काठमाडौं । सामाजिक सञ्जाल र भीडलाई हेरेर धारणा बनाउने गरेको आरोप झेल्दै आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका लागि अहिलेको सरकार ‘सर्प्राइज’ नै थियो । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आलोचना गरिरहँदा विभिन्न सार्वजनिक फोरमहरुमा कांग्रेस २०८४ सालसम्मै सत्ताको खेलमा नलाग्ने उद्घोष उनी गरिरहन्थे ।
२०८१ जेठ २६ मा पनि उनले आत्मविश्वासले भरिएर कांग्रेसको निर्णय सार्वजनिक गरेका थिए । ‘अहिले हामी प्रतिपक्षमा आएका छौँ । हाम्रो चाहनाले होइन । परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ । यो सन्दर्भमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्छ, केही दिनमा । बैठकमा छलफल गरेर औपचारिक निर्णय गर्छ । त्यसअघि हामीले नेतृत्व तहमा बसेर प्रशस्त छलफल गरेका छौँ । त्यो छलफलबाट केही समझदारी कायम गरेका छौँ । अब २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्छ । हामी ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्काउँदैनौँ ।’
तर, उनले ‘निर्णय’ सुनाएको केही दिन नबित्दै केन्द्रीय सदस्य आरजु राणा देउवाको मध्यस्थतामा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालकोटमा रातारात नयाँ सरकारका लागि सहमति भयो । महामन्त्री थापाले एमाले र कांग्रेसबीचको सहमति मिडियाबाट थापा पाए ।
सहमति भएको १५ दिनपछि असार ३० गते कांग्रेसको सहयोगमा ओलीको नेतृत्वको सरकार गठन भयो । सुरुवाती समयमा सरकारका गतिविधिबारे खासै नबोलेका थापा पछिल्ला दिनहरुमा निकै आक्रामक देखिए । कांग्रेस र एमाले गठबन्धनको सरकारका विरुद्धमा ‘ठूला मिडिया’ले हत्तपत्त समाचार नलेखे पनि केही मिडिया र सामाजिक सञ्जाल पढ्दै धारणा सार्वजनिक गरिरहे ।
ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री दिपक खड्कासँगको टसलका कारण कुलमान पदमुक्त भइरहँदासम्म कुनै प्रतिक्रिया नजनाएका महामन्त्री थापाले कुलमानका पक्षमा सडकमा नाराजुलुस चर्किएपछि विरोध गर्न थाले । कांग्रेसकै मन्त्रीबाट महिनौँदेखि कुलमान हटाउन लागिपरेको कुरा थाहा नपाएजस्तो गर्दै वक्तव्य दिन उनी पछि परेनन् ।
चैत ११ गते कुलमान बर्खास्तीमा परे । नाराजुलुस निस्कियो । गगनको विरोधको स्वर पनि जुलुसमा मिसियो । चैत १५ गते राजावादीहरुको ध्वंसात्मक विरोध प्रदर्शनले कुलमानको पक्षमा भइरहेको प्रदर्शन स्वत: किनारा लाग्यो । कुलमानका पक्ष या विपक्षमा त्यसयता गगन पनि बोलेका छैनन् ।
चैत १५ गते सरकारबाट राजावादीको प्रदर्शनमा चौतर्फी बल प्रयोग भएको दृश्यहरु सामाजिक सञ्जालमा छरपष्ट भएपछि गगनले भने- सरकारले ठिक गरेन ।
राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा उनको अभिव्यक्ति ओली सरकारमाथिको गम्भीर आक्षेप मात्र थिएन, कुशासन र भ्रष्ट आचरणबारे जनतालाई गराइएको जानकारी पनि थियो । सामाजिक सञ्जाल र मिडियाबाट तारन्तार विचौलियाका कारण गभर्नर नियुक्ति प्रभावित भएको बाहिरिएपछि गगनले ‘विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ’ भनेपछि राजनीतिक महोल एकाएक तात्यो ।
गगनको अभिव्यक्ति एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका लागि नैतिक प्रश्न बनेर मात्र उभिएन, गहिरो बनेर गडियो पनि । सत्ता समीकरणमा प्रभाव पर्नसक्नेतर्फ सचेत हुँदै उनले बेला-बेला गगनविरुद्ध आगो ओकल्ने गरेका छन् ।
मदन मण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनमा आइतबार ओलीले गगनको नाम नलिईकन आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ भनेर लाञ्छित गरिएको र त्यो आरोप प्रमाणित गर्न चुनौती दिए ।
चैत २० देखि काठमाडौंका सडक ढाकिरहेका शिक्षकहरुको विरोध प्रदर्शनमा सरकारले आइतबार बल प्रयोग गर्यो । गगनले सरकारले शिक्षक आन्दोलनमा दमन नगर्न सरकारलाई सचेत गराए ।
उनी लगातारजसो सरकारका गतिविधिको आलोचना गरिरहेका छन् । वैशाख ११ गते उनले सरकारप्रति असन्तुष्टि मात्र पोखेनन्, यस्तै शैली जारी रहे सरकारबाट बाहिरिने चेतावनी नै दिए । लोकतन्त्र दिवसको अवसरमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक कार्यक्रममा महामन्त्री थापाले जनताको कुरा गर्दा वास्ता नगरे सरकारबाट बाहिरिने बताए ।
‘हाम्रा केही आधारभूत कुराहरू छन्, त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिन्छौँ । यो सरकारबाट मात्रै होइन, हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौं,’ उनले भनेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमण, भारतीय नेता र गुप्तचरसँगको भेटघाट, ओली सरकारसँग भारतको बढ्दो असन्तुष्टि, देउवासँग प्रचण्डको हिमचिम र सामाजिक सञ्जालमा सरकारविरुद्धको चरम आक्रोशका बीच उनको अभिव्यक्ति आएको थियो ।
तर, आइतबार राति एमाले नेता एवं अर्थमन्त्री विष्णु पौडेल तथा कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकलाई साक्षी राखेर ओली र देउवाले सत्ता सहकार्यलाई निरन्तरता दिने विषयमा भद्र सहमति गरेको समाचार सुनेपछि गगनले भने, ‘सरकारले परिणाम दिने गरी काम गरेको छैन तर पनि यो समीकरणलाई निरन्तरता दिइन्छ ।’
कांग्रेसको उद्योग तथा व्यापार विभागले काठमाडौंमा सोमबार गरेको कार्यक्रममा थापाले सरकार भनेपछि बस्नका लागि मात्र भएर नहुने, सरकारले काम गर्नुपर्ने र परिणाम दिनुपर्ने बताए । ‘रिजल्ट चाहिन्छ । हामी त रिजल्टमा काम गर्न चाहन्छौं,’ उनले भने, ‘अहिले एमालेसहित दलहरूसँग कांग्रेस पनि सरकारमा छ, यो समीकरणलाई निरन्तरता दिइन्छ ।’
उनले अलि नरम भाषामा सरकारको आलोचना गरे । ‘हामी अहिले नेकपा (एमाले) सँग सरकारमा छौं, कांग्रेसको तर्फबाट हाम्रो प्रतिबद्धता छ, हामी तल-माथि कुनै पोलिटिकल एड्भेन्चरमा लाग्दैनौं, यसलाई सहज ढंगबाट अघि बढाउँछौं तर यो समयको हामी सदुपयोग गर्न चाहन्छौं,’ उनले भने ।
महामन्त्री गगनले ‘सत्ता समीकरणले निरन्तरता पाउँछ’ भनिरहँदा थाइल्यान्डमा धेरै कुरा पाकिसकेको र पस्किन मात्र बाँकी रहेको राजनीतिक विश्लेषकहरुको अड्कल छ । अनौपचारिक कुराकानीका क्रममा कांग्रेसका एक नेताले भने, ‘गगनजीले सामाजिक सञ्जालबाट पछि थाहा पाउनुहुन्छ, सरकार डिलमा पुगिसकेको छ ।’
ती नेताले भनेजस्तै सरकार फतक्क भइसकेको र झर्न मात्र बाँकी हो भने गगनले फेरि मिडियाबाट थाहा पाउनेछन् र भन्नेछन्, ‘ओली सरकारले रिजल्ट दिन सकेन, त्यसकारण समीकरण फेर्नुपर्ने ‘निर्णय’मा पुग्यौँ ।’
Copyright © Nepal Profit - 2025 / Developed By Webtech Nepal