• Menu

पर्यटन विकासमा चीनले देखाएको बाटो, हामीले कहिले सिक्ने ?

नेपाल प्रफिट

२०८२ वैशाख २४, बुधबार १५:४७

पर्यटन विकासमा चीनले देखाएको बाटो, हामीले कहिले सिक्ने ?

चीनको दक्षिण-पश्चिमी छोङछिङ सहरको युजोङ जिल्लामा होङयान क्रान्तिकारी स्मारक संग्रहालय छ । आधुनिक चीनका राष्ट्रपिताको रुपमा चिनिने माओत्सेतुङ आएर बसेको र दोस्रो विश्वयुद्धताका जापानसँगको युद्धको समयमा यसलाई गोप्यरुपमा चिनियाँ कम्युनिस्ट पार्टीको दक्षिण ब्युरो कार्यालयको रुपमा सञ्चालन गरिएको थियो ।

सन् १९४५ मा माओत्सेतुङ यो गाउँमा आइपुगेका थिए र ४३ दिनसम्म होङयान गाउँमा बसेका थिए । उनी त्यहाँ कुओमिन्ताङसँग शान्ति वार्ताका लागि बसेका थिए । जंगलको बीचमा रहेको यो कार्यालय अहिले पनि सुरक्षित छ । उनको बसोबास र कार्यस्थल अहिले संग्रहालयको रूपमा संरक्षित गरिएको छ, जसले सो समयको ऐतिहासिक महत्व दर्शाउँछ ।

यो ऐतिहासिक स्थललाई चिनियाँ सरकारले संग्राहालयको रुपमा सजाएको छ । संग्रहालयको दोस्रो तलामा माओत्सेतुङ र झोउएनलाइका पूर्व कार्यकक्षहरू अवस्थित छन् । त्यसैगरी, भियतनामी नेता होची मिन्हको पनि कार्यकक्ष त्यहीँ छ, जसले यो स्थललाई अन्तर्राष्ट्रिय क्रान्तिकारी गतिविधिको केन्द्र बनाएको छ । तत्कालीन समयमा माओ हिँडेको बाटो पनि सुरक्षित राखिएको छ ।

पुरानो पार्टी कार्यालयनजिक सन् १९९९ मा चारतले क्रान्तिकारी संग्रहालय तयार गरिएको छ । यसमा जापान विरोधी युद्ध र मुक्ति युद्धसँग सम्बन्धित पुराना अवशेष, दस्तावेज र तस्बिरहरु संगृहीत गरिएका छन् ।

माओत्सेतुङ र चिनियाँ क्रान्तिसँग सम्बन्धित ऐतिहासिक संग्रहालय र स्थल अवलोकनका लागि दैनिक हजारौं चिनियाँ र विदेशीहरु यहाँ पुग्छन् । यहाँ पर्यटकलाई भ्रमण गराउन र यहाँको अवस्थाका बारेमा जानकारी दिन दैनिक सयौं पथप्रदर्शक तयारी अवस्थामा हुन्छन् ।

यो संग्रहालयको अवलोकन गर्ने हामीलाई पनि अवसर मिल्यो । १० दिने चीन भ्रमणमा संयोगले नेपालमा माओत्सेतुङकै अनुयायीहरु नेकपा माओवादी केन्द्रका सचिव दीनानाथ शर्माको नेतृत्वमा माओवादी नेताहरु नै थिए । माओत्सेतुङकै नक्कल गरेर नेपालमा पनि १० वर्षे जनयुद्ध गरेको पार्टीका नेताहरु नै हाम्रो टोलीमा थिए । त्यही टोलीमा हामी तीन पत्रकारहरु फ्रेन्डसिप अन द क्लाउड नामक संस्थामार्फत छोङछिङ भ्रमणको अवसर पायौं ।

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा पुगेको यो टोलीलाई बाइगोङ्गुवान जेल र जाजिदोङ ऐतिहासिक जेलको पनि भ्रमण गराइयो । यी जेलमा तत्कालीन समयमा सुरुङ खनेर कैदी भागेको, कोइला खानीलाई जेलमा परिणत गरेको, तत्कालीन अवस्थामा जेलमा भएका कोठा, त्यहाँका सामग्री र दस्तावेजहरु सजाइएको छ ।

संग्रहालयमा तत्कालीन योद्धा र सहिदहरुका तस्बिर र प्रतिमाहरु सजाइएको छ । यसले इतिहासप्रतिको सम्मान पनि गरेको छ । यी संग्रहालयमा तत्कालीन अवस्थाका पत्रपत्रिका, रेडियो, खबर आदनप्रदानको चिठी र दस्तावेजहरु व्यवस्थित रुपमा सजाइएका छन् । विगतमा भएका क्रान्तिका बेलाका दुःख सास्ती बुझ्न र इतिहास अध्ययन गर्नेहरुका लागि यी स्थान महत्वपूर्ण पाठशाला भएका छन् ।

यी तीनवटै ऐतिहासिक स्थलको अवलोकन गर्दा नेपालमा पनि राजनीतिक परिवर्तनका घटनाहरुसँग मिल्दाजुल्दा छन् । आधुनिक समाजवादी चीन जुन अवस्थामा छ, त्यसको जग माओत्सेतुङको नेतृत्वमा भएको चिनियाँ कम्युनिस्ट पार्टीले गरेको जनवादी क्रान्तिपछिको राजनीतिक परिवर्तन नै हो ।

नेपालमा पनि १०४ बर्से राणा शासनको अन्त्यका लागि तत्कालीन नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालअघि भएका क्रान्ति होउन् वा २०१७ सालदेखि २०४६ सालका बीचमा तत्कालीन नेपाली कांग्रेस र नेकपा मालेको नेतृत्वमा भएको आन्दोलन र त्यसपछि प्राप्त बहुलदीय प्रजातन्त्रको अवस्था होस्, ती सबै हाम्रा इतिहास हु्न् ।

नेकपा माओवादीले २०५२ सालदेखि २०६२ सालसम्म गरेको जनयुद्ध पछिल्लो राजनीतिक परिवर्तनको अवस्था हो । यी ऐतिहासिक स्थल भ्रमण गर्दै गर्दा हामीले एकआपसमा हाम्रै समीक्षा पनि गर्‍यौं । हामीले १० बर्से जनयुद्ध सम्झियौं ।

भूमिगत कालमा बैठक बसेका रोल्पा र रुकुमका घरहरु, सुरुङ खनेर भागेका जेलहरु, सुरुङ युद्ध गर्ने भनेर खनेका बंकरहरु र दोहोरो भिडन्तमा छियाछिया परेका घरहरु देशभर धेरै छन् । त्यसबेलाका दस्तावेजहरु हामीसँग कति सुरक्षित छन् ? स्थानीय सरकार र प्रदेश सरकार बनेपछि युद्ध पर्यटनका लागि भनेर खर्च पनि गरेका छन् । तर, धेरै ठाउँमा सिमेन्टका आकृतिहरु मात्रै बनेका छन्, हाम्रो इतिहास जोगाउन सक्यौं कि सकेनौं ? हामीले धेरै छलफल गर्‍यौं ।

माओवादीले गरेको सशस्त्र जनयुद्धका बेला रुकुम, रोल्पा, सल्यान, जाजरकोट, कालिकोट, डोल्पा, दाङ अतिप्रभावित क्षेत्रहरु हुन् । यसबाहेक पूर्व र पश्चिमका ग्रामीण क्षेत्रहरु माओवादी प्रभावित क्षेत्र हुन् । जहाँ सडक, सूचना, सञ्चारसहितका आधारभूत सुविधा नपुगेका ठाउँहरु थिए । राज्य र विद्रोही पक्ष दुवैको चेपुवामा प्रभावित क्षेत्रका बासिन्दाले सबैभन्दा बढी दुःख भोगे ।

जनयुद्ध सकिएको दुई दशक बित्न लाग्यो । सडक, सञ्चार, विद्युतलगायतका विकासका पूर्वाधार त बने तर त्यसबेला सशस्त्र विद्रोहको अवशेषलाई चिनियाँहरुकै शैलीमा संगृहीत गरेर राख्न सकेका छैनौं ।

सान्सी प्रान्तको साङछवाङ सहरनजिकै सिनाओ पहाडमा दोस्रो विश्वयुद्धमा जापानी सेनाविरुद्ध लडेका युद्धको सम्झानामा संग्रहालय निर्माण गरिएको छ । त्यहाँ पनि युद्धका बेला प्रयोग भएका हतियार, सञ्चार उपकरण, योद्धाहरुको भूमिका, दस्तावेज र युद्धमा प्रयोग भएका विभिन्न सामग्री संगृहीत गरिएको छ । यो संग्रहालय विश्वको उत्कृष्ट ऐतिहासिक संग्रहालयमध्येमा पर्छ । यो संग्रहालयमा श्रव्यदृश्य सामग्रीको रुपमा पनि जापानसँगको युद्धसँग सम्बन्धित सामग्री राखिएको छ ।

सान्सीको ताइङ सहरमा यस्तै राष्ट्रियस्तरको यो प्रान्तकै सबैभन्दा ठूलो सान्सी संग्रहालय छ । यसमा ५ हजार किसिमका परम्परागत वस्तु राखिएका छन् । सान्सीमा मात्रै यस्ता धेरै संग्रहालय छन् । चीनमा भएका यी संग्रहालय उदाहरण मात्रै हुन् ।

उनीहरुले हरेक प्रान्तमा क्रान्ति र इतिहास झल्कने पुराना सामग्री राखेर संग्रहालय बनाएका छन् । यसलाई हरेक पथप्रदर्शकले राम्रोसँग जानकारी दिन्छन् । हरेक सामग्रीको जानकारी लिन र अध्ययन गर्न आधुनिक सूचना प्रविधिसँग जोडेर राखिएको छ । यस्ता हरेक संग्रहालय र ऐतिहासिक क्षेत्रमा बिहानदेखि साँझसम्म लाखौं पर्यटक ओहोरदोहोर गरिरहेका हुन्छन् ।

चिनियाँहरू विकासमा मात्र अब्बल होइन, इतिहासको संरक्षणमा पनि त्यत्तिकै अगाडि छन् । चीनको प्रत्येक प्रान्तमा ठूला-ठूला संग्रहालय छन् । ती संग्रहालयमा सयौँ वर्षअघिका सामग्री, सभ्यता, कला र संस्कृतिलाई बडो जतनसाथ संरक्षण गरिएका छन् ।

बेइजिङमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को एउटा संग्रहालय भ्रमणका क्रममा हामीले देख्यौँ, त्यहाँ जनवादी गणतन्त्र चीन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हरेक पात्रलाई जीवन्त ढंगले संरक्षित गरिएको छ । नेताहरूको हस्तलिपि, उनीहरूले प्रयोग गर्ने सामग्री, दस्तावेज र तस्बिर सबै कुरा संरक्षित छन् ।

चीनले आफ्नो मुलुकमा भएका लोपोन्मुख जाति र उनीहरुको धर्म संस्कृति, भाषा संरक्षण गरेर पनि उनीहरुको उत्थानमा पर्यटनलाई जोडेको छ । हुवेई, हुनान, छोङछिङ, गोन्जाओलगायतका क्षेत्रमा रहेका तुजिया जातिका बस्तीमा सडक, बिजुली जस्ता पूर्वाधार विकास गरेर पर्यटन र आर्थिक विकासमा जोडिएको छ । यसले हरेक जातजातिका परम्परागत भेषभूषा, संस्कृति र खानपानलाई पर्यटनसँग जोडेपछि उनीहरुको आर्थिक विकास र रोजगारी सिर्जना भएको छ । यी बस्तीमा लाखौं पर्यटक पुग्ने गरेका छन् ।

चिनियाँहरुले पछिल्लो चार दशकमा गरेको पूर्वाधार विकास र आर्थिक क्रान्ति विश्वकै नमुना हो । जब सन् १९७८ मा देङ स्याओपिङले खुला अर्थनीति अख्तियार गरे त्यसपछि त्यसपछि चीन तीव्र आर्थिक विकासमा लाग्यो । उनले सामाजिकवादका साथ चिनियाँ विशेषता भएको बजार अर्थव्यवस्था भन्ने विचार अघि सारे ।

उनले चीनको अर्थतन्त्रलाई बजारमुखी बनाउने र विदेशी लगानीका लागि ढोका खोल्ने नीति लागू गरे । कृषि क्षेत्रमा ग्रामीण उत्तरदायित्व प्रणाली लागू गरेर कृषिमा निजी उत्पादन बढाउने, विदेशी लगानीलाई प्रोत्साहन दिने, विशेष आर्थिक क्षेत्र खोल्ने तथा उद्योग र व्यापारमा निजीकरण र उदारीकरण बढाउने नीति अघि सारे ।

यी सुधारहरूकै कारण चीनले विश्वकै तीव्र आर्थिक वृद्धि गर्ने मुलुकको रूपमा आफ्नो स्थान बनायो र केही वर्षको अवधिमा अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सफल भयो ।

सन् २०१२ डिसेम्बरमा सि चिनफिङ राष्ट्रपति भए । त्यसपछि आधुनिक समाजवादी चीन बनाउन ८ नियम लागू गरेर काम गरिएका छन् । उनले गरिबीविरुद्धको आन्दोलन सुरु गरी गरिबमुक्त चीन बनाउने अभियान सुरु गरे । कृषि विकास, पर्यटन प्रवर्धन र औद्योगिक विकासलाई मुख्य केन्द्रमा राखेर चीनले काम गरिरहेको छ ।

यातायात सञ्जाल, ऊर्जाको विकास, औद्योगिक क्रान्ति जस्ता भौतिक विकासको पनि चीनले पर्यटन प्रवर्धनको सामग्रीको रुपमा प्रस्तुत गरेको छ । दुई हजार वर्ष लगाएको ग्रेटवाल होस् वा आधुनिक विकासलाई देखाउन चीनले राम्रो प्रचारप्रसार गर्दै आएको छ ।

विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनमा आन्तरिक पर्यटन प्रवर्धन र बाह्य मुलुकका पर्यटकका लागि आकर्षक रुपमा प्रस्तुत गर्न हरेक क्षेत्रलाई पर्यटनमैत्री बनाएको छ । चीनले औद्योगिक विकास, यातायात क्षेत्रमा क्रन्ति नै हुने गरी विकास र सहरीकरण जरी गरेको छ वातावरण संरक्षणमा पनि उत्तिकै संवेदनशील भएको देखिन्छ ।

छोङछिङ याङ्सी नदीको किनासमा अवस्थित छ । तर, यही नदीमाथि बनेका हरेक पुल पर्यटनमैत्री फरक-फरक आकृतिका छन् । सहरको बीचमा सफा नदीले सहरी सुन्दरता थपेको छ । सान्सीमा रहेको पहेँलो नदीलाई ठाउँ-ठाउँमा बाँध बनाएर नदीमा पानी जमाएको छ । सडक आसपासमा बगैंचा सजावट र रुख रोपेर वातावरण संरक्षणमा आफूलाई उत्तिकै संवेदनशील भएको प्रमाणित गर्न खोजेको देखिन्छ ।

मैले सम्झिएँ, नेपालमा पनि राजनीतिक परिर्वतनका लागि नेपाली कांग्रेस, नेकपा एमाले (तत्कालीन नेकपा माले) र नेकपा माओवादी केन्द्र (तत्कालीन माओवादी) जस्ता राजनीतिक दलहरूको ठूलो सर्मपण छ । सरकारले यी राजनीतिक दलहरूको समर्पणका इतिहास संरक्षण गर्न एउटा संग्रहालय बनाउन सक्दैन होला ? कि, यी राजनीतिक दलहरूसँग त्यस्ता समर्पणका कुनै दस्तावेज नै छैन ?

हाम्रो छिमेकी मुलुक चीनले पर्यटन क्षेत्रमा गरेको कामलाई अनुसरण गर्ने हो भने पनि चीनमा जस्तै हाम्रा थुप्रै राजनीतिक र सांस्कृतिक क्रान्तिसँगका इतिहास छन्, त्यसलाई अब जीवन्त बनाउन सकिन्छ । हाम्रा प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, धार्मिक क्षेत्र र विभिन्न जातजातिका धर्म, संस्कृति, रीतिरिवाजहरु छन् । त्यसलाई हामीले सम्पत्तिको रुपमा बर्सेनि दुई ठूला छिमेकी मुलुकका पर्यटकलाई मात्रै लक्षित गरेर काम गर्ने हो भने पनि हाम्रो आर्थिक विकासका लागि महत्वपूर्ण योगदान पुग्न सक्छ ।

(दिलबहादुर केसी दोलखाबाट पत्रकारिता गर्छन् ।)

Email: [email protected]

प्रतिक्रिया दिनुहोस्