सर्लाही । जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म ४१ करोड बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१-८२ को चैतसम्म कुल ४१ करोड ७४ लाख ३३ हजार ४३३ राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए । यस आवको नौ महिनामा चार महिनामात्र भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गरेको छ । पाँच महिना लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए ।
भन्सारबाट हाल संकलन भएको राजस्व लक्ष्यको ९५.०४ प्रतिशतमात्र हो । आवको सुरु महिना साउनमा लक्ष्यको १११.०८ प्रतिशत अर्थात् चार करोड ९४ लाख ४१ हजार ५५५ संकलन भएको थियो । दोस्रो महिना भदौमा लक्ष्यको अत्यधिक कम ४३।७१ प्रतिशत अर्थात् दुई करोड १३ लाख ७५ हजार ६३८ मात्र राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।
यस्तै असोजमा लक्ष्यको ६७।२२ प्रतिशत अर्थात् दुई करोड ८० लाख ५३ हजार ८४५ राजस्व संकलन भएको छभने कात्तिकमा ९०.९३ प्रतिशत चार करोड १८ लाख १७ हजार ६३१, मंसिरमा १२४.३१ प्रतिशत ६ करोड ७२ लाख ४९ हजार २९४, पुसमा अहिलेसम्मकै धेरै १२७.३७ प्रतिशत अर्थात् ६ करोड ७९ लाख नौ हजार ६०१ संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्यांक अनुसार माघमा लक्ष्यको ११७.७५ प्रतिशत अर्थात् पाँच करोड ९३ लाख ४६ हजार ८२८, फागुनमा ९२.५८ प्रतिशत अर्थात् चार करोड ९३ लाख २९ हजार र चैतमा लक्ष्यको ७१.७८ प्रतिशत अर्थात् तीन करोड ६५ लाख ७१ हजार ५१० राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिए ।
यस वर्ष तरकारी आयात गत वर्षको भन्दा कम भएकाले राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको उनले बताए । यस भन्सार कार्यालयबाट प्लाइ निर्यात हुने गरेको छभने प्लाइ उद्योगका लागि आवश्यक सामग्री, थोरै मात्रामा धान, तरकारीलगायत सामान आयात हुँदै आएको छ ।