• Menu

सगरमाथा संवादलाई प्रभावकारी बनाउन सांसदद्वारा सरकारलाई सुझाव

नेपाल प्रफिट

२०८२ जेठ १, १४:५१

सगरमाथा संवादलाई प्रभावकारी बनाउन सांसदद्वारा सरकारलाई सुझाव

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले शुक्रबारदेखि काठमाडौंमा सुरु हुने सगरमाथा संवादलाई प्रभावकारी बनाउन सरकारलाई सुझावसँगै शुभकामना व्यक्त गरेका छन् ।

बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरूले सगरमाथा संवादलाई जलवायुजन्य विपद्बाट नेपालले बेहोरिरहेको हानीनोक्सानीका बारेमा वकालत गर्ने महत्त्वपूर्ण अवसर भएको भन्दै यसलाई गम्भीरतापूर्वक सदुपयोग गर्न जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ईश्वरी घर्तीले सगरमाथा संवाद जलवायुवित्त उपलब्ध गराउने विषयमा वकालत गर्ने अवसर भएको भन्दै यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन् ।

‘कार्बन उत्सर्जनको विश्व गणनामा नेपालको नगन्य योगदान करिब शून्य दशमलव शून्य तीन प्रतिशत भए पनि हामीले नखाएको विषको असर भोगिरहेका छौँ,’ उनले भनिन्, ‘सगरमाथा संवादमा पर्वतीय राष्ट्रहरूले जलवायुजन्य विपद्बाट बेहोरिरहेका हानीनोक्सानीका बारेमा अन्तरराष्ट्रिय समुदायलाई बुझाउँदै जलवायु न्यायका लागि विकसित देशसँग जलवायुवित्त उपलब्ध गराउने विषयमा वकालत गर्न महत्त्वपूर्ण अवसर भएकाले गम्भीरतापूर्वक सदुपयोग गर्नुपर्छ ।’

आमजनता पार्टीका सांसद प्रभु साहले सगरमाथा संवादमा अन्य देशका उच्चस्तरीय व्यक्तित्वको सहभागिता हुनुपर्नेमा त्यासो भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले उक्त संवादलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए। ‘विगत ६ वर्षदेखि गम्भीरताका साथ तयारी गरिएको यस कार्यक्रममा अन्य देशका उच्चस्तरीय व्यक्तित्वको उपस्थिति नहुँदा हाम्रो देशको विश्वासनियतामा प्रश्न उठेको छ हैन ?, सांसद साहले प्रश्न गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले संविधान संशोधनमा सरकारको तयारीबारे जिज्ञासा राखे । ‘संविधान संशोधनको विषय सरकार बनेका दिनदेखि उठेको हो । अहिलेसम्म संविधान कुन विषयमा कुन धारामा संशोधन गर्ने केही टुङ्गो छैन,’ उनले भने, ‘सरकारले सबैसँग छलफल र समन्वय गरी आवश्यकता र समयसापेक्ष रूपमा सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र अभ्यासले यस बैंकको गरिमा क्षयिकरण गरेको गुनासो गरे । ‘राष्ट्र बैंक जस्तो गरिमामय संस्थामा नेतृत्वका लागि गर्भनर नियुक्तिमा जुन किसिमको लज्जास्पद अभ्यास र ऐतिहासिक भूल गरिँदैछ । भोलिका दिनमा बैंकको गरिमा क्षति हुने निश्चित छ,’ उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् बिना लामाले धादिङ जिल्लाको सडक, पुल निर्माणलगायत समग्र विकासमा सदनमार्फत सरकारको ध्यानार्कषण गराइन् । उनले रुवी भ्यालीको खनिज संरक्षण, उत्खनन, प्रशोधनका विषयमा नीति नियम बनाउनुपर्नेमा जोड दिइन् ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले पटकपटक एउटै व्यक्ति प्रधानमन्त्री हुने व्यवस्थालाई सुधार गर्दै एक व्यक्ति दुई कार्यकालसम्म मात्र प्रधानमन्त्री बन्नेगरी संविधान संशोधनमार्फत संवैधानिक व्यवस्था गर्न माग गरे ।

नेपाली कांग्रेसका सांसद रञ्जुकुमारी झाले सप्तरीको राजविराज नगरपालिकाको ७० बिघा जग्गामा बसोबास गर्दै आएका नागरिकले २००९ सालदेखि लालपूर्जा नपाएकातर्फ सभामुखमार्फत सरकारको ध्यानार्कषण गराइन् ।

विशेष समयमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले मधेस प्रदेशमा पर्याप्त बजेट वितरण नभएको बताइन् । मधेस प्रदेशका स्थानीय तहबाट पटकपटक बजेट प्राप्त नभएको गुनासो आउने गरेको भन्दै उनले आगामी बजेटमा मधेस प्रदेशमा पर्याप्त बजेट वितरण गर्न माग गरे ।

नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले टीकापुर विमानस्थलको स्तरोन्नतिका लागि ध्यानार्कषण गराइन् । उनले यस विमानस्थललाई ठूलो व्यावसायिक जहाज उडान गर्न सक्नेगरी निर्माण र विस्तारको माग गरिन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजनीतिक दलहरूको गठबन्धनको अभ्यासबारे टिप्पणी गरे । ‘विचार मिल्ने एक ठाउँमा रहनु स्वभाविक हो । अहिले नेपाली कांग्रेस र एमालेबीच विचार मिलेर संयुक्त सरकार गठन भएको हो वा निर्दलीय व्यवस्थाको पुनःस्थापना हो ?,’ उनले प्रश्न गरे ।

नेपाली कांग्रेसका सांसद सीता मिजारले कैदीबन्दी मृत्युको कारण स्पष्ट पार्नुपर्ने माग गरिन् । उनले जिल्ला कारागार मोरङको थुनामा रहेका दुई जना कैदीबन्दीको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न माग गरिन् । बञ्चरे डाँडामा फोहर व्यवस्थापनका लागि स्थानीय बासिन्दासँग सरकारको सहमति कार्यान्वयन गर्न समेत उनले ध्यानार्कषण गराइन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ईश्वरबहादुर रिजालले जनतालाई भ्रम सिर्जना गर्ने काम जनप्रतिनिधिबाट हुन नहुने भन्दै गलत सन्देश दिने किसिमका अभिव्यक्ति नदिन सबैलाई आग्रह गरे । उनले अराजतकता लोकतन्त्रका लागि चुनौती भएकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्