• Menu

हनुमानढोका दरबार संरक्षण कार्यक्रमको आम्दानी १५ करोड नाघ्यो

नेपाल प्रफिट

२०८२ वैशाख १६, १४:४६

हनुमानढोका दरबार संरक्षण कार्यक्रमको आम्दानी १५ करोड नाघ्यो

काठमाडौं । अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आम्दानीमा वृद्धि भएको छ ।

गत आवको वैशाख पहिलो हप्तासम्ममा १४ करोड ६ लाख ६३ हजार पर्यटनबाट शुल्क संकलन गरेको उक्त कार्यक्रमले चालु आवको सोही अवधिमा १५ करोड २६ लाख ३५ हजार संकलन गरिसकेको कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए ।

प्रमुख प्रधानका अनुसार पर्यटन सेवा शुल्कसँगै अन्य सेवा शुल्क र अन्य प्रशासनिक सेवा शुल्क गरी आयमा वृद्धि भएको हो । कार्यालयले चालु आवका लागि १७ करोड आम्दानी गर्ने लक्ष्य राखेको र सहज रुपमा लक्ष्यमा पुग्न सकिने उनको भनाइ छ । गत आवमा भने उक्त कार्यालयले १५ करोडको मात्र लक्ष्य लिएको थियो ।

सो कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो । हाल यहाँ उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि ५०० निर्धारण गरिएको छभने अन्य मुलुकबाट आउने पर्यटकका लागि एक हजार निर्धारण गरिएको प्रधानले जानकारी दिए । नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ ।

हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक ७०० सम्म पर्यटक आउने गरेका छन् । विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको प्रधानले जानकारी दिए ।

उनका अनुसार गत आवमा सार्क राष्ट्रबाट ४७ हजार ३९९ पर्यटक अवलोकनका लागि आएका थिए भने अन्य देशबाट एक लाख ५३ हजार २६२ पर्यटक अवलोकनका लागि आएका बताइएको छ ।

त्यस्तै चालु आवको हालसम्मको अवधिमा सार्क राष्ट्रबाट ३५ हजार ७८५ र अन्य देशबाट भने एक लाख ४५ हजार ६२५ ले हनुमान ढोकाको अवलोकन गरिसकेका छन् । विगतको वर्षमा जस्तो नभई यस वर्ष वैशाखमा पनि पर्यटकको संख्यामा कुनै कमी नभएको बताइएको छ । इन्द्रजात्राको समयमा अन्य समयभन्दा अत्यन्तै धेरै पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्