भोजपुर । धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
धनकुटा नगरपालिका-६ औद्योगिक ग्राम नजिक सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको हो । घटनामा परी सख्त घाइते धनकुटा नगरपालिका-६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने चालक सुनसरीको धरान उपमहानगरपालिका-१३ का ५१ वर्षीय रुद्र तामाङको पनि सोमबार बेलुका मृत्यु भएको थियो ।
उपचारकै क्रममा रहेका भोजपुर षडानन्द नगरपालिका-१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको मंगलबार बिहान मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहान ४ बजे श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अन्य घाइतेमध्ये दुई जनाको धनकुटा, एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकी घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बस दुर्घटनामा परी १४ जना घाइते भएका थिए । जसमा गम्भीर घाइतेमध्ये तीन जनाको मृत्यु भइसकेको छ ।
बस दुर्घटनामा घाइते हुनेमा षडानन्द नगरपालिका-१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका-२ का कृष्ण राउत, भोजपुर पौवादुङमा गाउँपालिका-३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका-११ का सविना बराइली, सोही ठाउँका देवी विक, धनकुटा साँगुरीगढी गापा-६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका-११ की पूर्णमाया तामाङ, धनकुटा साँगुरीगढी गाउँपालिका-६ की दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा-६ का धनकुमार बिक रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।