• Menu

विपद् पूर्वतयारीका निम्ति जुट्नुपर्नेमा जोड

नेपाल प्रफिट

२०८२ वैशाख २३, १३:५३

विपद् पूर्वतयारीका निम्ति जुट्नुपर्नेमा जोड

काठमाडौं । राष्ट्रियसभाको मंगलबारको बैठकमा सभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

साथै उनीहरुले वर्षायाम प्रारम्भ हुनुअगावै विपद् व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी गरिसक्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले विपद् पूर्वतयारी र प्रतिकार्य, निर्माणाधीन र स्तरोन्नतिको चरणमा रहेका राजमार्गको यथाशीघ्र निर्माणसम्पन्न, मौलिक हकको कार्यान्वयनलगायत बारेमा सरकारको ध्यानकृष्ट गरे ।

सांसद इन्दिरादेवी गौतमले प्राकृतिक विपद्बाट घरबारविहीन भएका नागरिकलाई आउँदो मनसुन अगावै उचित बासस्थानको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् ।

निर्माणाधीन र स्तरोन्नतिका चरणमा रहेका राजमार्गमा वर्षा कारण यात्रु र सवारी साधन प्रभावित हुने अवस्था रहेको भन्दै उनले त्यस्ता सडकको निर्माण चाँडो सम्पन्न गर्न र बैकल्पिक मार्गको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद गोपीबहादुर सार्की अछामीले बिपी राजमार्गअन्तर्गतको भकुण्डेबेँसी-नेपालथोक खण्ड वर्षा याममा यातायात ठप्प हुने अवस्था रहेको जनाउँदै उक्त खण्डको निर्माणमा तीव्रता दिन सरकारलाई सुझाव दिए ।

सांसद सुमित्रा बिसीले वर्षायाम नजिकिएसँगै प्राकृतिक प्रकोपको डरले नागरिक त्रसित भइरहेको जनाउँदै विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन माग गरिन् ।

सांसद गङ्गाकुमारी बेल्बासेले राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरिन् ।

सांसद जगप्रसाद शर्माले अपाङ्गता भएका व्यक्तिका लागि खेलकुद योजना ल्याउन माग गर्दै राष्ट्रिय पाराओलम्पिक रंगशाला निर्माण गर्न सरकारलाई सुझाव दिइन् ।

सांसद तारामान स्वाँरले दार्चुलाको महाकाली नगरपालिका-४ र ५ अन्तर्गत महाकाली नदी किनारमा रहेको नेपाली भूमि अतिक्रमण गरी भारतले तटबन्ध निर्माण गरिरहेको जानकारी दिँदै त्यसलाई रोक्न सरकारले के पहल गरिरहेको छ भनी सरकारको जवाफ माग गरे ।

सांसद तुलसाकुमारी दाहालले बाल सुधारगृहमा रहेका बालबालिका असुरक्षित बन्दै गएका जनाउँदै त्यस्ता सुधारगृहको नियमित अनुगमनको माग गरिन् ।

सांसद मायाप्रसाद शर्माले वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्सको दुबई पुगेका जाजरकोटको नलगाढ नगरपालिका-२ डाँडागाउँका रामबहादुर सुनार मृत फेला परेको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद शारदादेवी भट्टले कैलालीको गेटा मेडिकल कलेजबारे नीति तथा कार्यक्रम कहीँकतै उल्लेख नभएको गुनासो गरिन् ।

सांसद शेखरकुमार सिंहले तराई मधेशमा जनता आवास कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारकालाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्