काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले झापाको दमकमा रहेको भ्युटावर सान पनि भएको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले झापाको भ्युटावर सान पनि भएको बताएका हुन् ।
उनले सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न प्रमुख प्रतिपक्षी दल एवं माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिए ।
अध्यक्ष प्रचण्डले सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा सरकार अप्राकृतिक रहेको बताएका थिए । त्यसक्रममा प्रचण्डले व्यक्त गरेको विचारको आलोचना गर्दै एमाले सचिव एवं सांसद भट्टराईले सिसाको घरभित्र बसेर ढुंगा हान्ने काम नगर्न आग्रह गरेका हुन् ।
‘विपक्षी दलको नेताले पटक-पटक सार्वजनिक भाषण र यहाँ पनि भन्नुहुन्छ- यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, विचौलिया । उहाँलाई मेरो यति मात्रै भनाइ छ- सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्ने मुर्खता नहोस्,’ योगेशले भनेका छन् ।