• Menu

दार्चुला-टिंकर सडकमा नेपाली सेनाले दुईतिरबाट थाल्यो काम, बजेट अभावमा निर्माण सुस्त

नेपाल प्रफिट

२०८२ वैशाख २६, शुक्रबार १०:२४

दार्चुला-टिंकर सडकमा नेपाली सेनाले दुईतिरबाट थाल्यो काम, बजेट अभावमा निर्माण सुस्त

दार्चुला । महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला-टिंकर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो ।

सेनाले व्यास गाउँपालिका-१ को छाङरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास गाउँपालिका-३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो ।

दार्चुला-टिंकर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ । व्यास गाउँपालिका-३ तुसारपानीदेखि निर्माणको जिम्मा पाएको सेनाले हालसम्म १५.२ किलोमिटर ट्रयाक खोलेको छ ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार २०८०/८१ मा १३.४ किलोमिटर सडकको ट्रयाक खोलिएकामा दुई किलोमिटर स्तरोन्नति भइसकेको छ । चालु आर्थिक वर्षमा १.८ किलोमिटर ट्रयाक खोलिएको तथा १.२ किलोमिटर स्तरोन्नति भएको छ ।

बजेट अभावका कारण द्रुत गतिमा काम हुन सकेको छैन । चालु आवमा नौ करोड मात्र प्राप्त भएको थियो । बजेट अभावमा निर्माण बन्द हुने अवस्था आएपछि सरकारले थप पाँच करोड व्यवस्था गरेको उनले जानकारी दिए ।

पछिल्लोपटक प्राप्त बजेटबाट व्यास गाउँपालिका-१ छाङरुमा क्याम्प निर्माण, स्काभेटर, कम्प्रेसर मेसिन जिलेटिनलगायत अत्यावश्यक उपकरण र अन्य निर्माण सामग्री ढुवानीमा सेना जुटेको छ ।

नेपाली सेनाले कडा चट्टानी भाग रहेको तुसारपानी नजिक फतङगाडमा २०० मिटर ट्रयाक खोलेको छ । व्यास गाउँपालिका-२ आतुङ्ती क्षेत्रमा ५०० मिटर र तम्बाकु क्षेत्रमा ५०० मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिएको छ ।

अझै तल्लो क्षेत्रमा यो वर्ष तम्बाकु क्षेत्र जोड्ने गरी २०० मिटर ट्याक खुलाउने काम भइरहेको सैनिक प्रवक्ताले जानकारी दिए । ‘दुवैतर्फबाट सडक जोड्ने गरी निर्माण भइरहेको छ,’ केसीका अनुसार, ‘छाङरुबाट यो वर्ष दुई किलोमिटर ट्रयाक खुल्छ । माथिल्लो क्षेत्रमा कडा चट्टान नभएका कारण ट्रयाक खोल्न तुलनात्मक रूपमा सहज हुन्छ ।’

व्यास गाउँपालिका-३ तुसारपानीदेखि वडा नम्बर २ को माल, कोठधार, सगनाडी, दुम्लिङ, कल्जु र तम्बाकु क्षेत्रमा सडक निर्माण कार्य भइरहेको बताइएको छ । सेनाले सडक निर्माणको जिम्मा लिएको सडकखण्डको शून्य विन्दुदेखि पाँच किलोमिटर सडकमा माघ अन्तिम सातादेखि सवारी साधन सञ्चालन भएका छन् । यो सडकअन्तर्गत तुसारपानीदेखि मालगाउँसम्म गाडीमा यात्रा गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७७/७८ देखि सडक निर्माण थालेको सेनाले हालसम्म १५ किलोमिटर मात्र ट्रयाक खोलेको छ । बजेट अभावकै कारण पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा नभएको निर्माणमा संलग्न एक इन्जिनियरले बताए ।

उपकरण ढुवानी नहुन्जेल व्यास गाउँपालिका-२ बाट मजदुर परिचालन गरेर खन्न थालिएको छ । तीन-चार दिनदेखि स्थानीय र सेनाले बाटो खनिरहेका छन् ।

व्यास गाउँपालिका-१ का टिंकरका सदस्य हितेश बुढाथोकी सेनाले ढिलै भए पनि दुवैतर्फबाट काम थालेकोमा खुसी व्यक्त गरे । पर्याप्त बजेटको व्यवस्था हुनुपर्नेमा उनको जोड छ । वडा अध्यक्ष अशोकसिंह बोहराको पनि यही माग छ । फागुनमा प्राप्त पाँच करोड अपर्याप्त भएको उनले बताए । प्राथमिकताका साथ पर्याप्त बजेट विनियोजन गरेर यो सडक बनाउनुपर्ने उनले बताए ।

यसैबीच, वैशाख २२ गते पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तुसारपानी-टिंकर सडकका निम्ति कम्तीमा ५० करोड बजेट विनियोजन हुनुपर्ने माग गरेको छ । भारतले लिपुलेक-कालापानी सडकलाई दुई लेन बनाइरहेका बेला हाम्रातर्फ ट्रयाक खुलाउन बजेटको सुनिश्चितता हुनुपर्नेमा जोड दिइएको नेता ठगुन्नाले बताए ।

प्रतिक्रिया दिनुहोस्