• Menu

भिजिट भिसा प्रकरण भ्रष्टाचार मात्र होइन, मानव तस्करी हो, गृहमन्त्रीको राजीनामाले पुग्दैन : सांसद पराजुली

नेपाल प्रफिट

२०८२ जेठ १३, १४:२८

भिजिट भिसा प्रकरण भ्रष्टाचार मात्र होइन, मानव तस्करी हो, गृहमन्त्रीको राजीनामाले पुग्दैन : सांसद पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा केबल नैतिकताको विषयमा मात्र हुन नसक्ने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग उनले भने, ‘अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीहरूलाई बेच्ने प्रकरणमा राज्यका निकायहरू नै जोडिएकाले गृहमन्त्रीको राजीनामा केवल नैतिकताको विषय मात्रै हुन सक्दैन ।’

भिजिट भिसा प्रकरण भ्रष्टाचार मात्रै नभएर मानव तस्करीको विषयसमेत भएकाले राज्यले गम्भीर भएर छानबिन गर्नुपर्ने उनले स्पष्ट पारे । मानव तस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप उनले लगाए ।

भिजिट भिसामार्फत मानव तस्करीको विषयमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषी देखिएका कर्मचारीलाई बचाउन रातारात सरुवा गर्ने काम गरेको सांसद पराजुलीको आरोप छ ।

‘भिजिट भिसा प्रकरणका दोषीसँग जोडेर हेर्ने शंकाको दायरा फराकिलो भएकाले गृहमन्त्री लेखकलाई राजीनामा दिन लगाएर अनुसन्धानको घेरामा ल्याउनुपर्छ,’ उनले भने । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरी सम्पत्ति शुद्धीकरणसहित सत्यतथ्य छानबिन गर्ने र दोषीलाई कडा कारबाही हुनुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्