• Menu

आरोहीका ‘माउन्टेन घर’ले सानो संसारै जस्तो बन्यो सगरमाथा आधार शिविर

नेपाल प्रफिट

२०८२ वैशाख १५, १०:३७

आरोहीका ‘माउन्टेन घर’ले सानो संसारै जस्तो बन्यो सगरमाथा आधार शिविर

काठमाडौं । चर्चित पर्वतारोही कामिरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरे । रंगीचंगी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट)हरु उक्त भिडियोमा देखिन्छ ।

शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन् । आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता छाएको छ ।

‘सगरमाथा आधार शिविर सानो संसारै जस्तो छ, विश्वभरिका मानिस जम्मा भएका छन्,’ सगरमाथा आधार शिविरमा रहेका पर्वतारोही लाक्पा शेर्पाले भनिन्, ‘आधार शिविर विश्वको कुनै एउटा गाउँजस्तो भएको छ । उल्लासमय वातावरण छ ।’

३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका कामिरिता आफ्नै कीर्तिमानी तोडेर ३१औँ आरोहणका लागि सगरमाथा पुगेका छन् । आधारशिविर रंगीचंगी पाल र आश्रयस्थलले बेहुलीझै सिँगारिएको छ ।

समुद्री सतहबाट पाँच हजार ३६४ मिटर उचाइमा रहेको आधार शिविर क्षेत्रमा ‘लाउन्ड्री’, ‘क्याफे’, ‘बार’ आदिको व्यवस्था गरिएको छ । पाँच सयभन्दा बढी पाल टाँगिएका छन् । आरोही, सहयोगी, कुक, किचन हेल्पर गरी एक हजार तीन सयभन्दा बढी आधार शिविरमा छन् ।

एटके एक्सपिडिसन कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले विभिन्न कम्पनीले आरोहीको खाना तथा बास व्यवस्थापनका लागि बनाइएका रंगीविरंगी पालका सजावटले आधार शिविर रमाइलो देखिएको बताइन् ।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङमा शेर्पाले पनि सगरमाथा क्षेत्रमा आरोहीको ओइरोले बेग्लै माहोल बनेको बताए । ‘सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट जम्मा भएका भीडले विश्वको ध्यान खिचिरहेको छ,’ उनले भने ।

केही दिनयता सामाजिक सञ्जालमा चाँदीझैँ टल्किएका सगरमाथासहितका हिमालका तस्बिर र सुन्दर गाउँको झझल्को दिने सगरमाथा आधार शिविरले संसारको ध्यान खिचेको छ । यसले नेपालको साहसिक पर्यटनलाई विश्वबजारमा परिचय दिलाउन मद्दत पुगेको छ ।

लुक्लादेखि सगरमाथा आधार शिविरसम्म पर्वतारोही, पदयात्री र सहयोगीहरुको लामो लस्कर देखिन्छ । सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणका लागि विभिन्न मुलुकबाट आएका आरोहीको जमघटले आधार शिविरको वातावरण उल्लासमय बनेको बताउँछन् ।

‘वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि आइरहेका आरोहीले नयाँ माहोल बनेको छ, यसले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्छ,’ उनले भने । सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) जिम्मेवारी एटके कम्पनीले पाएको छ । करिब ९० प्रतिशत आरोही सगरमाथा आधार शिविर पुगेको प्रबन्ध निर्देशक शेर्पाले जानकारी दिए ।

तेस्रो शिविरसम्म बाटो खुल्यो

यो सिजनमा सगरमाथामा आरोहणका लागि आधार शिविरदेखि तेस्रो शिविरसम्म बाटो खुलिसकेको छ । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन् । अनुकूल मौसमको सदुपयोग गर्दै शेर्पा टोलीले तेस्रो शिविरभन्दा माथि बाटो बनाइरहेका छन् ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो यसअघि नै बनाइसकेको छ । तेस्रो शिविरसम्म बाटो बनेको र अबको साता, १० दिनपछि सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको सुरुआत हुने पर्यटन विभागको अनुमान छ । आरोहण अनुमति लिएका आरोही झन्डै एक महिनादेखि सगरमाथा क्षेत्रमा आरोहण अभ्यासमा छन् ।

सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोही नेपाल आइरहेका छन् । अधिकांश आरोहण अनुमति लिएर सगरमाथा क्षेत्र पुगिसकेका छन् । कतिपय आरोही अनुमतिको प्रक्रियामा छन् । वसन्त ऋतु सगरमाथा आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । पर्यटन विभागले आधार शिविरमा सम्पर्क कार्यालय खोलेर आरोहणको व्यवस्थापन गरिरहेको छ ।

सगरमाथा चढ्न चार सयभन्दा बढी आरोही

पर्यटन विभागका अनुसार आइतबारसम्म सगरमाथा आरोहणका लागि ५३ देशका ४०२ आरोहीले अनुमति लिएका छन् । विभागका निर्देशक लीलाधर अवस्थीले ४१ आरोही समूहले अनुमति लिएको जानकारी दिए । त्यसमध्ये ७४ महिला आरोही छन् ।

गत वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित ४१४ जनाले अनुमति लिएका थिए । यो वर्ष विभिन्न हिमाल आरोहणबापत ६८ करोड ४० लाख रोयल्टी संकलन भएको छ । आरोही आउने क्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ ।

सगरमाथा आरोहणलाई सुरक्षित, व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील भए पनि आरोहीले ज्यान नै दाउ लगाएर आरोहण गरिरहेका छन् ।

यो सिजनमा सोलुखुम्बुका टासी ग्याल्जेन शेर्पा २० दिनमा चारपटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यसहित आरोहणमा निस्किएका छन् । सगरमाथा आरोहणको इतिहासमा हालसम्म आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखर टेकिसकेका छन् भने नयाँ-नयाँ कीर्तिमान थपिने क्रम जारी छ ।

(रासस)

प्रतिक्रिया दिनुहोस्