काठमाडौं । पानी पर्न थालेकाले डेङ्गी संक्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी संक्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन् । उनले भने, ‘पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेङ्गी संक्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।’
पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी रोग लाग्ने गर्दछ ।
शाखा प्रमुख डा. दाहालले गत वर्ष धेरै डेङ्गी संक्रमण भएका ३५ स्थानीय तहमा संक्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए । उनका अनुसार पुस १७ यता ९६८ जनामा संक्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेङ्गी संक्रमण फैलिँदा ४१ हजार ८६५ संक्रमित र १५ जनाको मृत्यु भएको थियो ।