काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले अफरै-अफरसहितको ‘सिटिजन्स फ्रिल्यान्सर सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । बैंकले १८औं वार्षिकोत्सवको अवसर पारेर वैशाख ७ देखि यो नवीन खाता सञ्चालनमा ल्याएको हो ।
खासगरी स्वतन्त्र पेसाकर्मी (फ्रिल्यान्स)हरूलाई मध्यनजर गरी डिजाइन गरिएको यस अकाउन्टमा नेपाली रुपैयाँसँगै अमेरिकी डलरमा पनि खाता खोल्न सकिने सुविधा उपलब्ध गराइएको बैंकका डिपोजिट मार्केटिङ प्रमुख पारसविक्रम थापाले जानकारी दिए ।
इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)को सन् २०२२ को तथ्यांकले नेपालमा ६६ हजारभन्दा बढी फ्रिल्यान्सरहरु रहेको देखाएको छ । ‘त्यसै तथ्यांकलाई आधार मानेर उनीहरुकै सुविधाका लागि यस प्रकारको खाता डिजाइन गरेका हौं,’ थापाले नेपाल प्रफिटसँग भने, ‘अहिले त त्यो तथ्यांकमा पनि उल्लेख्य वृद्धि भइसकेको हाम्रो अनुमान छ ।’
आईआईडीएसकै तथ्यांकअनुसार सन् २०२२ मा फ्रिल्यान्सरहरुले नेपालमा वार्षिक २ हजारदेखि १५ हजार डलरसम्म भित्र्याइरहेका थिए । सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा कार्यरत फ्रिल्यान्सरहरुले अहिले मासिक १५ हजार डलरसम्म पनि भित्र्याउने गरेको अनौपचारिक तथ्यांकहरु छन् ।
‘सिटिजन्स फ्रिल्यान्सर सेभिङ अकाउन्ट’ अन्तर्गतका नेपाली र अमेरिकी डलर दुवै मुद्रामा खोलिने खातामा प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गरिएको छ । नेपाली रुपैयाँ खातामा ४.५ तथा अमेरिकी डलर खातामा ३.७५ प्रतिशत ब्याजदर प्रदान गरिएको बैंकले जनाएको छ । नेपाली रुपैयाँ खातामा न्यूनतम ब्यालेन्स ५ सय तथा अमेरिकीमा १० डलर हुनुपर्नेछ ।
त्यस्तै अकाउन्ट होल्डरले डलर सटही गर्दा १० पैसाबराबरको थप लाभ प्राप्त गर्नेछन् भने डलर ट्राभल कार्ड र इ-कम कार्ड जारी गर्दा ५० प्रतिशत छुट सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ । त्यस्तै अमेरिकी डलर खातामा रकम प्राप्त गर्दा अतिरिक्त शुल्क पनि नलाग्ने डिपोजिट मार्केटिङ प्रमुख थापाले जानकारी दिए ।
फ्रिल्यान्सर अकाउन्ट होल्डरलाई बैंकले कर तिर्नुपर्ने झन्झटबाट पनि मुक्त गराउनेछ । विदेशबाट प्राप्त गरिने रकममा लाग्ने कर (५ प्रतिशत) बैंकले आफैं तिरिदिने सुविधा दिएको हो । ‘व्यक्तिगत खातामा पैसा प्राप्त हुनासाथ कर रकम घटाएर बाँकी रकम अकाउन्टमा जम्मा गरिदिन्छौं,’ उनले भने, ‘त्यसका लागि अकाउन्ट होल्डरले कुनै झन्झट व्यहोर्नुपर्दैन ।’
अकाउन्ट होल्डरले एक वर्षका लागि २५ हजार रुपैयाँसम्म (अस्पताल भर्ना भएमा)को स्वास्थ्य बिमा तथा ३ लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधा पनि पाउनेछन् । त्यसबाहेक निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ, डेबिट कार्ड, डिम्याट खाता, नि:शुल्क स्टेटमेन्ट, नि:शुल्क चेकबुक जस्ता सेवा सुविधा पनि उपलब्ध गराएको छ ।
बैंकले केही अघि मात्र ‘हेल्थ एन्ड वेल्थ’ र ‘हाम्रो कर्णाली बचत खाता’ पनि सञ्चालनमा ल्याएको छ । त्यस्तै बैंकले सन् २०२२ देखि सञ्चालनमा ल्याएको ‘संरक्षित बचत खाता’को ग्राहक संख्या डेढ लाखभन्दा बढी छ । यो बैंकको सर्वाधिक लोकप्रिय खाता योजना हो ।
त्यस्तै तलब बचत खाताका सेवाग्राही ५० हजारभन्दा धेरै छन् भने रेमिट्यान्स आईपीओ अकाउन्टमा पनि आकर्षण उच्च रहेको थापाले जानकारी दिए । त्यस्तै बैंकले बालबालिकालाई लक्षित गरी मुना बचत खाता पनि सञ्चालनमा ल्याएको छ । बैंकमा निक्षेपकर्ताको संख्या १८ लाख ८५ हजारभन्दा बढी छ भने ऋणी ५० हजार हाराहारी छन् ।
सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालय सञ्चालन गर्दै आएको बैंकले २ सयभन्दा बढी शाखामार्फत वित्तीय सेवा दिँदै आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब २ खर्ब २ अर्ब पुगेको छ भने १ खर्ब ७३ अर्ब कर्जा प्रभाव भएको छ ।
डिजिटल बैंकिङमा पनि सिटिजन्स बैंकले नवीन कार्यहरुको सुरुवात गरेको छ । बैंकले ‘ब्रिक बैंकिङ टु क्लिक बैंकिङ’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ‘ट्याप एन्ड पे’ सेवा सुरु गरिएको छ । एपबाट सेवाग्राहीले अफलाइनमै पाँच हजार रुपैयाँसम्मको भुक्तानी सहज रूपमा गर्न सक्नेछन् ।
नेपालमै पहिलोपटक क्रस बैंक टेलर क्यूआर सेवा सञ्चालनमा ल्याएको सिटिजन्स बैंकले अन्य बैंकका सेवाग्राहीलाई पनि सिटिजन्स बैंकका शाखाबाट क्यूआर स्क्यानमार्फत तुरुन्तै नगद प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।