• Menu

लहानमा ओभरपास निर्माण सुरु, पश्चिम खण्डमा ६२ प्रतिशत काम सम्पन्न

नेपाल प्रफिट

२०८२ वैशाख २४, बुधबार ११:२९

लहानमा ओभरपास निर्माण सुरु, पश्चिम खण्डमा ६२ प्रतिशत काम सम्पन्न

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे-२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो ।

सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६.८३ किलोमिटर लम्बाइमध्ये पश्चिम (सिरहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर खण्डाको ६२ प्रतिशत काम पूरा भएको छ । लहान चोकमा रहेको सहिद स्मारक हटाएसँगै  ‘ओभरपास’ निर्माण थालिएको हो ।

कञ्चनपुर-कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा)का सूचना अधिकारी सरोज कोइरालाका अनुसार अन्तरराष्ट्रिय मापदण्ड अनुसारका ३२ मिटर चौडा दुई ओभरपास निर्माण हुने छन् । मिर्चैयाको चोकमा पनि ‘ओभरपास’ निर्माण प्रारम्भ भएको छ । यो सडक खण्डमा ५ वटा ‘अण्डरपास’ निर्माण हुने छन् । लहानमा अण्डरपास पनि धमाधम बन्दैछन् ।

आयोजनाको कुल लागत १५ अर्ब ६६ करोड ४४ हजार ९८३ छ । पूर्वीखण्ड सप्तरीको कञ्चनपुरबाट कुशहा सम्मको ३९ किलोमिटर स्तरोन्नति गर्न  सात अर्ब २७ करोडमा ठेक्का लागेको छ  । यस खण्डमा करिब ६० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्