सगरमाथा संवादमा प्रधानमन्त्रीको मन्तव्य
सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु मेरा निम्ति गहिरो सम्मान र हार्दिक अवसर दुवै हो । नेपालको विश्वसँगको यो संवाद पहलकदमी गहन विचार विमर्शका लागि प्लेटफर्म, सिद्धान्तनिष्ठ सहभागिताका लागि अवसर र हाम्रो समयका अत्यन्त गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्ने साझा प्रयास हो ।
आज, ‘लोकल र ग्लोबल’ छुट्याउने सीमाहरू लगभग हराइसकेका छन् । संसारको कुनै एक कुनामा घटेको घटना तत्कालै सबैतिर फैलिन्छ । एउटा भूभागमा सल्किएको डँढेलोले अर्को भूभागको आकाश अन्धकारमय बनाउँछ । टाढाका हिमनदीहरू पग्लँदा वर्षाको चक्र विथोलिन्छ, खेतबारी बाढीले डुबाउँछ र फाँटहरू सुख्खा र बाँझो बन्न पुग्छन् ।
केही थोरैले गरेको निर्णयले धेरैको भाग्य बदल्न सक्छ । यही गहिरो अन्तरनिर्भर यथार्थभित्र इमानदार संवादका लागि स्थान, आपसी ज्ञान साटासाट गर्न र सामूहिक कदम चाल्न सगरमाथा संवादको जन्म भएको हो । हामीले यसलाई सगरमाथाको नाममा समर्पण गरेका छौं– सगरमाथा, पृथ्वीको सर्वोच्च शिखर !
र, आशा गर्छौं, यो संवाद, हाम्रो संवाद, त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टतामा, दृढ बौद्धिक साहसमा र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा ।
आज हाम्रो विश्व अग्ला, बहुपक्षीय चुनौतीका पहाड सामु खडा छ । चुनौतीहरू विशाल छन् र तीव्र रूपमा नजिकिँदै छन् । महामारीपछिको पुनःस्थापना अझै नाजुक छ । जलवायु संकट झन् तीव्र बन्दैछ ।
संसारका थुप्रै ठाउँहरूमा शान्ति र सौहार्द्रता झनै टाढिँदै गएको अनुभूति हुन्छ । वैश्विक शासन प्रणालीप्रति विश्वास क्रमशः घट्दै गएको छ । असमानता देशभित्र र देशहरुका बीचमा गहिरिँदो छ ।
एक समय पथप्रदर्शक बनेको बहुपक्षीयता, अहिले डरलाग्दो अन्यौलको आँधीमा रूमलिएको छ । र अझै यस्तो अन्यौलका बीच हामी, सरल तर शक्तिशाली विश्वासमा अडिग छौं : संवादको शक्ति ।
नेपाल भूगोलको टुक्रा मात्रै होइन । यो पवित्र भूमि हो, जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ । यहीँ, चेतना जागृत भएको थियो । यो बुद्धको भूमि हो । यसै माटोबाट एउटा यस्तो प्रकाश उदायो, जसले मानवतालाई शान्ति, करुणा र समन्वयको बाटो देखायो ।
यो त्यही भूमि हो, जहाँ सन्तहरूले ध्यान गरे । साधकहरुले सत्य फेला पारे र ऋषिहरुले मानव आत्मालाई अझै पनि प्रेरित गर्ने ज्ञानको अमूल्य भण्डार सारा संसारलाई अर्पण गरे ।
नेपाल सदा खोजकर्ताहरूको थलो रहँदै आएको छ । विजेताहरूको होइन, चिन्तकहरूको, युद्धको होइन, संवादको । हाम्रो परम्परा, आदरपूर्वक आत्मबोध गर्ने संस्कृतिमा अडेको छ । सच्चा मनले बोल्नेमा र सँगसँगै सत्य खोज्नेमा ।
सगरमाथा संवाद त्यही भावनामा जन्मिएको हो ।
हाम्रो प्राचीन परम्पराको एउटा सौम्य पुनरागमन । यस्तो ‘स्पेश’ जहाँ प्रज्ञा नतमस्तक हुन्छ, विनम्रताका साथ । जहाँ विविध स्वरहरू एकसाथ गुञ्जिन्छन्, श्रद्धाका साथ । र, जहाँ जवाफ खोजिन्छन्- अहंबाट होइन, सहअनुभूतिका साथ ।
हामीलाई एउटा प्राचीन सत्यले सम्झाउँछ :
‘वादे वादे जायते तत्त्वबोधः’
अर्थात् संवादबाटै सत्य ।
चर्को विभाजनको घडीमा पनि न मौनताले काम गर्छ, न त कर्कश आवाजले । सत्य संवादले काम गर्छ ।
सुन्नेगुन्ने क्षमताले, अन्तर्मनको वचनले ।
सगरमाथा संवाद–
यस पवित्र परम्परालाई जीवन्त राख्ने हाम्रो विनम्र प्रयास हो । हाम्रो पहिलो थेमले, हाम्रो मनको कुरा भन्छ :
‘जलवायु परिवर्तन, हिमालहरू र मानवताको भविष्य ।’
हिमाली मुलुक हुनुको नाताले, हाम्रा लागि यो थाहा नभएको विषय होइन । यो त हाम्रो दैनिक यथार्थ हो तर केवल हाम्रो मात्र होइन, विश्वकै साझा चिन्ताको विषय हो ।
के हाम्रा हिमालबिना मानवता जोगिन सक्छ ? के हाम्रो भविष्य हाम्रा यी प्राचीन ‘संरक्षक’हरूका संरक्षणबिना बचाउन सकिन्छ ?
हिमालहरू टाढाका लाग्न सक्छन् तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ । आर्कटिकदेखि एन्डिजसम्म,आल्प्सदेखि हिमालयसम्म । तिनीहरू पृथ्वीका जल-भण्डार हुन् । तिनीहरू हाम्रो जलवायुका धुकधुकी हुन् र तिनीहरू अहिले भयंकर संकटमा छन् ।
तिनीहरूको नाजुकता हाम्रो साझा असुरक्षित अवस्था हो । संसारकै सर्वोच्च शिखर, सगरमाथाको काखबाट, हामी स्पष्ट र दृढताका साथ सन्देश दिन्छौं :
यो संवाद केवल संवाद मात्र हुन नजाओस्, एक संकल्प होस् । सुनिने एउटा संकल्प, कार्यमा उत्रने र हातेमालो गर्दै भद्र, बौद्धिक र करुणामय संसारतर्फ अघि बढ्ने संकल्प ।
जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन । यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो । यसले सबै थोकलाई लपेट्छ- हाम्रो पृथ्वी, हाम्रा जनता र हाम्रो साझा समृद्धि ।
कुनै पनि राष्ट्र यसबाट अछुतो छैन । कुनै पनि समाज पूर्ण सुरक्षित छैन । तर, सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन् । ती गरिबहरू, ती अत्यन्त असुरक्षितहरू, ती हिमाली र कम विकसित राष्ट्रहरू । नेपाल पनि तीमध्ये एक हो । यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन । तर, यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं । हिमनदीहरू पग्लिरहेका छन् ।
वर्षा अनिश्चित बन्दै गइरहेको छ । पहिरोहरूले घर-बास बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् । तर अझै, हामी डटिरहेका छौं । हाम्रा उत्सर्जनहरू न्यून छन्, लगभग नगण्य । तर, वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् ।
हाम्रा हिमालय, पूरै क्षेत्रलाई चिस्याउने प्रकृतिको आफ्नै जलवायु सन्तुलिका हुन् । हाम्रा जंगल, जसले हाम्रो आधा भू-भाग ढाकेका छन्, कार्बन सोस्छन्, आशाको सास फेर्छन् । हाम्रा नदीनाला हिउँले ढाकिएका शिखरहरूबाट बग्छन्, लाखौंको प्यास मेटाउँछन् । हाम्रा संरक्षित क्षेत्रहरू प्रकृतिका पवित्र मन्दिर हुन्, धरतीको समृद्ध जैविक विविधतालाई सम्हाल्छन् ।
नेपालले सन् २०४५ सम्ममा खुद-शून्य उत्सर्जनको प्रतिबद्धता जनाएको छ । विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष पहिले । हामी अनुकूलित योजनाहरू अघि बढाइरहेका छौं । हामी हाम्रो अर्थतन्त्रलाई हरिततर्फ मोड्दैछौं । हामी दीगोपनलाई हाम्रो राष्ट्रिय दृष्टिकोणमा जोड्दैछौं तर हामी यी काम एक्लै गर्न सक्दैनौं । कुनै देशले पनि एक्लै गर्न सक्दैन ।
जलवायु परिवर्तन एक वैश्विक आपत् हो । यसको समाधान पनि वैश्विक हुनुपर्छ । एक यस्तो उपाय, न्यायमा आधारित । उत्तरदायित्वमा आधारित । ऐक्यबद्धताबाट उत्प्रेरित । जलवायु न्यायले हाम्रो मार्गदर्शन गर्नुपर्छ । जसले सबैभन्दा बढी प्रदूषण गर्छन्, उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ ।
उनीहरूले संवेदनशील राष्ट्रहरूलाई सहयोग गर्नुपर्छ- वित्तमार्फत, प्रविधिमार्फत, क्षमता अभिवृद्धिमार्फत र हामी हिमाललाई नबिर्सौं । विश्वका वार्ताहरूमा तिनीहरू प्राय: उपेक्षित हुन्छन् तर तिनैले जलवायु सन्तुलन कायम राख्छन् ।
तिनैले पानीको भण्डारण गर्छन् । तिनैले जमिनलाई पुनःसिञ्चित गर्छन् । तिनैले जीवनको रक्षा गर्छन् । जब हिमाल पग्लिन्छन्- उपत्यकाहरू पीडित हुन्छन् । नदीहरू सुक्छन् । बालीहरू नष्ट हुन्छन् । सागरहरू उर्लन्छन् । जीवन विखण्डित हुन्छ ।
हिमालय हाम्रो तेस्रो ध्रुव, विश्व औसतभन्दा छिटो तात्दैछ । हिमनदीहरू हराउँदैछन् । हिमतालहरू फैलिँदैछन् । तटीय क्षेत्रका करोडौं मानिसहरू जोखिममा छन् । हामीलाई साहसी, एकीकृत दृष्टिकोण चाहिएको छ । ‘हिमालदेखि महासागरसम्म’ को सोच ।
हिमालहरू उपयुक्त सम्मानका हकदार हुन्- हामीले ध्यान दिनुपर्छ । विशेष वित्तीय सहयोगसहित । तदनुकूलका नीतिहरूसहित ।
हामीले स्वच्छ ऊर्जामा लगानी गर्नुपर्छ । जलवायु-उत्थानशील बालीहरू बढाउनुपर्छ । महिला र युवालाई अगाडि ल्याउनुपर्छ । र, विस्थापितहरूलाई सुरक्षा दिनुपर्छ । आउनुस् जोखिम मूल्यांकन बलियो बनाऔं । पूर्व सूचना प्रणाली निर्माण गरौं ।
डाटा साझेदारी गरौं । सीमापार सहकार्य मजबुत पारौं र सबैभन्दा महत्वपूर्ण हाम्रो प्राचीन ज्ञानलाई आधुनिक नवप्रवर्तनसँग आबद्ध गरौं । यसरी नै हो, दिगो उत्थानशीलता बढाउने । यसरी नै हो, पृथ्वीको सम्मान गर्ने र यसरी नै हो, हाम्रो साझा भविष्य जोगाउने ।
हिमालहरूले हामीलाई प्रेरणा दिन्छन्, अलग रहने भनेर होइन, अझै माथि उठ्न सकिन्छ भनेर हो । तिनीहरूले दृष्टिकोण दिन्छन् । तिनीहरूले हामीलाई आफूभन्दा बाहिर पनि सोच्न सिकाउँछन् । त्यही भावनाअनुरूप, हाम्रो संवाद पनि उचाइमा पुग्नुपर्छ, संकीर्ण स्वार्थहरूभन्दा माथि । साझा उच्च उद्देश्यतर्फ ।
आउनुहोस्, हामी हातेमालो गरौं । साहस र संवेदनाका साथ अगाडि बढौं । न्यायपूर्ण भविष्यका लागि । दिगो पृथ्वीका लागि । हामीलाई चाहिन्छ, नवीन संकल्प । साहसी विचार । नयाँ लगानी र क्षेत्रीय र विश्वव्यापी स्तरमा गहन सहकार्य ।
हरित, उत्थानशील र दिगो भविष्य रोजाइ मात्र होइन । अघि बढ्ने एकमात्र बाटो हो । सगरमाथा संवाद हाम्रो विनम्र अर्पण हो । सुन्नेगुन्ने, बोल्ने र बुझ्ने वैश्विक मञ्च । विश्वास निर्माण गर्ने एक साझा थलो ।
सोचको यस्तो संसार जहाँ प्रकृतिसँगको सामञ्जस्यता र मानिसहरूबीचको समानता दूरको सपना होइन, जीवित यथार्थ बनोस् । आउनुहोस्, हामी आरोहण गरौं, उत्थानशीलताको चुचुरोतिर, न्यायको शिखरतिर र साझा आशामा निर्माण भएको भविष्यतिर ।
हामी तपाईंहरूको विद्धताको अपेक्षा गर्छौं । यस संवादभरि, तपाईंहरूका आवाजको तपाईंहरूको दृष्टिकोणको । नेपालमा तपाईंहरूको समय आनन्ददायक र प्रेरणादायी रहोस् । यस सगरमाथाको भूमिमा । यस बुद्धको भूमिमा ।
(सगरमाथा संवादको उद्घाटन सत्रमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत मन्तव्य)
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal