मकवानपुर । राक्सिराङ गाउँपालिका–९ अठारेको भित्री सडकखण्डमा यात्रुबाहक सवारीसाधन दुर्घटना हुँदा ९ जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर छ ।
मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बुधबार बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा ५० वर्षका सूर्य अधिकारी र १४ वर्षका कुमार तामाङ, राक्सिराङ गाउँपालिका–९ निवासी २८ वर्षका सुजन तामाङलाई भने सामान्य चोट लागेको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।