• Menu

जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : ऊर्जामन्त्री खड्का

नेपाल प्रफिट

२०८२ वैशाख २१, १७:१४

जनताले सधैँ अनुभूति गर्नेगरी काम गर्नुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताले सधैँ अनुभूति गर्नेगरी विकास, निर्माणसम्बन्धी काम गर्नुपर्ने बताएका छन् । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको स्वागतमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले राजनीतिकर्मीले जनताप्रति थुप्रै वाचा गरेकाले जनताले सम्झनेगरी काम गर्नुपर्नेमा जोड दिए ।

’हामी राजनीतिकर्मीले निर्वाचनका बेला जनतासँग थुप्रै प्रतिबद्धता गरेर आएका हुन्छौँ, थुप्रै लक्ष्य लिएका हुन्छौँ, लक्ष्य प्राप्तिका लागि आआफ्नो क्षेत्रबाट लाग्नुपर्छ, राजनीतिकर्मी जनताप्रति प्रत्यक्ष उत्तरदायी भएर काम गर्नुपर्छ,’ मन्त्री खड्काले भने । सधैँका लागि आफ्नो कार्यकाल नहुने भएकाले आफू नेतृत्वमा रहँदा जनताले प्रत्यक्ष अनुभूति हुने खालका काम गर्नुपर्ने उनको भनाइ छ ।

मन्त्री खड्काले सीमित स्रोतसाधनकाबीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरूमा रहेकाले यसमा राज्यमन्त्रीको साथ र सहयोग हुने विश्वास व्यक्त गरे । उनले तीनै तहका सरकारसँग समन्वय गरेर दायित्वलाई जिम्मेवारपूर्वक निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

मन्त्री खड्काले व्यावहारिक ज्ञान, अनुशासित, मर्यादित, जिम्मेवार व्यक्तित्वका रूपमा आफूले राज्यमन्त्रीलाई लिएको बताउँदै आफूले सिकेको, देखेको, भोगेका कुरा र अनुभवलाई राष्ट्र निर्वाहमा लगाउनुपर्ने बताए ।

उनले सहकार्य, पारदर्शिता र जवाफदेहिताका आधारमा मन्त्रालयको कार्यसम्पादनलाई परिणाममुखी बनाउने उल्लेख गर्दै एकआपसमा मानसम्मन, संस्कार र संस्कृति जोगाएर अगाडि बढेमात्र सफल भइने धारणा राखे ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाले आफू देश र जनताका लागि काम गर्ने व्यक्ति भएकाले कर्मचारीको साथ लिएर देश र मन्त्रीलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य र जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले मुलुकलाई समृद्ध बनाउने क्षेत्र ऊर्जा र सिँचाइ भएकाले यसको विकासमा लाग्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्