• Menu

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न, उत्कृष्ट टोलीलाई बैंकसँग सहकार्य गर्ने अवसर

नेपाल प्रफिट

२०८२ वैशाख २१, १२:१०

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न, उत्कृष्ट टोलीलाई बैंकसँग सहकार्य गर्ने अवसर

काठमाडौं । ग्लोबल आइएमई बैंकको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापकसहित विभिन्न संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गरी सम्भावित नवीनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो ।

प्रतियोगितामा २१ टोलीलाई अनलाइन पेपर प्रिजेन्टेसनका लागि छनौट गरिएको थियो । प्रतियोगी टोलीहरु विभिन्न स्थान काठमाडौं, महेन्द्रनगर, पोखरा, वीरगन्ज, काभ्रे र धरानबाट सहभागी भएका थिए ।

सहभागी टोलीहरुमध्ये टिम क्याल्कुलुसले प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप १ लाख जित्न सफल भएको छ । त्यस्तै, दोस्रो हुने टोली डब्लूडीकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौँ हुने क्रमश: टिम जनकपुर र टिम फ्रडेक्सले १५-१५ हजार पुरस्कार प्राप्त गरेका छन् ।  साथै, बेस्ट प्रिजेन्टेसन विधाअन्तर्गत बैंकले डिजिविट्सलाई १५ हजार पुरस्कारबाट पुरस्कृत गरेको छ ।

प्रतियोगिताका विजेता टोलीलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरेका छन् । नेपालमा पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ह्याकाथन सञ्चालन गरेकोमा मिश्रले आयोजक ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिए ।

यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधाहरुमा नवीनतम् प्रविधिको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास नेपाल राष्ट्र बैंकले लिएको उनले बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवा र यसको चुनौतीहरुको समाधानका लागि सहयोग पुग्नुका साथै नवीनतम् सेवाहरुको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट टोलीलाई बैंकले सहकार्य गर्ने अवसरसमेत प्रदान गर्नेछ ।

बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरु प्रवर्धन गर्न प्रतिबद्ध रहेको र डिजिटल बैंकिङ सेवाहरुलाई थप प्रभावकारी बनाउन नवीनतम् धारणाहरुलाई प्रोत्साहित गर्न ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले बैंकले तोकेका विभिन्न विषयमा केन्द्रित रही धारणाहरु प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा सहभागिता हुन विभिन्न टोलीहरुले बैंकको वेबसाइटमार्फत आवेदन दरखास्त गरेका थिए भने प्रतियोगिता दुई चरणमा सञ्चालन भएको थियो । जसअन्तर्गत पहिलो चरणमा कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन भएको हो ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ-संस्थाहरुबाट फरक-फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २२१ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्