काठमाडौं । काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरी (केसीसीएस) काठमाडौंको बौद्धमा विस्तार भएको छ । सन् २०१२ मा अनामनगरमा स्थापित भएको केसीसीएसले सेवाग्राहीको आकर्षण बढेसँगै शाखा विस्तार गरेको हो ।
बौद्धस्थित तारागाउँ म्युजियमनजिकै स्थापना गरिएको केसीसीएस स्किन हेयर एन्ड लेजर क्लिनिक प्रालिको बुधबार लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं केसीसीएसका संस्थापक वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन डा. सुयोग मैनालीका बुवा उमेश मैनालीले उद्घाटन गरेका छन् ।
कस्मेटिक सर्जरीबारे थाहा पाएका धेरै नेपालीहरु कस्मेटिक सर्जरीका लागि थाइल्यान्ड, भारतलगायतका देश जाने र ठूलो खर्च गर्ने गरेको पाएपछि १३ वर्षअघि डा. मैनालीले अनामनगरमा केसीसीएस स्थापना गरेका थिए । कस्मेटिक सर्जरीमा हाल मानिसहरुको रुचि धेरै नै बढेपछि शाखा विस्तार गरेको उनले बताए ।
‘प्लास्टिक सर्जरीका लागि बाहिर जानु नपरोस् र नेपालमै सर्वसुलभ ढंगले सुविधा दिन सकियोस् भनेर सुरु गरेको हुँ,’ नेपाल प्रफिटसँग उनले भने, ‘अहिले मध्यम वर्गीय मानिस पनि कस्मेटिक सर्जरी गर्न सक्ने गरी हामीले सेवा दिइरहेका छौँ ।’
नेपालमा रिकन्स्ट्रक्टिभको उपचार भने धेरै पहिलादेखि सुरु भएको हो । केसीसीएसका संस्थापक डा. मैनालीले पाकिस्तानबाट एमबीबीएस तथा चीनको सांघाईस्थित फुतान युनिभर्सिटीबाट एमएस गरेका छन् ।
अन्तर्वार्ता
कसैलाई अनुहारमा जादु गरे जस्तो लाग्छ, कसैलाई श्रीमानले चिन्नुहुन्न : डा. सुयोग मैनाली
प्लास्टिक कस्मेटिक तथा लेजर ट्रिटमेन्ट कस्तो खालको उपचार पद्धति हो ?
प्लास्टिक कस्मेटिक तथा लेजर ट्रिटमेन्टमा दुईवटा पद्धति समेटिएका छन् । कस्मेटिक पनि प्लास्टिककै एउटा भाग हो । प्लास्टिकमा कस्मेटिक र रिकन्स्ट्रक्टिभ गरी दुई थरीको उपचार हुन्छ । रिकन्स्ट्रक्टिभ भन्नाले अंगभंग भएको ठाउँलाई टालेर गरिने उपचार बुझ्नुपर्छ । उदाहरणका लागि ओठ खुँडे भएको ठाउँलाई मिलाउने, आगोले पोलेको ठाउँमा अन्यत्रको छाला लगेर टाँस्नेजस्तो उपचार यसमा पर्छन् । यसलाई अत्यावश्यक स्वास्थ्य उपचारका रुपमा पनि लिने गरिन्छ ।
अर्कोतर्फ, कस्मेटिक भन्नाले आफ्नो अनुहार वा शरीरको कुनै भाग चित्त बुझेन भने त्यसलाई अझ राम्रो बनाउने उपचार पद्धति हो । स्वास्थ्यमा कुनै असर नपरे पनि सुन्दर देखिने प्रयोजनका लागि कस्मेटिक सर्जरी गर्ने, गराउने गरिन्छ । उदाहरणका लागि कपाल नभए पनि स्वास्थ्यमा कुनै असर पर्दैन, अनुहारको खासगरी आँखावरपरको छाला चाउरिँदा, झोलिँदा पनि कुनै फरक पर्दैन तर थप राम्रो देखिनका लागि सर्जरी गरेर त्यसलाई मिलाउने गरिन्छ । समग्रमा सुन्दर देखिन गरिने सर्जरी कस्मेटिक सर्जरी हो ।
तपाईंले नेपालमा कस्मेटिक सर्जरी सुरु गर्नुभएको १३ वर्ष पूरा भइसकेको छ, यसबीचको अनुभव कस्तो रह्यो ?
सन् २०१२ मा अनामनगरमा काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरी (केसीसीएस) सुरु गर्दा मानिसहरुले यति धेरै रुचि राख्लान् जस्तो लागेको थिएन । केही बुझेका, थाहा पाएका मानिस आउलान् भन्ने सोच्थेँ । अहिले विचार गर्दा यो त अधिकभन्दा अधिक मानिसलाई चाहिने उपचार पो रहेछ भन्ने महसुस भइरहेको छ । यो अवधिमा आमसञ्चार माध्यम, सामाजिक सञ्जाललगायतले गर्दा मानिसमा चेतनाको विकास भएको छ, कस्मेटिक सर्जरीको विषयमा वास्तविक जानकारी प्राप्त भएको छ । यसले गर्दा उपचारका लागि आउनेहरुको संख्या पनि निकै ठूलो छ ।
प्लास्टिक सर्जरीको ‘साइड इफेक्ट’ के कस्तो हुन्छ अथवा हुँदैन ?
सर्जरी भन्नासाथ केही न केही कम्प्लिकेसन्स हुने सम्भावना रहन्छ । कहिलेकाहीँ इन्फेक्सन हुने, केही ठूलो दाग बस्ने या सेवाग्राहीले खोजेको जस्तो परिणाम नपाउने जस्ता समस्या यदाकदा आउँछन् । कस्मेटिक सर्जरीमा यस्तो सम्भावना ५-७ प्रतिशत रहन्छ । तर, रिकन्स्ट्रक्टिभमा कुनै समस्या आउँदैन ।
कतिपय मानिस अलि बढी नै अपेक्षा (अनरियालिस्टिक एक्सपेक्टेसन) गरेर आएका हुन्छन् । कस्मेटिक सर्जरीपछि ५० वर्षको मानिस ४० वर्षको जस्तो देखिनु स्वाभाविक हुन्छ तर ५० वर्षको मानिसले २० वर्षको जस्तो देखिन्छु भन्ने मानसिकता बनाएर उपचारमा सहभागी भयो भने त फरक पर्छ । चित्त बुझाउन सकिँदैन ।
उसो भए, तपाईंबाट उपचार लिएका करिब ९५ प्रतिशत मानिस सन्तुष्ट छन् भनेर बुझ्दा हुन्छ ?
हो, हामीबाट उपचार लिएका मानिसहरु धेरै नै सन्तुष्ट हुनुहुन्छ । कतिपयले ‘मेरो अनुहार जादु जस्तै भयो’ भन्नुहुन्छ । कतिपयले ‘मलाई झन्डै श्रीमानले नै चिन्नुभएन’ भन्नुहुन्छ । मंगोलियन टाइपको नाक भएको मानिसलाई हामी फिलर्सहरु हालेर बाहुनको जस्तो चुच्चो बनाइदिन्छौँ । उहाँहरु अनुहार हेरेर छक्क पर्नुहुन्छ । समग्रमा कस्मेटिक सर्जरीले मानिसलाई खासगरी महिला दिदीबहिनीलाई धेरै नै खुसी दिएको छ ।
प्लास्टिक सर्जरी गराएपछि कति अवधिसम्म स्वरुप यथावत् रहन्छ ?
मानिसलाई बूढो हुनबाट कसैले रोक्न सक्दैन । बोटल्स हालेर चाउरीपन हटायो भने चारदेखि ६ महिना काम गर्छ । लेजर विधिबाट अनुहारको छाला टाइट बनायो भने दुईदेखि तीन वर्ष उस्तै रहन्छ । सर्जरी गरेर उपचार गरियो भने १०-१२ वर्षसम्म टिक्छ । कुनै-कुनै उपचार सधैँका लागि हुन्छ । जस्तो कि कपाल प्रत्यारोपण । टाउकाको पछाडिको भागबाट कपाल निकालेर अगाडिको भागमा हालेपछि त्यो जीवनभर रहन्छ ।
उपचारमा महिला र पुरुषको सहभागिता कस्तो छ ?
कस्मेटिक सर्जरीका लागि ६० देखि ७० प्रतिशत हाराहारी महिला र ३० देखि ४० प्रतिशत हाराहारी पुरुष आउँछन् । सुन्दर देखिनका लागि ३० देखि ४५ वर्ष उमेर समूहका मानिस आउँछन् । पुरुषहरु बढीजसो कपाल रोप्न आउनुहुन्छ । अनुहारको चाउरी हटाउन आउने पुरुषको संख्या सानो हुन्छ । अनुहार सुन्दर बनाउन, खासगरी आँखाको वरिपरिको चाउरी हटाउन, आइब्याक हटाउन तथा आँखाको मुन्द्री बनाउन (आइलिड सर्जरी) आउने महिलाको संख्या निकै ठूलो छ ।
बच्चाहरुको हातखुट्टा अथवा अनुहारको रौँ कुन उमेरपछि हटाउन मिल्छ ?
हातखुट्टाको रौँ जुन उमेरमा पनि हटाउन मिल्छ । साइड इफेक्ट गर्दैन । हालै युनाइटेड अरब इमिरेट्समा एकजना मोडलले आफ्नो ८ वर्षकी छोरीको लेजर हेयर रिमुभल गरेको समाचार आएको थियो । तर, हर्मोनहरु स्टेबल हुने १८ वर्ष उमेर पूरा भएपछि गराएको राम्रो हुन्छ । सधैँका लागि हुन्छ । रौँहरु सेतो नभएसम्म हटाउन मिल्छ ।
खर्च कति लाग्छ ?
हातको रौँ हटाउँदा एकपटकको आठ हजार रुपैयाँजति पर्छ । पुरै साइकल अर्थात् सातपटक गर्दा ४०-४५ हजारजति खर्च लाग्छ । अनुहारको पनि यस्तै खर्चमा हुन्छ । खुट्टाको रौँ हटाउँदा त्यसको दोब्बर जति लाग्छ । हामी टाउकोदेखि खुट्टासम्म मानिसलाई सुन्दर बनाउने सबैखालको उपचार गर्छौं ।
अहिले त धेरै ठाउँमा प्लास्टिक सर्जरी हुन थालेको छ, केसीसीएस नै चाहिँ किन आउने ?
तपाईंले सही प्रश्न गर्नुभयो । अहिले प्लास्टिक सर्जरीका लागि क्लिनिकहरु धेरै खुलेका छन् । तर, अधिकांश क्लिनिकमा कमसल र कम गुणस्तरका उपकरणहरुको प्रयोग गर्ने गरेको पाइन्छ । त्यसमा रिजल्ट पनि राम्रो आउँदैन र साइड इफेक्ट पनि बढी हुने गर्छ । हामीले चाहिँ प्रमाणित ट्रयाक रेकर्ड भएका अमेरिकन, युरोपियन उपकरणहरु राखेका छौँ । लामो अनुसन्धानबाट प्रमाणित भएका यस्तो मेसिनको प्रयोगबाट उपचार गर्दा रिजल्ट पनि राम्रो आउँछ भने साइड इफेक्ट पनि अत्यन्तै कम हुन्छ । गुणस्तरको हिसाबले उपचार त उपचार नै हो तर मारुती ८०० र फ्रेडारिक भनेजस्तो हुन्छ ।
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal