• Menu

नीति तथा कार्यक्रम २०८२/८३

राजनीतिक दबाबका, स्रोत सुनिश्चित नभएका र त्रुटिपूर्ण आयोजनाहरू खारेज गर्ने तयारी

नेपाल प्रफिट

२०८२ वैशाख १९, शुक्रबार १६:१२

राजनीतिक दबाबका, स्रोत सुनिश्चित नभएका र त्रुटिपूर्ण आयोजनाहरू खारेज गर्ने तयारी

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार आयोजनाको पुन:प्राथमिकीकरण गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै स्रोत सुनिश्चित नभएका र त्रुटिपूर्ण आयोजनाहरू खारेज गर्ने घोषणा गरेका हुन् ।

‘विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनःप्राथमिकीकरण गरिनेछ,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा सम्पन्न हुनेगरी समय तालिका निर्धारण गर्ने आयोजनाहरू निर्माणाधीन र निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी आवश्यक स्रोत नभएका आयोजनाहरू स्थगन गरिने तथा त्रुटिपूर्ण आयोजनाहरू खारेज गरिनेछ ।’

विकास निर्माणका क्रममा देखापरेका कमी-कमजोरी सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने राष्ट्रपति पौडेलले बताए । विगतमा विभिन्न सरकारले घोषणा गरेका परियोजनालाई वर्गीकरण गरी आगामी आवको अवधि र यस संसदको अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने उनले घोषणा गरे ।

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सचिवालयले वैशाख २२ देखि २८ सम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।

वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्