काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा झरेको छ । आइतबार सेयर बजारमा गिरावट देखिएको हो ।
यस दिन कारोबार रकममा भने सामान्य कमी आएको छ । बुधबार ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आइतबार ९ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १३ करोड रुपैयाँले कम हो । आइतबार बजारमा ३२२ वटा धितोपत्रको दुई करोड १९ लाख पाँच हजार ३११ कित्ता सेयर किनबेच भएको छ ।
आइतबार बजारमा ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यस्तै, अपर सोलु हाइड्रोको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ।
विन नेपाल लघुवित्तको मूल्य भने सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ६२१ रुपैयाँ ९० पैसामा झरेको छ। यस्तै, रिभर फल्स पावरको मूल्य ७.५५ प्रतिशतले घटेर प्रतिकित्ता ५९३ रुपैयाँ ०७ पैसा कायम भएको छ ।
कारोबार रकमको आधारमा आइतबार सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ५८३ रुपैयाँ १० पैसामा ६० करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४८ प्रतिशतले बढेको हो । सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ, जसको प्रतिकित्ता ३५९ रुपैयाँमा ५५ करोड १४ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.३० प्रतिशतले घटेको छ।