विराटनगर । मोरङमा एक अर्ब लगानीमा सलाइन पानी उद्योग स्थापना भएको छ । मेडिकल व्यावसायी दिनेश ठाकुर र रञ्जित भगतले एलेक्जा लाइफ साइन्सेस प्रालि सञ्चालनमा ल्याएका हुन् ।
मोरङको बुढीगंगामा स्थापना भएको उद्योगले साउनदेखि ‘एलेक्जा’ ब्रान्डमा सलाइन पानी बजार पठाउने लक्ष्य लिएको विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मलनमा जानकारी दिइएको छ ।
उद्योगले पहिलो चरणमा अत्यावश्यक मानिने सलाइन पानी एलभीपी उत्पादन बजारमा पठाउने अध्यक्ष ठाकुरले बताए । त्यस्तै कम्पनीले एलभीपी सलाइन १ सय, ५ सय, १ हजार र ३ हजार एमएल गरी ४ प्रकारका बोतलमा बजारमा पठाउनेछ ।
पूर्णरूपमा सञ्चालनमा आउँदा एक अर्ब लागत अनुमान गरिएको उद्योगमा हालसम्म ७५ करोड लगानी भइसकेको छ । उद्योगबाट मासिक ९ लाख बोतल सलाइन पानी उत्पादन हुनसक्छ ।
अध्यक्ष ठाकुरले सलाइन उत्पादनका लागि विश्व स्वास्थ्य संगठन र अन्य अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्याधुनिक प्लान्ट स्थापना गरेको बताएका छन् । एलेक्जाले दोस्रो चरणमा सानो परिमाणमा स्मल भोल्युम प्यारेन्टेरल (एसभीपी) उत्पादन गर्नेछ ।
उद्योगले ‘एलेक्जा’ ब्रान्डमा आफ्ना उत्पादन विदेशमा पनि निर्यात गर्ने लक्ष्य राखेको ठाकुरले बताए । ‘एलेक्जा ब्रान्डको एलभीपी भारत, श्रीलंका, भुटान, यमनलगायत १० देशमा निर्यात गर्नेछौं,’ उनले भने । नेपालमा वार्षिक ६० अर्बको औषधि बिक्री हुने गरेकोमा ६० प्रतिशत हिस्सा विदेशी कम्पनीको उत्पादनले ओगटेको छ ।