काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले लामो समयदेखि मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिला र उनका बालबालिकाका लागि काम गर्दै आएको दृष्टि फाउन्डेसन नेपाललाई सहयोग गरेको छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा ६५ महिला र उनका बालबालिका लाई सहयोग गरिरहेको दृष्टि फाउन्डेसनलाई बैंकले करिब दुई महिनासम्म पुग्ने गरी सरसफाइ र उपभोग्य सामग्रीहरू उपलब्ध गराएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोग बैंकका प्रमुख कार्यकारी (सीईओ) अधिकृत गणेशराज पोखरेलले एक कार्यक्रमबीच हस्तान्तरण गरेका छन् । कार्यक्रममा सीईओ पोखरेलले संस्थालाई सानै भए पनि सहयोग गर्न पाउँदा धेरै खुसी लागेको बताए । यस्ता संस्थाले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिला र उनका बालबालिकाको हेरचाहका लागि समाजमा उदाहरण प्रस्तुत गरिरहेको उनको टिप्पणी छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ दि इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।
साथै, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायतका क्रस बैंक टेलर सुविधा, जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशका ६१ जिल्लामा फैलिएका २ सय शाखा कार्यालय, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट १८ लाख ९१ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।