जुम्ला । गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि विद्युतविहीन भएका छन् । यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा समस्या भएको स्थानीय परेक ऐडीले जानकारी दिए ।
फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ तर मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ । बिजुली अभावले बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी-पिसानी मिल र स्थानीय फर्निचर उद्योगलगायतमा असर परेको स्थानीय गणेश ऐडीले बताए ।
आयोजनाका अध्यक्ष जितेन्द्र लामाका अनुसार आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको हो । गुठीचौर गाउँपालिका–१ का अध्यक्ष अर्जुनकुमार महताराले भने मर्मतका लागि स्थानीय सरकारले तीन लाख विनियोजन गरेको र आवश्यक परे थप बजेट व्यवस्थापन गरिने बताएका छन् । अब चाँडै विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम हुने उनले जानकारी गराए ।