतिभा उजागर गर्न, स्वस्थ जीवनशैली प्रवर्धन गर्न र राष्ट्रिय गौरव बढाउन मद्दत पुर्‍याउनेछ ।

समग्रमा बजेटले सहरमुखी आवश्यकताहरू, जलवायु सन्तुलन, डिजिटल युगको माग र युवा पुस्ताको आकांक्षालाई सम्बोधन गर्न खोजेको स्पष्ट सन्देश दिएको उनले उल्लेख गरेकी छन् । ‘नीतिगत स्थायित्व, रणनीतिक प्राथमिकता र दिगो विकासप्रति सरकारको प्रतिबद्धता झल्किएको यो बजेटप्रति हार्दिक स्वागत छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘नयाँ सोच, नयाँ दिशा र यथार्थपरक प्राथमिकताहरुलाई समेटेको यो बजेटप्रति बधाई एवं शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार