काभ्रे । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेको रोशी गाउँपालिका–१२ माम्तीमा डाइभर्सन बगाएपछि अवरुद्ध भएको बिपी राजमार्ग १६ घण्टापछि खुलेको हो ।
सडक खुलेसँगै आज मंगलबार दिउँसोदेखि यातायातका सम्पूर्ण साधन दुईतर्फी चल्न थालेको प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । रोशी खोलामा बाढी आएपछि सोमबार रातीदेखि सडक अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय भक्तपुरको पहलमा प्रहरी र स्थानीयको सहयोगमा अवरुद्ध सडक खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले बताए । यसअघि गत वर्ष असोज १० देखि १२ सम्म रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको विभिन्न ठाउँमा क्षति पुगेको थियो ।
त्यसपछि सडक डिभिजन कार्यालयले खोलाको किनारै किनार भएर अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरेको थियो ।