नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैंडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । आज सोमबार आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा उनले संस्कृति, विकास र साझेदारीको नमुनाको रुपमा मौलाकाली केवलकार विकास भएको बताए । उनले संस्कृतिको संरक्षण, धार्मिक पर्यटनको विकासमा र रोजगारी सृजनामा निजी क्षेत्र, सरकार र स्थानीय निकायको साझेदारीको उत्कृष्ट नमुनाको रुपमा मौलाकाली केवलकार तथा यो पर्यटन पूर्वाधार रहेको धारणा राखे ।
मन्त्री पाण्डेले यस मोडललाई मुलुकका विभिन्न स्थानमा बन्ने अन्य पर्यटकीय संरचनाले अनुसरण गर्नुपर्ने बताए । उनले संस्कृति, पर्यटन तथा हवाई नीति छिट्टै परिमार्जन गर्ने र यो क्षेत्रको विकासमा देखिएका नीतिगत समस्या सम्बोधन हुने विश्वास व्यक्त गरे ।
समुद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा मौलाकाली केवलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई ग्रुपले मुलुकमा पर्यटन पूर्वाधारको विकासमा लगानी गरिरहेको र उपयुक्त वातावरण पाए थप लगानी गर्ने प्रतिबद्धता जनाए ।
“उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो । निजी क्षेत्रको यो आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहहरुले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।
गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले गैंडाकोटमा ठूलाठूला पर्यटन पूर्वाधार बनेकोमा खुसी व्यक्त गर्दै निजी क्षेत्रलाई लगानी प्रोत्साहन गर्न आफूहरु तयार रहेको बताए ।
त्यस्तै गैंडाकोट नगरपालिकाका पूर्वप्रमुख छत्रराज पौडेलले पर्यटन पूर्वाधारको विकासले स्थानीय स्तरमा आर्थिक गतिविधि बढेको उल्लेख गर्दै यस्ता थप पूर्वाधार विकासमा राज्य तथा निजी क्षेत्रको ध्यानाकर्षण गराए ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले केबलकारको निर्माणपछि मन्दिरमा आउने दर्शनार्थीको संख्या बढेको बताए । होटलको सञ्चालनसँगै मन्दिरमा आउने तीर्थालु तथा भक्तजनहरुको संख्या थप बढ्ने अपेक्षा गरे ।
मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको यस होटलमा स्विट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र जिमलगायत विभिन्न सुविधा उपलब्ध छन् ।
केबलकारसहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा, तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।
आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ ।
हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् ।
लुम्बिनी केबलकारको टप स्टेसन वसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।
त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन् । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रियामा छ ।