• Menu

बालक्यान्सर उपचारमा नमुना बन्ने लक्ष्यसहित आईसीयू सहितको सघन एकाइ सञ्चालन

नेपाल प्रफिट

२०८२ वैशाख २८, १३:४९

बालक्यान्सर उपचारमा नमुना बन्ने लक्ष्यसहित आईसीयू सहितको सघन एकाइ सञ्चालन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमुना बनाउँदै विदेश उपचार गर्न जानेको संख्या घटाउने लक्ष्यसहित बालचिकित्सा सघन एकाइ सुरुआत गरिएको बताएका छन् ।

भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरपीडित बालबालिकाको विशेष उपचारका लागि बालचिकित्सा सघन एकाइको आइतबार उद्घाटन गर्दै उनले भारतलगायत विदेशमा उपचारका लागि जानेको संख्या घटाउन अस्पतालका सुविधा विस्तार गर्दै लगिएको बताए । उनले स्वदेशमा सहज सेवा पाउने वातावरण तयार गरिने प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले यसअघि बाल क्यान्सर उपचार निःशुल्क कार्यान्वयन गर्ने निर्णय गरेपछि वैशाखभरि सघन एकाइ सञ्चालनको तयारी गरिएको थियो । सोही निर्णय कार्यान्वयन गर्दै बालबालिकाको उपचारका लागि बालचिकित्सा सघन एकाइको सुरुआत गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री पौडेलले बाल क्यान्सर उपचार निःशुल्क गराउँदा राज्यलाई थप भार नपर्ने गरी आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको जनाउँदै सकेसम्म थप दायित्व नपर्ने गरी विभिन्न किसिमका उपचार सेवा सुधार र विस्तार गर्दै जाने उल्लेख गरे ।

‘हामीसँग आर्थिक अभाव छ, यसलाई मध्यनजर गर्दै अधिकतम स्रोतको उपयोग गरेर नागरिकलाई सहज र सर्वसुलभ सेवा प्रदान गरिरहेका छौँ,’ उनले भने ।

आफूले गरेको पहिलो निर्णय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत रहेको जनाउँदै स्वास्थ्यमन्त्रीले क्यान्सर उपचारलाई सहज, पहुँचयोग्य र सुलभ बनाउन यथासम्भव काम गरिने बताए । आगामी आर्थिक वर्षमा क्यान्सर नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने उनले जानकारी दिए ।

एकाइमा बालबालिकाका लागि आइसीयुका चार, दिवा हेरचाह चार र साधारण शय्या सात रहेका अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए । अस्पतालमा सेवा विस्तार तथा स्तरोन्नतिका लागि मन्त्री पौडेलले प्राथमिकता दिएर योजना अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्