• Menu

कृषिबाट गरिबी निवारणमा चिनियाँ मोडेल

नेपाल प्रफिट

२०८२ वैशाख १७, बुधबार २१:०४

कृषिबाट गरिबी निवारणमा चिनियाँ मोडेल

चीनले सन् २०२० मा गरिबी मुक्त गरेको घोषणा गरेको छ । यो विश्वकै लागि ऐतिहासिक सफलता हो । संयुक्त राष्ट्रसंघले पनि चीनले गरिबी निवारणमा ऐतिहासिक सफलता हासिल गरेको उल्लेख गरेको छ ।

सन् २०१२ मा सी चिनफिङ राष्ट्रपति हुँदा चीनको गरिबी दर १०.२ प्रतिशत थियो । अर्थात् ९ करोडभन्दा बढी चिनियाँ निरपेक्ष गरिबीको रेखामुनि थिए । आठ वर्षको अवधिमा चीन त्यति धेरै नागरिकलाई गरिबी मुक्त बनाउन सफल भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले अख्तियार गरेको आठ नियमले गरिबीमुक्त अभियानलाई सार्थकता प्रदान गरेको थियो । चीनले पनि आठ नियमकै कारण यस्तो सफलता मिलेको दाबी गरेको छ । यसलाई राष्ट्रपति सीले गरिबीविरुद्धको क्रान्तिको रुपमा उल्लेख गर्ने गरेका छन् ।

चीनको औद्योगिक र व्यापारिक प्रगतिका बारेमा हामीद्ये धेरै सुन्दै र पढ्दै आएका थियौँ । तर, प्रत्यक्ष अवलोकन गर्ने अवसर मिलेको थिएन । डेढ वर्षअघि चीनको प्रमुख व्यापारिक केन्द्र सांघाई र गोन्जाओ भ्रमण गर्ने गरी अवसर प्राप्त भएको थियो तर हाम्रो आफ्‌नै चाडपर्व लगायतका कारण त्यो अवसर गुम्यो ।

यो वर्ष फेरि अवसर प्राप्त भयो, छोङछिङ र सान्सी प्रान्त भ्रमणको । दुवै प्रान्त नेपाल जस्तै भूपरिवेष्ठित हुन् । दुवै समुद्रभन्दा टाढा भए पनि हाम्रो जस्तै नदीलाई प्रयोग गरेर उनीहरुले समुद्रसँग पहुँच स्थापित गरेका रहेछन् ।

फ्रेन्डसिप अन द क्लाउडबाट हामीलाई चीनको आधुनिक समाजवादी विकासको नजिकबाट अनुभव गर्ने अवसर प्राप्त भएको थियो । हाम्रो टिममा मसँगै पत्रकारहरु रोहन श्रेष्ठ र मनुका कुँवर थियौं । नेकपा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको २० जनाको माओवादी नेताहरुको टिम पनि थियो ।

१० दिने चीन भ्रमणको समयमा अमेरिकाले चिनियाँ सामानमा भन्सार बढाएको र चीनले पनि अमेरिकी सामानमा चर्को भन्सार दर लगाइरहेको थियो । यी दुई मुलुकबीच व्यापारिक युद्ध उत्कर्षमा पुगिरहँदा हामी ४० वर्षअघि खानै नपुग्ने सामान्य बजारबाट अहिले विश्वकै सम्पन्न सहर छोङछिङमा थियौं ।

हुआसी गाउँको राष्ट्रपति सि आएको नमुना घरआँगन, जहाँ आगन्तुको बैठक बसेको थियो । घरमा खुर्सानी र मकै सुकाइएको छ ।

सहर घुम्ने क्रममा यातायात, सोलार ऊर्जा र यातायातमा पनि सडक, सुरुङ, रेल, पानीजहाज, हवाईजहाज, आकर्षक पुलहरु र ठूला–ठूला भवनहरु देख्दा मलाई २५ वर्षअघि गाउँबाट बस चढेर पहिलो पटक काठमाडौं आएको झझल्को आयो । रात्रिकालीन बजार, रेस्टुरेन्ट, अब कार पनि उड्ने आविस्कार गरेको, सफा, व्यवस्थित, सहर र अनुशासित मानिस, सहरी क्षेत्रको विकासमा चीनले अब गर्न केही बाँकी छैन जस्तो हामीलाई लाग्यो ।

चीनले सहरी क्षेत्रमा मात्रै हो कि गाउँमा पनि यस्तै सुविधा छन् भन्ने उत्सुकता हामीलाई थियो । बाहिरकाले सहरमा हेर्ने हुन्, गाउँमा त हाम्रै जस्तो दुःख, गरिबी अझै छ कि भन्ने हामी पनि आन्तरिक छलफल गर्थ्यौं ।

हाम्रो भ्रमणको कार्यक्रमअनुसार नै सबै क्षेत्रको अवलोकन गरेर हामीले छोङछिङले गरेको प्रगति नजिकबाट हेर्‍यौँ । उत्तरी रेल चढेर नेपालकै ग्रामीण क्षेत्र जस्तै भूगोल सिजु जिल्लासम्म पुग्यौं । त्यहाँ जोयङगी गाउँपालिका बैठकमा समेत बसेर कसरी गाउँको सरकार चल्ने रहेछ बुझ्‌ने मौका पायौं ।

गाउँपालिका बैठकमा हामी पर्यवेक्षकको रुपमा सहभागी भयौं । बैठकको एजेन्डा थियो, त्यति ठूलो गाउँपालिकामा दुई परिवार गरिब भए उनीहरुलाई कसरी उद्धार गर्ने भन्ने । हामीलाई त अचम्मै लाग्यो, एउटा परिवारको उत्थानको विषय पालिकाको बैठकको एजेन्डा !

गरिबी निवारणका लागि किसानहरुले गरेको फलफूल र जडिबुटीखेती ।

सिजु तुजिया जातिको स्वायत्त जिल्ला रहेछ । त्यहाँको हुआसी गाउँको नमुना आगान, जहाँ राष्ट्रपति सी ले सन् २०१९ अप्रिल १५ मा टेकेर स्थानीयहरुसँग भलाकुरासी गरेका थिए । हुआसी गाउँ हाम्रो अति दुर्गम गाउँ जस्तै थियो । यसलाई पहिला विपन्नहरुको बस्तीका रुपमा चिनिँदो रहेछ ।

चिनियाँहरुले सी लाई राष्ट्रपतिभन्दा पनि पार्टी महासचिव भन्नै रुचाएको पायौं । उनले गाउँमा पुगेर प्राथमिक स्कुलका बच्चाहरुसँग भेटघाट गरेका छन् । सामान्य विपन्नहरुसँग भेटघाट गरेका छन् । उनीहरुको गुनासो सुनेका छन् । त्यो पनि गाउँमा जस्तो काठका बेञ्च र टेबुल छ त्यसैमा बसेर । हामी पनि त्यहाँ पुगेर तिनै परम्परागत बेन्चमा बस्यौं । सी आएर गाउँलेहरुसँग सामान्य अवस्थामै छलफल, भेटघाट गरेको त्यहाँ राखिएका तस्बिरहरु बोलिरहेका थिए ।

गाउँको भ्रमणका बेला ५७ वर्षीय पेइचिङ र तान तोङझोउको घरमै पुगे । आफ्‌नै घरमा आएर राष्ट्र प्रमुखले नै पारिवारिक अवस्था र दिनचर्याको बारेमा सोधीखोजी गर्दै अब काम गर्नुपर्छ, राज्यले के सहयोग गर्नुपर्छ भनेपछि पेइचिङको जीवनमै परिवर्तन आयो ।

त्यसअघि उनीहरु विगतमा रक्सी खाएर सडकमै ढल्ने र भएको बंगुरसमेत बेचेर रक्सीमै रमाउने गरेका थिए । यतिसम्म कि रक्सीको नसाले बिरामी हुँदासमेत उनलाई परिवारले उपचार खर्च गर्न नसक्ने अवस्था थियो ।

उनीसँग गाउँको गरिबी निवारण, शिक्षा, स्वास्थ्य सेवा र आवास सुधारका विषयमा छलफल गरेका थिए । राष्ट्रपति सीको भ्रमणपछि उनका कान्छा छोरा चेन पेङले राष्ट्रपति सीको ‘सुखी जीवन कडा परिश्रमबाट प्राप्त हुन्छ’ भन्ने भनाइलाई आत्मसात् गर्दै जडीबुटी खेतीमा लागे ।

विशेषगरी उनले सेलवर्ट नामक परम्परागत चिनियाँ औषधीय जडीबुटीको खेती सुरु गरे, जसबाट उनले वार्षिक एक लाख युआनसम्म आम्दानी गर्न थाले । उनको यो सफलता गाउँको गरिबी निवारणमा प्रेरणाको स्रोत बनेको छ ।

आहा ! यस्तो पो देश ! यस्तो पो नेता ! यस्तो पो योजना ! देश यसरी पो बन्छ । हाम्रो भ्रमण टोलीका नेताहरु भन्दै थिए । गरिबी निवारण विकासक्रमको प्रदर्शनी, स्थानान्तरण गरेका गरिबी निवारण केन्द्र पनि भ्रमणका क्रममा हामीले अवलोकन गर्‍यौं, तुजिया जातिको खानपिन र सत्कारमा रमायौं ।

पेनचिङले जडिबुटी र फलफूल खेती गरेका छन् । श्रीमती होमस्टे चलाउँछिन् । सीसँगकै भेटमा सीले रक्सी छोड्न प्रेरित गरे र स्वावलम्बी बन्न हौसला प्रदान गरे । उनको भ्रमणपछि स्थानीय सरकार र गरिबी निवारणसम्बन्धी कार्यक्रमहरू अझ सक्रिय बने ।

अहिले हुवासीमा ५४० परिवारका १ हजार ४६० जनाको बसोबास छ । असाध्यै गरिब गाउँ भनेर चिनिने यो गाउँ अहिले गरिबमुक्त भई सबै व्यवसायी बनेका छन् । तुजिया, हान, मियाओलगायतका पाँच जातिको बसोबास रहेको यहाँ १० हजार घार मौरी पालेर अहिले मह विदेश निर्यात हुन्छ । जडीबुटी, फलफूल खेती, हस्तकलाका सामान र कोही होमस्टेमा लागेका छन् ।

परम्परागत घरहरु उस्तै शैलीमा पुनर्निर्माण भएका छन् । घरहरु पुनर्निर्माणका लागि स्थानीय सरकारले सहयोग गरेको छ । उनीहरुलाई अब घरमा पानी चुहिएला भन्ने कुनै चिन्ता छैन ।

गाउँसम्म पुग्नका लागि हामीले छोङछिङबाट एक घण्टा बसमा डेढ घण्टा एक्सप्रेस रेल, फेरि एक घण्टा बसको यात्रा गर्नुपर्‍यो । सडक र रेल यात्रा पनि गहिरो र खोलामा ठूला–ठूला पुल, पहाडमा सुरुङ हुनाले एकदमै छिटो थियो ।

नाआन, बानान, फुलिङ र फेङदु जिल्लाका धेरै ग्रामीण बस्तीहरु पनि रेल र बसको यात्रामा दृश्यावलोकन गर्न पायौं । ग्रामीण बस्ती भए पनि हरेक बस्तीमा पक्की सडक, घर आँगनमै कारहरु र आधुनिक खेती प्रणाली देखियो ।

यी गाउँ देख्दै हुआसी गाउँ पुगियो । यात्राकै क्रममा सान्सी प्रान्तको लिउजाबो, हाइयुङ गाउँ पनि पुग्यौं । यी दुई प्रान्तका नमुनाका रुपमा यी गाउँको भ्रमण स्थानीयको बसोबास हेर्दा गरिबी निवारणमा चीनले उल्लेख्य भूमिका खेलेको अनुभूति गर्न पायौं ।

चीनमा कृषिमार्फत गरिबी निवारण सफलताको सूत्र

गरिबी निवारणमा चीनले कृषि क्षेत्रलाई नै मुख्य प्राथमिकता दिएको देखिन्छ । ‘सन् १९७८ सम्म ८० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थिए,’ सिजु तुजिया स्वायत्त काउन्टीका प्रमुख झाङवाङले भने, ‘४० वर्षको कडा मेहनतबाट हामीले गरिबीमुक्त गर्न सफल भयौं ।’

देङ साओ पिङ राष्ट्रपति भएपछि खुला अर्थनीति लागू गरे तब विदेशी लगानी भित्रियो अनि उत्पादन र रोजगारी बढेपछि गरिबी घट्दै गएको हो ।

दुर्गम गाउँसम्म व्यवस्थित सडक, विद्युत, सिँचाइ, इन्टरनेट जस्ता पूर्वाधार पुर्‍याए । हरेक घरघरमा पुगेर तथ्यांक संकलन गरेर एक घर एक योजना छनौट गरी कार्यान्वयन गरे । ग्रामीण बस्तीमा च्याउ खेती, माछापालन, चिया उत्पादन, जडिबुटी खेती र ग्रामीण पर्यटनजस्ता कार्यक्रमले वैकल्पिक आयका स्रोत सिर्जना गरे ।

किसानलाई तालिम, उन्नत बीउ राज्यले उपलब्ध गरायो भने कृषिलाई परम्परागतबाट आधुनिक रुपमा रुपान्तरण गर्दै लग्यो । उत्पादित वस्तुको बजारीकरणमा पनि राज्यले जिम्मा लिएको महासचिव साङले बताए । हरेक गाउँपालिकामा उत्पादन विभाग नै छ ।

हाटबजारमा बिक्रीका लागि राखिएका सामग्री ।

हरेक दिन बिहान गाउँगाउँमा उत्पादित वस्तु संकलन गरी बजार पुर्‍याउने छुट्टै टिम छ । उसैले काम गर्छ । किसानलाई सहकारीमा आबद्ध गराई, सामूहिक रूपमा बीउ, मल, उत्पादन तथा बिक्री गर्न सुविधा दिइएको छ । सहकारीहरू बजार र किसानबीचको पुल बनेका छन् ।

मोबाइल एप्स अनलाइन प्लेटफर्ममार्फत किसानले आफ्‌नो उत्पादन सिधै ग्राहकसम्म पुर्‍याउने व्यवस्था पनि गरेको छ । यस्तो अवधारणाले ग्रामीण अर्थतन्त्रलाई डिजिटल बनायो । कतिपय ठाउँमा अहिले पनि परम्परागत हाट बजार लाग्छ । त्यहाँ पनि किसानहरु र ग्रामीण बस्तीमा उत्पादित कृषिजन्य वस्तु, घरेल तथा हस्तकलाका सामाग्री बिक्री-वितरण हुन्छ ।

गाउँगाउँमा प्रशोधन केन्द्रको व्यवस्था गरिएको छ । उत्पादित वस्तुले थप मूल्य पाओस् भन्ने उद्देश्यका साथ प्रशोधन केन्द्र बनाइएको छ । उत्पादित वस्तु प्रशोधन भएर बजारसम्म पुग्दा मूल्य पनि बढी आउने र खेर पनि नजाने व्यवस्था राज्यले गरिदिएको छ ।

चीनले हिमाली दुर्गम गाउँहरुसम्म विकासका पूर्वाधार त पुर्‍याएको छ । तर, नागरिकको सहजताका लागि इच्छुकलाई बजारनजिकका क्षेत्रमा एकीकृत बस्ती विकास गरी सारिदिएको छ ।

गरिबीमुक्त घोषणा गरेको चीनका हरेक स्थानीय सरकारहरुमा कुनै पनि कारणबाट कुनै परिवार गरिब भयो भने राज्यका तर्फबाट सीपअनुसारको रोजगारी खोजिदिने वा सामाजिक सुरक्षा कोषमार्फत राहत दिनुपर्ने अवस्था हेरेर सहयोग गर्ने गरिएको छ ।

(दिलबहादुर केसी दोलखाबाट पत्रकारिता गर्छन् । email: [email protected])

प्रतिक्रिया दिनुहोस्