• Menu

संघीय संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

नेपाल प्रफिट

२०८२ वैशाख १९, शुक्रबार ०९:२०

संघीय संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज शुक्रबार संघीय संसदमा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ ।

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशन ग्रहण गरिसक्न र निर्धारित पोसाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेका छन् ।

यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ ।

यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ ।

संघीय संसद् सचिवालयले वैशाख २२ देखि २८ सम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।

यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि-बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । नेपालको संविधानअनुसार जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्