टोखा नगरपालिकाको पूर्वमा बूढानीलकण्ठ नगरपालिका, पश्चिममा तारकेश्वर नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला र दक्षिणमा काठमाडौं महानगरपालिकाका वडा नं. ३ र २६ पर्छन् । १७.११ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यस नगरपालिकामा १ लाख ३३ हजार मानिसको बसोबास छ । नगरको साक्षरता दर औसत ९१ प्रतिशत छ । नगर प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको नेतृत्व आठ वर्षदेखि गरिरहेका छन् । पहिलो कार्यकालमा गरेका कामको बलकै कारण उनलाई दोस्रो कार्यकालका लागि पनि नगरबासीले रोजे । विकासको सवालमा उनले गरेका कामको सूची निकै लामो छ ।
सडक पूर्वाधार मात्र नभएर नगरपालिकाका प्रमुख पर्यटकीय क्षेत्रको विकासलाई उनले सन्तुलित ढंगले अघि बढाएका छन् । झोर महांकालको वौडेश्वर महादेव, टोखा चण्डेश्वरीको चण्डेश्वरी र सपनतीर्थ मन्दिर हुन् या टोखा सरस्वतीको भुतखेल चौर र मसानकली मन्दिर तथा धापासीको वसुन्धरा देवी नगरपालिकाले संरक्षण र सम्वर्धन गरेको छ । त्यस्तै स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि नगरपालिकाको कामगराइ प्रशंसनीय छ । नगर प्रमुख अधिकारीसँग नगरको पूर्वाधार, स्वास्थ्य, शिक्षालगायतमा केन्द्रित रहेर नेपाल प्रफिटले गरेको कुराकानी :
०००
अधिकार सम्पन्न स्थानीय तहको गठनपश्चात अर्थात् २०७४ सालदेखि टोखा नगरपालिकाको कार्यकारी प्रमुख हुनुहुन्छ । आफ्नो कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
२०७४ साल वैशाख ३१ गतेभन्दा अगाडिको नगरपालिका र आजको नगरपालिकामा आकाश जमिनको फरक छ । त्यसबेला सडकहरु क्षतविक्षत थिए । डुबानको समस्या व्यापक थियो । हिँड्डुल गर्नसमेत कठिन अवस्था थियो । चार–पाँचवटा वडामा मात्र आधारभूत स्वास्थ्य सेवा उपलब्ध थियो । त्यो पनि गुणस्तरीय थिएन । विद्यालयका भवनहरु जीर्ण थिए । पर्यटन पूर्वाधारको अवस्था अत्यन्तै कमजोर थियो । नगरपालिकाका कतिपय ठाउँहरु त दूरदराज जस्तै थिए । त्यस्तो चुनौतीपूर्ण अवस्थामा मैले नगरपालिकाको नेतृत्व लिएको थिएँ । म के भन्छु भने एकपटक नगरपालिकाको भ्रमण अवलोकन गर्न र नगरबासीसँग नै आठ वर्षअघि र अहिलेको अवस्थाबारे सोध्न म अनुरोध गर्छु ।
विकासका पूर्वाधार सडक, खानेपानी, ढल निकास, स्वास्थ्य र शिक्षामा यहाँको कार्यकालमा कति काम भएको छ ?
एउटा उदाहरण दिन्छु । टोखा नगरपालिकामा पर्ने झोर त्यसबेला दूरदराज जस्तै थियो । रिङरोडबाट यति नजिक भएर पनि विकासका पूर्वाधारमा झोर निकै नै पछाडि थियो । झोरबासीले उत्पादन गरेका दुध, तरकारी र अन्य अन्न बालीहरुका लागि बजार सहज थिएन । कतिपय ठाउँबाट करिब तीन किलोमिटर हिँडपछि बल्ल गाडी चड्ने ठाउँमा पुगिन्थ्यो । टोखा सडकमा जताततै मानव मलमुत्र बगिरहन्थ्यो अर्थात् ढल निकास असाध्यै अव्यवस्थित थियो । दुर्गन्धित थियो टोखा । मानिसहरु मास्क लगाएर र नाक छोपेर हिँड्नुपर्थ्यो । हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती थियो । विष्णुमति करिडोरका बासिन्दाको अवस्था झन् कहालिलाग्दो थियो । बर्खामा त्राही–त्राहीको अवस्था थियो । अहिले विष्णुमति करिडोर कस्तो भएको छ, घुमेर हेर्न सक्नुहुन्छ । खोलाको दुवैतिर पर्खाल लागेको छ । करिडोर केही हदसम्म खोल्न सफल भएका छौँ ।
समग्रमा, अब विकास गर्ने ठाउँहरु सकिँदै गएका छन् । कालोपत्र नभएका सडक अत्यन्तै कम छन् । झोर क्षेत्रमै केही किलोमिटर सडक कालोपत्रको चरणमा छन् । अलिअलि करिडोर खोल्न बाँकी छ । स्वयं नगरबासीले विकासका पूर्वाधारमा नगरपालिकाको कामको प्रशंसा गरेको मैले सुनेको छु । मलाई लाग्छ, अब २० प्रतिशतजति काम बाँकी छ । मेरो कार्यकालमै यसलाई पूर्णता दिनेगरी योजनाबद्ध ढंगले लागेको छु ।
संघ सरकारअन्तर्गत पर्ने टोखा सडक विस्तार नहुँदा नगरपालिकामाथि नै प्रश्न उठ्ने गरेको पाइन्छ । काम भएर पनि नगरेजस्तो देखिन्छ । नागरिकलाई कसरी प्रस्ट पार्नुहुन्छ ?
टोखा सडक राष्ट्रिय सडक हो । यो संघ सरकारको आयोजना हो । स्थानीय सरकारले सडक व्यापार हटाएको छ, फुटपाथ खाली गराएको छ । ठूला संरचना हटाएर सडक विस्तार गर्ने काम संघ सरकारले गर्नेछ । काठमाडौंबाट नुवाकोट र रसुवा जाने छोटो सडक भएकाले संघ सरकारले विशेष प्राथमिकतामा राखेको पाएको छु । सडक ५० मिटर फराकिलो बनाउनुपर्नेछ । त्यसका लागि ठुला भवन संरचना हटाउनुपर्ने हुन्छ । अर्बौं बजेट लाग्छ । नगरपालिकाले आफ्नो तर्फबाट गर्ने काम गरेको छ । बाँकी काम संघ सरकारले नै गर्नुपर्छ ।
विकासका पूर्वाधारमा धेरै काम गरे पनि नगरबासीले सेवा पाउने तरिका भने पुरानै खालको भएको गुनासो सुनिन्छ । नगरपालिका किन ‘स्मार्ट’ बन्न सकिरहेका छैन ?
टोखा नगरपालिकाले डिजिटाइजेसनमा जाने नीतिगत निर्णय गरिसकेको छ । हाम्रा कतिपय सेवा पेपरलेस पनि भइसकेका छन् । नक्सापासलाई अनलाइन बनाएका छौँ । नगरपालिकाले मेट्रिक सिस्टम हाउजिङ नम्बरको तयारी गरिरहेको छ । छिट्टै घर–घरमा डिजिटल बोर्ड राख्नेछौँ । डिजिटल बोर्डलाई कसरी थप वैज्ञानिक बनाउने भनेर छलफल पनि भइरहेको छ ।
हाम्रो अध्ययन विश्लेषणले के भन्छ भने नगरलाई पूर्णरुपमा ‘आईटी फ्रेन्ड्ली’ बनाउन नगरबासी पनि तयार हुन जरुरी छ । उदाहरणका लागि, भवन नक्सापासलाई अनलाइन बनाएका छौँ तर धेरैजसो म्यानुअल गर्नुपर्ने बाध्यता छ । नागरिक पनि पहिलाभन्दा त धेरै अभ्यस्त भएका छन् तर नहुनेको संख्या पनि ठुलो छ । त्यसमाथि पाँच–सात वर्षमै सबै रुपान्तरण हुन्छ भन्ने ठान्नु गलत हो । नगरका सेवा पहिलाभन्दा धेरै तीव्र छन् । नागरिकले पाउने सेवा सुस्त छैन । टोखा नगरपालिका केही वर्षभित्रै ‘पेपरलेस’ बन्नेछ, ‘स्मार्ट’ बन्नेछ ।
नगरका भावी योजना के–के छन् ?
राजधानीमा रहेको टोखा नगरपालिका मलाई लाग्छ, न्यून गरिब भएको नगरपालिका पनि हो । घरभाडाबाटै यहाँका बासिन्दाले राम्रो आम्दानी गरिरहेका छन् । रोजगार र पसल व्यवसाय त छँदैछन् । उनीहरुका लागि आयआर्जनका कार्यक्रम जरुरी नै छैन । त्यसकारण, हामी पूर्वाधारका बाँकी २० प्रतिशत काम सक्नमै केन्द्रित हुन्छौँ किनभने मानिसहरुले पहिला पूर्वाधार नै खोज्छन् ।
दोस्रो, प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिएका छौँ । अब नगरपालिकाको ८० र कार्यक्रम सञ्चालन गर्ने संस्थाको २० प्रतिशत लागत साझेदारीमा सीपमूलक र स्वरोजगारमूलक कार्यक्रमहरु सञ्चालन गर्ने मोडालिटीमा जाने तयारी गरिरहेका छौँ ।
नगरबासीलाई सीपमूलक र स्वरोजगारमूलक तालिम प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) सँग सहकार्य गरिरहेका छौँ । अहिले पनि तालिम भइरहेको छ, त्यसलाई अझ बृहत् बनाउँछौँ ।
नगरपालिकाको आम्दानीको सबैभन्दा मुख्य स्रोत के हो ?
भवन निर्माणको नक्सापास हो ।
नगरपालिकाका लागि घरबहाल कर सबैभन्दा ठूलो आम्दानीको स्रोत हुन्छ, यहाँहरुको अवस्था के छ ?
यसअघि हामीले घरबहाल करमा स्वघोषणालाई प्राथमिकताका साथ लागू गरेका थियौँ । तर, सबै घरधनी आएनन् । त्यही भएर घरहरुमा डिजिटल नम्बर प्लेट राख्ने कार्यमा जोड दिएका छौँ । घरधनीलाई कर तिर्ने बेलामा म्यासेज (एसएमएस) पठाउने व्यवस्था गर्छौं । त्यसले घरधनीलाई करको दायरामा ल्याउन पक्कै सहज हुनेछ । घरबहाल कर हरेक वर्ष बढेर गएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनले व्यावसायिक प्रयोजन (सटर) का घरमा पार्किङ अनिवार्य गरेको छ । कानुन कार्यान्वयन पनि भइरहेको छ कि कागजमा सीमित छ ?
ठूल्ठूला व्यापारिक कम्प्लेक्सका हकमा लागू भएको छ । पछि बनेका घरहरुमा पनि अनिवार्य गरेका छौँ । पहिला बनिसकेका घरहरुमा पार्किङ व्यवस्थापन सहज छैन ।
नगरको योजनाबद्ध विकासको लागि नगर प्रोफाइल अपरिहार्य छ । आफ्नो दुई बर्से कार्यकालमा पनि नगर प्रोफाइल बनाउनु भएन ? किन ?
तथ्यांक संकलन गरिरहेका छौँ । कतिपय तथ्यांक तयार पनि भइसकेका छन् । कतिपय संकलनको चरणमा छ । त्यसलाई डिजिटल सिस्टममा राखेका छैनौँ । अब चाँडै राख्छौँ । सिटी प्रोफाइल बन्छ ।
अब अन्तिम प्रश्न, दोस्रो पटक पनि चुनाव जित्नुभयो । काम धेरै नै गरेँ भनिरहनुभएको छ । लोकप्रियताका कारण चुनाव जित्नुभयो कि नेकपा एमालेको संगठनात्मक भोटले जित्नुभयो ?
एमालेको संगठनात्मक भोट र लोकप्रियता दुवैको भूमिका छ । कोभिड–१९ को समयमा असाध्यै खटाइ भयो । नागरिकले त्यसको महसुस गरेका छन् । विकासको सवालमा पनि धेरै नै काम गरेका छौँ । दोस्रो पटक चुनाव जित्नु त्यसकै परिणाम हो ।
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal