काठमाडौं । संघीय संसद्मा आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले नीति तथा कार्यक्रमका बारेमा मिश्रित प्रतिक्रिया जनाएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा केही सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका योजनालाई समर्थन गरेका छन् भने केहीले यसमा थप गृहकार्यको आवश्यकता रहेको धारणा राखेका छन् ।
नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले विगतमा घोषणा हुने, लागू गर्न नसकिने नीति तथा कार्यक्रम आउनेमा आगामी वर्षको नीति तथा कार्यक्रम पूरा गर्न सकिने किसिमका आएको बताए । उनले भने, ‘स्टार्टअप र जेनजीको विषय कार्यान्वयनमा लैजान आवश्यक छ । राजश्व उठिरहेको छैन । राजश्व उठाउनका निम्ति कर नीति, आर्थिक तथा वाणिज्य कानुनलाई पनि व्यवस्थापन गर्नुपर्ने जरुरी देखिन्छ ।’
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद मनबहादुर गुरुङले नीति तथा कार्यक्रम वस्तुनिष्ठ र समय सान्दर्भिक भएको बताए । ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारलाई नीति तथा कार्यक्रमले जोड दिएको छ । अर्थतन्त्रलाई गतिशील बनाउन खोजेको छ । विकास र सुशासन कायम गर्नेमा सबैजना अघि बढ्नुपर्ने विषय समावेश छ,’ उनले भने ।
उनले उद्यमशीलता विकास गर्ने भनिए पनि यसबारे ठोस कार्यक्रम भने नसमेटिएको बताउँदै विदेश पलायन रोक्ने र देशमा रोजगारीको अवसर सिर्जना गर्ने विषय कार्यक्रममा बढी जोड दिनुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले पुरानै दस्तावेजको निरन्तरतालाई यो नीति तथा कार्यक्रमले पछ्याएको बताए । उनले भने, ‘ठूलो अपेक्षा र तामझामकासाथ नीति तथा कार्यक्रम ल्याइन्छ तर अन्त्यमा परिणाम शून्य हुन्छ । रुग्ण उद्योग सञ्चालन गर्ने भनिन्छ तर घोषणामा सीमित हुन्छ । भ्रष्टाचार शून्य सहनशीलता अपनाउने भनिन्छ तर ठूलो भ्रष्टाचारको विषय सेलाउँदै जान्छ । सुन्नमा नयाँपन तथा देखाउने दाँत मात्र बनेको छ यो नीति तथा कार्यक्रम ।’
उनले चलचित्र उद्योग रचनात्मक तथा रोजगारी सिर्जना गर्न सक्ने र कला, संस्कृति पर्यटनको सम्भावनाको महत्त्वपूर्ण आधार भएकाले आगामी बजेटमा यस क्षेत्रलाई सम्बोधन गर्न सुझाव दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले नीति तथा कार्यक्रमले नवप्रवर्धनका कार्यक्रम समेट्न नसकेको धारणा व्यक्त गरिन् । ‘आशालाग्दो योजना आएको देखिएन । देशको अर्थतन्त्र खस्किँदो अवस्थामा छ, यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न सक्लता त ?देशमा व्याप्त बेरोजगारी अन्त्य गर्ने योजना देखिएन । स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न र युवा पलायन रोक्न खोइ त योजना ?,’ उनले प्रश्न गरिन् ।