काठमाडौं । विदेशी विनिमय सञ्चिति १७ अर्ब ६३ करोड डलर नाघेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको आयातका आधारमा यति रकम १७ महिना ३ दिनको वस्तु र र १४ महिना ६ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ ।
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले बढेर २०८१ चैत मसान्तमा २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई २१ खर्ब ३६ अर्ब ४६ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ चैत मसान्तमा ५०.८ प्रतिशतले वद्धि भई २ खर्ब ९० अर्ब ३८ करोड कायम भएको छ । २०८१ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत छ ।
२०८१ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.७ प्रतिशत, ११८.७ प्रतिशत र ३२.८ प्रतिशत छन् । २०८१ असार मसान्तमा ती अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थिए ।