अन्तर्वार्ता
शरीर सुन्दर बनाउने उपचार पद्धति कस्मेटिक सर्जरीका बारेमा अधिकतर नेपालीले जान्न थालेको धेरै भएको छैन । रिकन्स्ट्रक्टिभको उपचार नेपालमा धेरै पहिलादेखि सुरु भए पनि कस्मेटिकको थिएन । कस्मेटिक सर्जरीबारे थाहा पाएका केही नेपाली थाइल्यान्ड, भारतलगायतका देश जाने र ठूलो खर्च गर्ने गर्थे । त्यही सम्भावित मानवीय आकांक्षालाई परिपूर्ति गर्ने उद्देश्यले वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन डा. सुयोग मैनालीले सन् २०१२ मा अनामनगरमा काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरी (केसीसीएस) स्थापना गरे । क्लिनिक स्थापनापछि मानिसहरु सुन्दर देखिन कति धेरै आतुर रहेछन् भन्ने थाहा भयो । अहिले उनको क्लिनिकमा सुन्दर हुन आउनेहरुको घुइँचो लाग्छ । अनामनगर क्लिनिकमा भीड बढेपछि उनले हालै मात्र बौद्धमा केसीसीएस स्किन हेयर एन्ड लेजर क्लिनिक प्रालि स्थापना गरेका छन् । पाकिस्तानबाट एमबीबीएस तथा चीनको सांघाईस्थित फुतान युनिभर्सिटीबाट एमएस गरेका केसीसीएसका संस्थापक डा. मैनालीसँग नेपाल प्रफिटले गरेको कुराकानी :
प्लास्टिक कस्मेटिक तथा लेजर ट्रिटमेन्ट कस्तो खालको उपचार पद्धति हो ?
प्लास्टिक कस्मेटिक तथा लेजर ट्रिटमेन्टमा दुईवटा पद्धति समेटिएका छन् । कस्मेटिक पनि प्लास्टिककै एउटा भाग हो । प्लास्टिकमा कस्मेटिक र रिकन्स्ट्रक्टिभ गरी दुई थरीको उपचार हुन्छ । रिकन्स्ट्रक्टिभ भन्नाले अंगभंग भएको ठाउँलाई टालेर गरिने उपचार बुझ्नुपर्छ । उदाहरणका लागि ओठ खुँडे भएको ठाउँलाई मिलाउने, आगोले पोलेको ठाउँमा अन्यत्रको छाला लगेर टाँस्नेजस्तो उपचार यसमा पर्छन् । यसलाई अत्यावश्यक स्वास्थ्य उपचारका रुपमा पनि लिने गरिन्छ ।
अर्कोतर्फ, कस्मेटिक भन्नाले आफ्नो अनुहार वा शरीरको कुनै भाग चित्त बुझेन भने त्यसलाई अझ राम्रो बनाउने उपचार पद्धति हो । स्वास्थ्यमा कुनै असर नपरे पनि सुन्दर देखिने प्रयोजनका लागि कस्मेटिक सर्जरी गर्ने, गराउने गरिन्छ । उदाहरणका लागि कपाल नभए पनि स्वास्थ्यमा कुनै असर पर्दैन, अनुहारको खासगरी आँखावरपरको छाला चाउरिँदा, झोलिँदा पनि कुनै फरक पर्दैन तर थप राम्रो देखिनका लागि सर्जरी गरेर त्यसलाई मिलाउने गरिन्छ । समग्रमा सुन्दर देखिन गरिने सर्जरी कस्मेटिक सर्जरी हो ।
तपाईंले नेपालमा कस्मेटिक सर्जरी सुरु गर्नुभएको १३ वर्ष पूरा भइसकेको छ, यसबीचको अनुभव कस्तो रह्यो ?
सन् २०१२ मा अनामनगरमा काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरी (केसीसीएस) सुरु गर्दा मानिसहरुले यति धेरै रुचि राख्लान् जस्तो लागेको थिएन । केही बुझेका, थाहा पाएका मानिस आउलान् भन्ने सोच्थेँ । अहिले विचार गर्दा यो त अधिकभन्दा अधिक मानिसलाई चाहिने उपचार पो रहेछ भन्ने महसुस भइरहेको छ । यो अवधिमा आमसञ्चार माध्यम, सामाजिक सञ्जाललगायतले गर्दा मानिसमा चेतनाको विकास भएको छ, कस्मेटिक सर्जरीको विषयमा वास्तविक जानकारी प्राप्त भएको छ । यसले गर्दा उपचारका लागि आउनेहरुको संख्या पनि निकै ठूलो छ ।
प्लास्टिक सर्जरीको ‘साइड इफेक्ट’ के कस्तो हुन्छ अथवा हुँदैन ?
सर्जरी भन्नासाथ केही न केही कम्प्लिकेसन्स हुने सम्भावना रहन्छ । कहिलेकाहीँ इन्फेक्सन हुने, केही ठूलो दाग बस्ने या सेवाग्राहीले खोजेको जस्तो परिणाम नपाउने जस्ता समस्या यदाकदा आउँछन् । कस्मेटिक सर्जरीमा यस्तो सम्भावना ५-७ प्रतिशत रहन्छ । तर, रिकन्स्ट्रक्टिभमा कुनै समस्या आउँदैन ।
कतिपय मानिस अलि बढी नै अपेक्षा (अनरियालिस्टिक एक्सपेक्टेसन) गरेर आएका हुन्छन् । कस्मेटिक सर्जरीपछि ५० वर्षको मानिस ४० वर्षको जस्तो देखिनु स्वाभाविक हुन्छ तर ५० वर्षको मानिसले २० वर्षको जस्तो देखिन्छु भन्ने मानसिकता बनाएर उपचारमा सहभागी भयो भने त फरक पर्छ । चित्त बुझाउन सकिँदैन ।
उसो भए, तपाईंबाट उपचार लिएका करिब ९५ प्रतिशत मानिस सन्तुष्ट छन् भनेर बुझ्दा हुन्छ ?
हो, हामीबाट उपचार लिएका मानिसहरु धेरै नै सन्तुष्ट हुनुहुन्छ । कतिपयले ‘मेरो अनुहार जादु जस्तै भयो’ भन्नुहुन्छ । कतिपयले ‘मलाई झन्डै श्रीमानले नै चिन्नु भएन’ भन्नुहुन्छ । मंगोलियन टाइपको नाक भएको मानिसलाई हामी फिलर्सहरु हालेर बाहुनको जस्तो चुच्चो बनाइदिन्छौँ । उहाँहरु अनुहार हेरेर छक्क पर्नुहुन्छ । समग्रमा कस्मेटिक सर्जरीले मानिसलाई खासगरी महिला दिदीबहिनीलाई धेरै नै खुसी दिएको छ ।
प्लास्टिक सर्जरी गराएपछि कति अवधिसम्म स्वरुप यथावत् रहन्छ ?
मानिसलाई बूढो हुनबाट कसैले रोक्न सक्दैन । बोटल्स हालेर चाउरीपन हटायो भने चारदेखि ६ महिना काम गर्छ । लेजर विधिबाट अनुहारको छाला टाइट बनायो भने दुईदेखि तीन वर्ष उस्तै रहन्छ । सर्जरी गरेर उपचार गरियो भने १०-१२ वर्षसम्म टिक्छ । कुनै-कुनै उपचार सधैँका लागि हुन्छ । जस्तो कि कपाल प्रत्यारोपण । टाउकाको पछाडिको भागबाट कपाल निकालेर अगाडिको भागमा हालेपछि त्यो जीवनभर रहन्छ ।
उपचारमा महिला र पुरुषको सहभागिता कस्तो छ ?
कस्मेटिक सर्जरीका लागि ६० देखि ७० प्रतिशत हाराहारी महिला र ३० देखि ४० प्रतिशत हाराहारी पुरुष आउँछन् । सुन्दर देखिनका लागि ३० देखि ४५ वर्ष उमेर समूहका मानिस आउँछन् । पुरुषहरु बढीजसो कपाल रोप्न आउनुहुन्छ । अनुहारको चाउरी हटाउन आउने पुरुषको संख्या सानो हुन्छ । अनुहार सुन्दर बनाउन, खासगरी आँखाको वरिपरिको चाउरी हटाउन, आइब्याक हटाउन तथा आँखाको मुन्द्री बनाउन (आइलिड सर्जरी) आउने महिलाको संख्या निकै ठूलो छ ।
बच्चाहरुको हातखुट्टा अथवा अनुहारको रौँ कुन उमेरपछि हटाउन मिल्छ ?
हातखुट्टाको रौँ जुन उमेरमा पनि हटाउन मिल्छ । साइड इफेक्ट गर्दैन । हालै युनाइटेड अरब इमिरेट्समा एकजना मोडलले आफ्नो ८ वर्षकी छोरीको लेजर हेयर रिमुभल गरेको समाचार आएको थियो । तर, हर्मोनहरु स्टेबल हुने १८ वर्ष उमेर पूरा भएपछि गराएको राम्रो हुन्छ । सधैँका लागि हुन्छ । रौँहरु सेतो नभएसम्म हटाउन मिल्छ ।
खर्च कति लाग्छ ?
हातको रौँ हटाउँदा एकपटकको आठ हजार रुपैयाँजति पर्छ । पुरै साइकल अर्थात् सातपटक गर्दा ४०-४५ हजारजति खर्च लाग्छ । अनुहारको पनि यस्तै खर्चमा हुन्छ । खुट्टाको रौँ हटाउँदा त्यसको दोब्बर जति लाग्छ । हामी टाउकोदेखि खुट्टासम्म मानिसलाई सुन्दर बनाउने सबैखालको उपचार गर्छौं ।
अहिले त प्लास्टिक सर्जरी गर्ने क्लिनिकहरु धेरै छन्, केसीसीएस नै चाहिँ किन आउने ?
तपाईंले सही प्रश्न गर्नुभयो । अहिले प्लास्टिक सर्जरीका लागि क्लिनिकहरु धेरै खुलेका छन् । तर, अधिकांश क्लिनिकमा कमसल र कम गुणस्तरका उपकरणहरुको प्रयोग गर्ने गरेको पाइन्छ । त्यसमा रिजल्ट पनि राम्रो आउँदैन र साइड इफेक्ट पनि बढी हुने गर्छ । हामीले चाहिँ प्रमाणित ट्रयाक रेकर्ड भएका अमेरिकन, युरोपियन उपकरणहरु राखेका छौँ । लामो अनुसन्धानबाट प्रमाणित भएका यस्तो मेसिनको प्रयोगबाट उपचार गर्दा रिजल्ट पनि राम्रो आउँछ भने साइड इफेक्ट पनि अत्यन्तै कम हुन्छ । गुणस्तरको हिसाबले उपचार त उपचार नै हो तर मारुती ८०० र फ्रेडारिक भनेजस्तो हुन्छ ।
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal