• Menu

नेपाल-चीन व्यापार र लगानी अभिवृद्धिका विषयमा छलफल, चिनियाँ व्यवसायीलाई विश्वस्त पार्दै महासंघ

नेपाल प्रफिट

२०८२ वैशाख २६, शुक्रबार २१:२४

नेपाल-चीन व्यापार र लगानी अभिवृद्धिका विषयमा छलफल, चिनियाँ व्यवसायीलाई विश्वस्त पार्दै महासंघ

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा प्रशस्त सम्भावना रहेकाले लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा महासंघको नेतृत्वले नेपालको पर्यटन, जलविद्युत, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारी साधन जस्ता क्षेत्रमा प्रशस्त सम्भावना रहेको जानकारी दिँदै लगानीको लागि आग्रह गरेको हो ।

नेपालस्थित चिनियाँ तथा बंगलादेशी दूतावासका प्रतिनिधि तथा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन नेपाल आएका दुवै देशका प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न आग्रह गरे ।

‘चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, ऊर्जा कृषि तथा आईटी जस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ । ती क्षेत्रमा लगानी गर्न म यहाँहरुलाई आग्रह गर्छु,’ उनले भने ।

अध्यक्ष ढकालले नेपालमा लगानीका लागि थुप्रै नीतिगत सुधार भएको र लगानी गर्न चाहने व्यवसायीका लागि सहजीकरण गर्न महासंघ पनि तयार रहेको जानकारी गराए । उनले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चीनको निरन्तर सहभागिताका लागि आभार व्यक्त गर्दै मेला केवल वस्तु तथा सेवाको खरिद बिक्रीको स्थल नभएर आपसी सहकार्य र व्यापार प्रवर्धनको उपर्युक्त माध्यम भएको धारणा राखे ।

यसैबीच, नेपाल-चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानीका सम्भावनाका बारेमा महासंघमा चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको छ । छलफलका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल-चीन सम्बन्धले व्यापार, लगानी र सहकार्यका लागि ठूलो सम्भावना बोकेको चर्चा गर्दै नेपाली उत्पादनको बजार पहुँच र निर्यात तथा सीमापार व्यापारमा चीनको सहयोग आवश्यक रहेको बताए ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको चाइना ट्रेड ब्युरोका महानिर्देशक लिउ डायन समले नेपालका विभिन्न क्षेत्रमा चिनियाँ लगानी भइरहेको र अन्य क्षेत्रमा समेत लगानी गर्न तथा दुई देशबीचको व्यापार सम्बन्धलाई थप राम्रो बाउन आफूहरु सधैँ तयार रहेको जानकारी गराए । दुई देशबीचको सीमापार व्यापारलाई सहज बनाउन र नेपालको पर्यटन प्रवर्धनका लागि थप सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एन्ड कमर्स सेक्सनका सेकेन्ड सेक्रेटरी लि चाउले नेपालको व्यवसाय प्रवर्धन तथा चिनियाँ सहयोगका लागि दूतावास सधैं सकारात्मक रहेको बताए ।

छलफलका क्रममा महासंघका उपाध्यक्ष हेमराज शर्माले नेपालको उद्योग तथा व्यवसाय प्रवर्धनमा चिनियाँ प्रविधि, पुँजी र अनुभवले महत्वपूर्ण योगदान दिने बताए । यस्तै अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रमा सहकार्य र लगानीका लागि आग्रह गरिन् ।

महासंघका केन्द्रीय सदस्य एवं व्यापार मेला समितिका सभापनि उमेश डालमियाले चीनमा आयोजना हुने मेलामा नेपाली व्यवसायीको सहभगिता, थप सहयोग एवं सहकार्यका लागि चिनियाँ पक्षलाई आग्रह गरे ।

वैशाख २५ देखि सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागि हुन यतिबेला चिनियाँ र बंगलादेशी व्यवसायीको समूह नेपालमा रहेको छ । मेलाको शुक्रबार करिब ५ हजार दर्शकले अवलोकन गरेको मेला सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्