• Menu

भारतीय स्वामी कैलाशानन्द महाराजद्वारा चन्द्रागिरिस्थित भालेश्वर महादेवको दर्शन

नेपाल प्रफिट

२०८२ वैशाख २५, १५:२८

भारतीय स्वामी कैलाशानन्द महाराजद्वारा चन्द्रागिरिस्थित भालेश्वर महादेवको दर्शन

काठमाडौं । भारतको प्रसिद्ध निरञ्जन अखाडाका परमपूज्य स्वामी कैलाशानन्द महाराजले चन्द्रागिरिस्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका छन् । नेपालका विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने क्रममा स्वामी कैलाशानन्द महाराजले चन्द्रागिरिस्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरका हुन् ।

दर्शनलगत्तै उनले भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति प्राप्त भएको धारणा राखे । काठमाडौंमा रहँदा चन्द्रागिरि रिसोर्टमा बसेका स्वामी कैलाशानन्दले पर्यटकका लागि चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भन्दै प्रशंसा गरे ।

स्वामी कैलाशानन्दसहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न पाउनु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।

भ्रमणका क्रममा स्वामी कैलाशानन्दले मनमोहक दृश्य, शान्त वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेकाले यहाँको वातावरण, संस्कृति र प्राकृतिक सुन्दरताले सबैलाई लोभ्याउने उल्लेख गरे ।

नेपाल भ्रमणका क्रममा स्वामी कैलाशानन्दले लुम्बिनी केबलकारमा यात्रा गरी वसन्तपुर पुगेर कामाख्या देवीको मन्दिर दर्शन तथा रसुवाको गोसाइकुण्ड र काठमाडौंमा दक्षिणकाली मन्दिरमा समेत पूजा आराधना गरेका थिए ।

नेपालका विभिन्न धार्मिक स्थलमा भएको स्वामी कैलाशानन्दको भ्रमणले नेपालको धार्मिक तथा अध्यात्मिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्