काठमाडौं । नेपाली सेनाका सहायक रथीसमेतको मिलेमतोमा सैनिक कल्याणकारी कोषबाट सवा २ करोड रकम अपचलन भएको पाइएको छ । सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्कीसहितको मिलेमतोमा सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गतको आवास तथा बिमा शाखाबाट २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ अपचलन भएको हो ।
अपचलनमा संलग्न रहेको आरोपमा अवकाशप्राप्त जमदार आत्मराम थापामाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका थापाले सोधपुछका क्रममा सहायक रथी खड्का र सेनानी कार्कीको नाम लिएका थिए । अर्का आरोपी अवकाशप्राप्त प्रमुख सेनानी लक्ष्मण अधिकारी भने फरार छन् ।
रकम अपचलनको आशंकापछि २०८१ चैत ३१ मा सैनिक प्रहरी गण जंगीअड्डाले जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंलाई पत्राचार गरी अनुसन्धान गर्न आग्रह गरेको थियो । परिसरले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले आपराधिक विश्वासघातको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २५२ को कसुरमा थापा र अधिकारीविरुद्ध मुद्दा दायर भएको प्रहरीले जनाएको छ । मुद्दामा ठगीबराबरको रकम २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ बिगो र क्षतिपूर्ति तथा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गरिएको छ ।
खड्का र कार्कीसहित यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरुमाथि सेनाले आन्तरिक छानबिन गरिरहेको बुझिएको छ । कोषको रकम अपचलन २०७४ देखि नै भए पनि सात वर्षपछि मात्र सेनाले थाहा पाएको हो ।