• Menu

कोलकाताको होटलमा आगलागी, बालबालिका र महिलासहित १५ जनाको मृत्यु

नेपाल प्रफिट

२०८२ वैशाख १७, बुधबार १३:४२

कोलकाताको होटलमा आगलागी, बालबालिका र महिलासहित १५ जनाको मृत्यु

एजेन्सी । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरीले बुधबार बताएको छ । आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए ।

होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले मंगलबार साँझ आगलागी भएपछि बताए ।

‘दुई बालबालिका र एक महिलासहित मृतकको संख्या १५ पुगेको छ,’ आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिँदै वर्माले भने, ‘होटल ग्यास च्याम्बरमा परिणत भयो र धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ ।’

आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटल कोलकाताको केन्द्रीय भागको एक भीडभाड व्यापारिक क्षेत्रमा अवस्थित छ । करिब एक दर्जन मानिस जलेर घाइते भएका छन् र उपचार गराइरहेका छन् ।

भारतमा अग्नि नियन्त्रण उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित उपेक्षाका कारण भवनमा आगलागी हुने घटनाहरू सामान्य छन् ।

गत वर्ष पूर्वी राज्य बिहारको पटनामा एक होटलमा आगलागी हुँदा छ जनाको मृत्यु भएको थियो । कोलकाताको भवनबाट आगोको ज्वालाहरूको भिडियो फिल्म खिचेको प्रेस ट्रस्ट अफ इन्डियाले ‘धेरै मानिस भवनको झ्याल र साँघुरो किनारबाट भाग्ने प्रयास गरिरहेको देखिएको थियो’ भनी रिपोर्ट गरेको छ ।

कोलकाताको द टेलिग्राफ अखबारले आगोबाट बच्न खोज्दा ‘छतबाट हामफालेका कम्तीमा एक जनाको मृत्यु भएको’ बताएको छ ।

वर्माले आगो निभाएको र ‘चिस्याउने कार्यहरू जारी रहेको’ बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारहरूप्रति समवेदना प्रकट गरेका छन् ।  ‘घाइतेहरू चाँडै निको होउन्,’ उनको कार्यालयले एक विज्ञप्तिमा भन्यो ।

एक करोड ५० लाखभन्दा बढी जनसंख्या भएको कोलाकाता पश्चिम बंगाल राज्यको राजधानी हो । पश्चिम बङ्गाल विपक्षी तृणमूल काङ्ग्रेस पार्टीद्वारा शासित छ ।

प्रतिक्रिया दिनुहोस्