• Menu

प्रफिट लिडर

सिटिजन्स बैंक : कुशल लिडर, अब्बल उच्च व्यवस्थापन समूह

नेपाल प्रफिट

२०८२ जेठ ७, बुधबार १३:२२

सिटिजन्स बैंक : कुशल लिडर, अब्बल उच्च व्यवस्थापन समूह

काठमाडौं । नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा सिटिजन्स बैंक इन्टरनेसनलको इतिहास त्यति लामो छैन । तर, छोटो इतिहास बोकेको यो बैंक पुराना बैंकहरुजत्तिकै दूरदराजसम्म फैलिसकेको छ । बैंकले करिब १९ लाख निक्षेपकर्ता र ५० हजार ऋणीको विश्वास जित्न सफल भइसकेको छ ।

२०६४ वैशाख ७ गते काठमाडौंमा स्थापना भएको यो बैंकले हाल दुई सयवटा शाखा कार्यालय, १६८ वटा एटीएम मेसिन, तीनवटा एक्सटेन्सन काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइका रुपमा देशभर सेवा सञ्जाल विस्तार गरेको छ ।

अहिलेको प्रतिकूल परिस्थितिमा पनि बैंकको निक्षेप संकलन र कर्जा प्रवाह ‘इन्डस्ट्री एभरेज’ भन्दा माथि छ । २०८१ असार मसान्तसम्म एक खर्ब ९१ अर्ब ६७ करोड रहेको निक्षेप संकलन चैत मसान्तसम्ममा ११ अर्बभन्दा धेरैले बढेर दुई खर्ब दुई अर्ब करोड पुगेको छ भने एक खर्ब ५७ अर्ब ५९ करोड रहेको बैंकको कर्जा प्रवाह चैत मसान्तसम्ममा १६ अर्बभन्दा धेरैले बढेर एक खर्ब ७३ अर्ब नाघेको छ । यसले बैंकप्रति सर्वसाधारणको भरोसालाई दर्शाउँछ ।

तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने नियमनकारी व्यवस्थाबमोजिम बैंकले कृषि, लघु, घरेलु, साना एवं मझौला उद्यम क्षेत्र र ऊर्जा क्षेत्रमा गरी कुल ३३.६७ प्रतिशत कर्जा प्रवाह गरेको छ । बैंकले १५ वर्षदेखि लगातार लाभांश वितरण गरिरहेको छ । सेयरधनीले औसत लाभांश १३.१० प्रतिशत पाएका छन् ।

नेपालको बैंकिङ उद्योगमा १८ बर्से यात्राका क्रममा बैंकको सम्पत्ति दुई खर्ब ३५ अर्ब ९१ करोड नाघेको छ भने दायित्व दुई खर्ब १३ अर्ब ३५ करोडभन्दा माथि पुगेको छ । ‘टिम लिडर’को हैसियतमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले निक्षेप परिचालनमा कुशलता प्रदर्शन गरिरहेका छन् ।

२०६३ पुस १७ देखि बैंक व्यवस्थापन समूहको नेतृत्व गरेका संस्थापक सीईओ राजनसिंह भण्डारी २०७५ पुस १६ मा बिदा भएपछि पुस १७ देखि पोखरेलले कमान्ड सम्हालेका हुन् । उनी पनि बैंकको संस्थापकमध्येका एक हुन् ।

बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव हासिल गरेका सीईओ पोखरेलले बैंकका अधिकांश विभागको नेतृत्व गरेका छन् । दूरदर्शी व्यावसायिक नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका उनी सरोकारवालाहरुसँग राम्रो व्यक्तिगत सम्बन्ध राख्न सिपालु छन् । सीईओ पोखरेललाई ‘करिस्म्याटिक लिडर’का रुपमा पनि चिनाउने गरिएको छ ।

सिटिजन्स बैंकमा जोडिनुभन्दा अघि नै उनले कुशल व्यवस्थापकको रुपमा आफूलाई स्थापित गरिसकेका थिए । काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापनमा एमबीए तथा त्रिभुवन विश्विद्यालयबाट बजार व्यवस्थापनमा एमबीए र बैंकिङ विषयमा बीएल गरेका उनले बैंक सम्हालेको केही महिना नबित्दै विश्वव्यापी कोभिड-१९ महामारीको चपेटामा नेपाल परेको थियो ।

तर, कोभिडको कहरबाट धेरै बैंकहरु धराशयी बन्दा पोखरेलले उत्कृष्ट व्यवस्थापकीय क्षमता प्रदर्शन गर्दै बैंकलाई बलियो दिशा प्रदान गरे । सेवाग्राही केन्द्रित, उत्कृष्ट सेवा, मानव संसाधन, संस्थागत सुशासन र सामाजिक उत्तरदायित्वको मूल रणनीति तय गर्दै ‘सिजिटन्स टिम’ परिचालनमा उनी सफल सावित भइरहेका छन् ।

सीईओ पोखरेल, डेपुटी सीईओ राजेन्द्रलाल श्रेष्ठ, पाँच जना असिस्टेन्ट सीईओ तथा फाइनान्स, मास बैंकिङ र कर्पोरेट बैंकिङको नेतृत्व गरिरहेका तीनसहित १० जनाको ‘एक्जिक्युटिभ टिम’ले सिटिजन्स बैंकको रणनीति तय गरिरहेको छ । उनीहरुमार्फत एक हजार आठ सयभन्दा बढी कर्मचारी परिचालित छन् ।

डेपुटी सीईओ श्रेष्ठले भारतको पुनेस्थिति सिम्बियोसिस इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्टबाट एमबीए गरेका छन् । मुख्यतः जोखिम व्यवस्थापनमा उनीसँग २४ वर्ष लामो बैंकिङ अनुभव छ । म्यानेजमेन्ट ट्रेनीबाट बैंकिङ करियर सुरु गरेका श्रेष्ठले ब्रान्च अपरेसन, ट्रेड फाइनान्स, क्रेडिट एन्ड मार्केटिङ, क्रेडिट एड्मिनिस्ट्रेसन, रिकभरी, जोखिम व्यवस्थापन, कम्प्लायन्सलगायतका सबै विभागको कुशलतापूर्वक नेतृत्व गरेका छन् ।

त्यस्तै असिस्टेन्ट सीईओ तथा चिफ इन्फर्मेसन टेक्नोलोजी अफिसर सञ्जीवकुमार श्रेष्ठले युक्रेनबाट कम्प्युटर इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । सूचना प्रविधि क्षेत्रमा २० वर्ष लामो अनुभव उनले हासिल गरेका छन् । बैंकमा स्थापना कालदेखि आबद्ध उनी सूचना प्रविधिसँगै ब्रान्चलेस बैंकिङ, कार्ड र रेमिट्यान्समा विशेष दख्खल राख्छन् ।

सुमन मुलपति अर्का असिस्टेन्ट सीईओ तथा चिफ क्रेडिट अफिसर हुन् । त्रिभुवन विश्वविद्यालयबाट पोस्ट ग्रयाजुएट गरेका उनीसँग १८ वर्ष लामो बैंकिङ अनुभव छ । स्थापना कालदेखि नै सिटिजन्स बैंकमा जोडिएका उनले कन्जुमर बैंकिङ र कर्पोरेट एन्ड कमर्सियल बैंकिङमा राम्रो क्षमता प्रदर्शन गरिरहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नारायणराज अधिकारी सिटिजन्स बैंकका अर्का असिस्टेन्ट सीईओ हुन् । बैंकिङ अनुभवसँगै सबैलाई मिलाउन सक्ने क्षमताका अधिकारीलाई बैंकले प्रवक्ता एवं सूचना अधिकारीको जिम्मेवारी दिएको छ । त्रिभुवन विश्वविद्यालयबाट पोस्ट ग्रयाजुएट गरेका उनीसँग २० वर्षभन्दा लामो बैंकिङ अनुभव छ ।

२०६४ सालदेखि सिटिजन्स बैंकमा आबद्ध भएका उनले जोखिम व्यवस्थापन विभागको नेतृत्व गरिसकेका छन् । मानव संसाधन विभाग, जनरल सर्भिस डिपार्टमेन्ट, रिकभरी डिपार्टमेन्ट र कर्पोरेट कम्युनिकेसन डिपार्टमेन्ट सम्हालिरहेका उनी काबिल बैंकर मानिन्छन् ।

त्यस्तै असिस्टेन्ट सीईओ तथा चिफ रिस्क अफिसर अमित खनालले त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडिजमा स्नातकोत्तर । बैंकिङ क्षेत्रमा १८ वर्ष लामो अनुभव हासिल गरेका उनी सिटिजन्स बैंकमा १५ वर्षदेखि कार्यरत छन् । क्रेडिट तथा मार्केटिङ डिपार्टमेन्ट, कर्पोरेट तथा एसएमई र क्रेडिट रिस्कमा उनको विशेष विज्ञता छ । हाल उनले रिस्क म्यानेजमेन्टको पूरा जिम्मेवारी सम्हालिरहेका छन् ।

रविकुमार रौनियार अर्का असिस्टेन्ट सीईओ हुन् । उनी सिटिजन्स बैंकका चिफ अपरेटिङ अफिसर तथा ग्रिभान्स ह्यान्डलिङ अफिसर हुन् । २५ वर्ष लामो बैंकिङ अनुभव सम्हालेका उनी २०६४ फागुनदेखि सिटिजन्स बैंकमा आबद्ध छन् । रौनियारसँग ट्रेड फाइनान्स, ब्रान्च अपरेसन्स, क्रेडिट एन्ड मार्केटिङ, रिस्क म्यानेजमेन्टलगायत विभागमा काम गरेको अनुभव छ ।

कम्पनी सचिव एवं चिफ फाइनान्स अफिसर प्रमेशराज कायस्थ, चिफ मास बैंकिङ अफिसर रोशन मानन्धर र चिफ इन्फ्रास्ट्रक्चर, कन्सोर्टियम एन्ड कर्पोरेट बैंकिङ अफिसर रोशन मल्ल पनि सिटिजन्स बैंकको एक्जिक्युटिभ टिमका सदस्य हुन् ।

नेपाल राष्ट्र बैंकले लिएको चुक्ता पुँजी वृद्धिको निर्णयपछि बैंकले ६ वटा संस्थालाई अक्वायर गरेको छ । संस्था अक्वायरमा बैंकको सञ्चालक समितिको ठूलो भूमिका रहन्छ । हाल बैंकको अध्यक्ष प्रबलजंग पाण्डे छन् भने सर्वसाधारण सञ्चालकहरुमा प्रकाशचन्द्र मैनाली, विजयध्वज कार्की र इला शर्मा छन् । त्यस्तै सञ्चालकहरु दिग्विजय बिष्ट, डा. विनोद आत्रेय र अनिल ज्ञवालीसहितको सञ्चालक समितिले बैंकलाई मार्गदर्शन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्