• Menu

बिमा प्राधिकरणका अध्यक्ष ओझाको अनुभवसम्बन्धी कागजात शंकास्पद, अख्तियारले थाल्यो छानबिन

नेपाल प्रफिट

२०८२ जेठ १३, १०:४४

बिमा प्राधिकरणका अध्यक्ष ओझाको अनुभवसम्बन्धी कागजात शंकास्पद, अख्तियारले थाल्यो छानबिन
अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट शपथग्रहण गर्दै अध्यक्ष ओझा ।

काठमाडौं । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाको अनुभवसम्बन्धी कागजात शंकास्पद देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान थालेको छ । प्राधिकरणको अध्यक्ष पदका लागि उम्मेदवारी दिँदा पेस गरिएका कागजात शंकास्पद भेटिएपछि अर्थ मन्त्रालयबाट कागजात झिकाएर अख्तियारले अनुसन्धान थालेको हो ।

प्रारम्भिक छानबिनक क्रममा ओझाले पेस गरेका कागजातमा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान अघि बढाएको जनाइएको छ । अख्तियारको प्रारम्भिक अनुसन्धानमा अध्यक्ष ओझाले पेस गरेका कागजातको दोहोरो परीक्षण नगरिएको पाइएको छ ।

त्यस्तै ओझाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा पनि रिट दायर भएको छ । नियुक्ति गैरकानुनी भएको भन्दै बदरको मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, सिफारिस समिति र ओझालाई विपक्षी बनाएर चैत १७ मा इन्दिरा धमलाका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

चैत २० मा न्यायाधीश नहकुल सुवेदीको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । २०८२ जेठ ५ मा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले ओझालाई अध्यक्षमा नियुक्ति गर्नुका आधारसम्बन्धी कागजात पेस गर्न आदेश दिइसकेको छ ।

ओझाको नियुक्ति

नागरिकता प्रकरणमा विशेष अदालतमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल निलम्बनमा परेका थिए । निलम्बनकै बीच सिलवालको कार्यकाल सकियो भने फागुन १८ मा उनले विशेषबाट सफाइ पनि पाए ।

त्यसपछि प्राधिकरणको रिक्त अध्यक्ष पदमा आवेदन माग गरिएको थियो । सरकारले प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र विज्ञका रूपमा ज्योतिचन्द्र ओझा सम्मिलित तीन सदस्यीय समिति गठन गर्‍यो ।

प्रक्रियागत रुपमा सोही समितिको सिफारिसका आधारमा २०८१ फागुन १२ को मन्त्रिपरिषद् बैठकले ओझालाई सरकारले चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

ओझालाई नियुक्ति गर्दाका कागजात अनुसन्धानका लागि पेस गर्न अख्तियारबाट ताकेता भएपछि त्यसको विवरण पठाइसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । अर्थले उनले पेस गरेका कागजात, विभिन्न संस्थाहरूबाट प्राप्त सिफारिस पत्रसहितका विवरण अख्तियारमा बुझाएको हो ।

यस्ता छन् ओझाले बुझाएका कागजात

– सामरिक तथा सुरक्षा सामग्री खरिद गर्ने विदेशी कम्पनीको स्थानीय एजेन्टका रूपमा समेत काम गर्ने ट्रिनिटी एक्जिम प्रालिमा सन् २०१९ अक्टोबर १८ देखि २०२१ नोभेम्बर १६ सम्म सिनियर म्यानेजर ।

– लगानी बोर्ड नेपालमा सन् २०२४ जनवरी १५ देखि २०२४ मे २३ ‘पार्टटाइम’ कन्सल्ट्यान्ट ।

– नेपाल उद्योग परिसंघ (सीएनआई) मा सन् २०२४ म ११ देखि पोलिसी एक्सपर्ट ।

– नेपाल उद्योग वाणिज्य महासंघ कन्सल्ट्यान्ट ।

– वरुण बेभरेज प्रालिमा सन् २०१६ फेब्रुअरीदेखि जुनसम्म उपभोक्ता अधिकृत (कन्जुमर एक्जिक्युटिभ) ।

– नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम कलेज) मा सन् २०१७ जनवरीदेखि २०२५ सम्म रिसोर्स फ्याकल्टीमा अध्यापन ।

– एसएआईएम (सायम) कलेजमा सन् २०२२ डिसेम्बरदेखि २०२४ सम्म अध्यापन ।

– चाणक्य मिडिया प्रालिमा सन् २०२१ डिसेम्बर १६ देखि २०२५ जनवरी २२ सम्म सिनियर म्यानेजर ।

– सूचना तथा प्रशासर विभागबाट २०८० वैशाख २७ देखि २०८१ फागुनसम्म प्रेस प्रतिनिधि ।

– देशसञ्चार मिडियामा सन् २०१७ नोभेम्बर १७ देखि २०१८ अगस्ट १६ सम्म संवाददाता ।

– प्रशासनिक मिडियामा २०७३ माघ १ देखि २०७४ कात्तिकसम्म प्रबन्धक र २०७० कात्तिक १ देखि २०७२ कात्तिकसम्म व्यवस्थापन अधिकृत ।

– राजधानी कलेजमा सन् २०१८ देखि २०२४ डिसेम्बर २७ अध्यापन ।

– एपेक्स कलेजमा सन् २०१७ जनवरीदेखि सन् २०२४ सेप्टेम्बर २३ सम्म अध्यापन ।

– इम्पेरियल कलेजमा सन् २०१८ अप्रिलदेखि २०२४ सेप्टेम्बरसम्म ।

बिमा ऐन २०७९ को दफा ८ मा बिमा प्राधिकरणको अध्यक्ष वा सदस्यका लागि बिमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुनमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्