एजेन्सी । चीन र युरोपेली संघ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका बीच सहकार्यलाई सुदृढ तुल्याउन आह्वान गरेका छन् ।
चीनका लागि इयू प्रतिनिधिमण्डलले आयोजना गरेको ’प्रोत्साहन सन्तुलन, प्रतिबद्धता कायम गर्ने, जिम्मेवारी ग्रहण गर्ने’ शीर्षकको बेइजिङ आयोजित उक्त सम्मेलनमा दुवै पक्षका करिब ५०० प्रतिनिधि सहभागी भएका थिए ।
फ्रान्सका पूर्वप्रधानमन्त्री तथा इयूका पूर्व आयुक्त मिचेल बार्नियरले आर्थिक स्थिरता, विश्वव्यापी स्वतन्त्र र निष्पक्ष व्यापारका साथै जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीका विषयमा इयू र चीनले मिलेर काम गर्नुपर्ने बताए । उनले जनस्तरको आदानप्रदानलाई प्रगाढ सम्बन्धको जगका रुपमा लिएको बताए ।
चीनको विदेश मन्त्रालयका युरोपेली मामिलाका महानिर्देशक ली जियानले विगत ५० वर्षमा चीन र इयूबीचको सम्बन्ध थप परिपक्व र लचिलो भएको बताए ।
‘जबसम्म दुवै पक्षले एकअर्कालाई सम्मान गर्छन्, समान परामर्शमा संलग्न हुन्छन् र एकअर्काका जायज चासोलाई सम्बोधन गर्छन्, तबसम्म हामी निश्चित रूपमा कठिनाइहरू पार गर्नेछौं र मतभेदहरू समाधान गर्नेछौँ,’ लीले भने ।
सिन्ह्वासँग कुरा गर्दै चीनका लागि युरोपेली संघका राजदूत जर्ज टोलेडो अल्बिनानाले इयू र चीनबीचको सम्बन्ध विश्वकै सबैभन्दा महत्वपूर्ण सम्बन्धका रुपमा विकसित भएको बताए ।
जलवायु परिवर्तनसँग जुध्न, जैविक विविधता र वातावरण संरक्षणमा युरोपेली संघ र चीन असल साझेदार रहेको उल्लेख गर्दै उनले अब विश्व व्यापार संगठनको ढाँचाभित्र रहेर दुवै पक्षले बहुपक्षीयताको रक्षा गर्ने अवसर पाएको उल्लेख गरे ।
‘बेइजिङ फरेन स्टडिज युनिभर्सिटी’को ‘सेन्टर फर द युरोपियन युनियन एन्ड रिजनल डेभलपमेन्ट स्टडिज’का निर्देशक कुइ होङजियानले भने, ‘चीन र इयू दुवैले आफ्ना प्रतिबद्धतालाई कायम राख्न आवश्यक छ र आफ्ना मतभेदलाई अझ बढी तर्कसङ्गत दृष्टिकोण अपनाउनु पर्दछ र अर्थतन्त्र, राजनीति, संस्कृति र रणनीति गरी चार प्रमुख आयाममा सहयोगलाई प्रगाढ बनाउनुपर्छ ।’
पचास वर्षअघि सन् १९७५ मा चीन र युरोपेली आर्थिक समुदायले कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए, जुन आधुनिक अन्तर्राष्ट्रिय कूटनीतिको महत्वपूर्ण क्षण थियो ।